‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल’
राष्ट्रकवि माधवप्रसाद घिमिरेले के देखेर यो कविताका पंक्ति फु-याए, उनै जानून् तर मनाङको भ्राताङस्थित स्याउबारी देख्नेलाई भने लाग्छ– पक्कै हाम्रा कविलाई यस्तै स्याउबारीबाट प्रभावित भएर यो कविता फुरेको हुन सक्छ। यो अनुमान लगाउनेलाई गलत भनि हाल्न पनि मिल्दैन किनकि न यहाँ बसेर खेती गर्ने सुविधाजनक वातावरण छ, न त बजार अनि ढुवानीको सहज व्यवस्था नै। तर पनि कवि घिमिरेले भनेजस्तै यो ठाउँमा साँच्चै सिर्जनाशक्ति ढुंगाको काप फोरेर छताछुल्ल भएको छ।
हो, मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ (साविकको पिसाङ गाउँ विकास समिति) मा पर्ने भ्राताङ चट्टानै चट्टानको खानी हो भन्दा फरक पर्दैन। त्यो पनि सानोतिनो हो र? गगनचुम्बी। लाग्छ, यस्तो ठाउँमा पनि केही फल्ला र ? मानिस बस्नै समेत असहज हुने यो ठाउँमा उत्पादनको आश गर्नु पनि करिब करिब बेकार हुन्छ। तर समराज गुरुङ र उनकी जीवनसंगी मायाले भने यही आशलाई सार्थकतामा परिणत गरेका छन्। अर्थात् उनै कविको कवितालाई वास्तविकतामा परिणत गरिदिएका छन्।
हिमालपारिको जिल्लाका रूपमा परिचित मनाङको सदरमुकाम चामेबाट करिब डेढ दुई घण्टा मास्तिर लागेपछि आइपुग्छ भ्राताङ । जुन समुन्द्र सतहबाट करिब २८५० मिटर उचाइमा छ। त्यही ठाउँमा आँखाले भ्याएसम्म लटरम्मै फलेका देखिने स्याउले कसको मन मोहित नपार्ला र! अनि यो ठाउँ पुग्ने जोकोहीले यो स्याउबारीप्रति चासो राख्नु र मिले खान पनि खोज्नु स्वाभाविक बनेको छ।
मनाङको भ्राताङमा समराज र माया गुरुङले ७३५ रोपनीमा स्याउ खेती गरेका छन्। फार्म हाउस चलाएका छन्। मातृभूमीमा श्रम चुहाउँदा खुसी छन् उनीहरु।
भ्राताङ यस्तो ठाउँ हो जसले सदरमुकाम चामे र चामेमाथि पर्ने बाँकी मनाङलाई जोड्ने काम गरेको छ। त्यतिमात्र हैन, विश्वकै सबैभन्दा बढी उचाइमा अवस्थित तिलिचो ताल जाने मार्ग पनि हो यो। त्यसैले त सन्तुष्टिका लागि मनाङ र तिचिलो लगायत प्राकृतिक सुन्दरताको खोजीमा भौतारिनेहरू एकपटक जसरी पनि ठोक्किन पुग्छन् भ्राताङ। अनि यहाँ पुगेपछि स्याउले उनीहरूको ध्यान नखिच्ने कुरै भएन। अर्थात भ्राताङ र स्याउ पर्यावाची शब्द बनेका छन् यतिखेर पर्यटकका लागि।
हामी पनि अपवाद थिएनौँ। जिज्ञासा लागिहाल्यो। भित्र प्रवेश ग-यौँ र सोधखोजमा रमायौँ केहीबेर। समराज र उनकी श्रीमतीले हामीले जान्न चाहेका कुरा मात्र बताएनन्, राम्रै आतिथ्यता पनि प्रदान गरे। समराजले स्याउ खेती चार वर्षअघि सुरु गरेका रहेछन्। उनका अनुसार एग्रो मनाङ नामक यो स्याउखेती नेपालकै सबैभन्दा बढी क्षेत्रफलको हो रे। जहाँ ६७ हजार भन्दा बढी स्याउका बोट छन्। अर्थात यति ठूलो स्याउ जंगल नेपालमा अन्त कतै भेट्न सकिन्न।
७३५ रोपनी जग्गामा लगाइएको स्याउले उत्पादन दिन थालिसकेको छ। चाैंथो वर्षमै अर्थात यो वर्ष ‘ब्रेक इभन’मा जाने अनुमान समराज दम्पतीको छ। खासमा यो समराजहरूकै जग्गा पनि हैन। २७ वर्षका लागि भाडामा लिएर स्याउ लगाएका हुन्। यसबाट पनि थाहा हुन्छ कि यो दम्पती सिर्जनामा विश्वास राख्छ, मेहनत नै यिनीहरूको मुख्य कर्म हो। जसको साक्षी उनीहरूका वरिपरि लटरम्मै फलेका स्याउ बनेका छन्।
सिंगो जिल्लाकै जनसंख्या मात्र ६५३८ छ। यस्तो अवस्थामा यति धेरै स्याउको उपभोक्ताको हो त ? कहाँ जान्छ? कसले खान्छ? प्रश्न खस्न नपाउँदै समराज भन्छन्– पहिलो कुरा त यो पर्यटन मार्ग भएकाले जाने/आउनेले उपयोग तथा कोसेली दुवैका लागि लग्छन्। दोस्रो, काठमाडौँ, पोखरा, चितवन, विराटनगर र धरानजस्ता बजारमा निकै खपत हुन्छ। त्यतिमात्र हैन, अब उनले आफ्नो उत्पादन विदेश पठाउने योजना बुनिरहेका छन्।
तीन थरीका स्याउ फलाउँछन् समराज दम्पती यो बगैँचामा– गाला, गोल्डेन डेलिसियस रफुजी। जुनबारीमै किन्दा पनि १५० रुपियाँ पर्छ प्रति किलोग्रामको। बगैँचामै रहेको, लमजुङको बेशीसहर अनि काठमाडौँको स्वयम्भुमा रहेका एग्रो मनाङ कोल्ड स्टोरले यी स्याउ ताजा र स्वादिलो बनाइरहन मद्दत गर्दारहेछन्। चिसो र उच्च ठाउँमा फल्ने खाद्यान्न, फलफूल आदिले लामो समय खनिज पदार्थ लिने भएकाले ती स्वादिष्ट र पोषक हुने विज्ञहरूको दाबी छ। यहीकारण पनि मनाङको स्याउ अन्य खाद्यान्न र फलफूलजस्तै सबैको रोजाइमा पर्ने गरेको छ। ठूलो परिमाणमा उत्पादन भए पनि बजारको समस्या ठ्याम्मै नहुनुको प्रमुख कारण यही हो समराजको बुझाइमा।
सिर्जनशील मान्छे कुनै एउटा प्रगतिमा मात्र किन चूप लागेर बस्थ्यो र ? समराज दम्पतीले यहीँ फार्म हाउस पनि खोलेका छन्। एकातिर बटुवाको मनै लोभ्याउने स्याउ बगैँचा, अर्कोतिर पर्यटक मार्ग। अनि चारैतिर जता हेरे पनि प्राकृतिक सुन्दरता र रहस्यहरूको खानी त छँदैछ। समराजलाई लाग्यो– यी सबको भरपुर फाइदा उठाउँदै फार्म हाउस किन नखोल्ने? नभन्दै उनीहरूले फार्महाउस सञ्चालनमा ल्याए। आठवटा कोठायुक्त यो फार्म हाउसमा डबल तथा ट्रिपल कोठा छन्। चिसो ठाउँ भए पनि चौबीसै घण्टा तातोपानीको व्यवस्था समेत मिलाएका छन् उनीहरूले। एउटा ठूलो डोमेट्री पनि छ।
सिजनमा एकैदिन तीन सयदेखि चार सय जनासम्म पर्यटक ओहोरदोहोर हुने यो मार्गमा यस्तो फार्म हाउस कति प्याक होला त? कल्पनै काफी छ। उनीहरू एकस्वरमा भन्छन्– ‘हामीले यहाँ बस्न चाहने जतिलाई दिनै सक्दैनौँ।’ धन्न, अझ उनीहरूले यसको प्रचारप्रसार गरेका छैनन्, नत्र त महिनौँ अघिदेखि बुक हुनेमा शंकै छैन। कुनै लेखक वा सर्जक केही समयका लागि आफ्नो सिर्जना पूर्ण गर्ने उद्देश्यले आएमा उनीहरूका लागि प्याकेजमा सेवा उपलब्ध गराउनेबारे पनि सोचिरहेको मायादम्पतीको भनाइ छ। किनकि एक रात बसेकै ७–८ हजार रुपियाँ लाग्ने यो फार्म हाउस सामान्य मानिसको भने पहुँच बाहिर देखिन्छ अहिलेलाई।
सरकारसँग खासै गुनासो छैन यो मेहनती दम्पतीलाई्र। पर्यटकीय क्षेत्र भएकाले मनाङलाई ‘फ्रिवाइफाइ जोन’ बनाइदिए पर्यटकहरूलाई सहजहुन्थ्यो कि भन्छन् एकै स्वरमा। प्रचारका साथै एकापसमा सञ्चारको माध्यम पनि बन्न सक्थ्यो भन्ने उनीहरू त्यसैले यहाँ नेटवर्कको पहुँच बढाउन चाहिँ जरुरी नै ठान्छन्।
समराजको पारिवारिक स्थिति यो स्याउ खेती र फार्म हाउस सुरु गर्नुभन्दा अगाडि पनि दरिलै हो। उनीहरू काठमाडौँमै पनि घरजम गर्न सक्नै हैसियतका हुन्। सरकारले नै क वर्गमा पारेर दुर्गम तोकिदिएको मनाङमा बस्नै पर्ने बाध्यता उनीहरूलाई एकरत्ति पनि छैन। तर पनि यो दुःख केका लागि त? उत्तर उनीहरूकै शब्दमा–आमा पछिको सानिमा अर्थात अर्की आमा आफ्नो देश (जन्मस्थान)हो। जहाँ बस्न पाउँदा हाम्रो मन खुसी छ। जुन खुसी न जन्मस्थान छाड्दा पाउन सकिन्छ न त संसारको अरु कुनै अत्याधुनिक विकासयुक्त ठाउँमा बस्दा।
प्रकाशित: २ असार २०७५ ०२:०७ शनिबार