८ वैशाख २०८१ शनिबार
समाज

जनप्रतिनिधि नै चोर्छन् बिजुली

काठमाडौ - बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।
सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत् प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको हो । लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार हिरासतमुक्त भएका छन् ।

यसैगरी राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत् प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।प्राधिकरणले चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको तथ्यांक सार्वजनिक गरेको छ । बिजुली चोरीका कारण मुलुकले राजस्व गुमाउँदै आएको प्राधिकरणको भनाइ छ।

दुई वडाध्यक्ष पक्राउ, जरिवाना तिरेर छुटे

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी बनाउने निर्णय गरेको थियो । यही निर्णयका आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले संयुक्तरुपमा चुहावट नियन्त्रण कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन्।

विद्युत् चोरी नियन्त्रण ऐन २०५८ र नियमावली २०५९ मा विद्युत् चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडका आधारमा हिसाब गरी एक वर्षको अनुमानित जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यसअघि बर्दियाको मधुवनी नगरपालिका–२ का वडाध्यक्ष पहाडी थारू पनि विद्युत् चोरीमा पक्राउ परी जरिवाना तिरेर मुक्त भएका थिए ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हरेक क्षेत्रीय कार्यालयले बढी विद्युत् चुहावट हुने जिल्लामा नियन्त्रण अभियान नै चलाउन लागेको जानकारी दिए । ‘विद्युत् चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माइकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्नेलगायतका काम अभियानकै रुपमा मुलुकभर सञ्चालन गर्दैछौं’, उनले भने, ‘ठूला ग्राहक (थ्री फेज) को पनि मिटर चेक गरिनेछ।’

प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइन सुदृढीकरणलगायतका काम जारी राखेको छ ।

प्रकाशित: २ असार २०७५ ००:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App