७ वैशाख २०८१ शुक्रबार
प्रविधि

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं–युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाकक्षमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरे।

उद्घाटनपछि मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मुलुकमा आर्थिक समृद्घि ल्याउन विज्ञान र प्रविधिको विकास अपरिहार्य रहेको बताए। ‘अब युवाहरूले भ्रमको पछाडि लाग्ने होइन, विज्ञानको निष्कर्षमा आधारित कामलाई जोड दिनुपर्छ,’ उनले भने, ‘विज्ञान–प्रविधिको विकासका लागि सरकारले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिन्छ।’ हाम्रो देशमा सदियौंदेखि प्रचलनमा रहेका परम्परागत तथा मौलिक प्रविधिको प्रधानमन्त्रीले प्रशंसा गरे । ‘जति बेला संसार अन्धकार थियो, त्यसबेला हाम्रा पुर्खाले विज्ञान, कला, प्रविधिमा नयाँ ज्ञान खोजेका थिए। यस्तो गौरवमय इतिहास हुँदाहुँदै  अहिले देशमा गरिब तथा पछौटेपना हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने । परम्परागत तथा मौलिक प्रविधिलाई आधुनिक विज्ञानसँग समन्वय गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

सम्मेलनका विशिष्ट वक्ता एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतले विज्ञानको समुचित उपयोग गरेमा देश विकासको बाटोमा अगाडि बढ्न सक्ने धारणा व्यक्त गरे । ‘प्राकृतिक स्रोत–साधनको हिसाबले नेपाल सम्पन्न छ, प्रविधिको सही प्रयोग गरी यसको उपयोग गरेमा यो देश ‘पूर्वको स्वीट्जरल्यान्ड बन्नसक्छ,’ डा. रुइतले भने । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललगायतले बोलेका थिए।

 सम्मेलनमा करिब ४ सय युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सरोकारवाला निकाय, संघ/संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ। विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था उजागर गरी आगामी दश वर्षका लागि कार्यनीति तय गर्न सम्मेलन उपयोगी हुने सम्मेलन आयोजक समितिका संयोजक खिम पन्थीले बताए । ‘नेपाली युवाले गरेका आविष्कार, अनुसन्धान, सोधलाई नागरिक, वैज्ञानिक समुदाय र नीति निर्मातामाझ पुर्याउन यसले अवश्य भूमिका खेल्नेछ,’ पन्थीले भने । असार ३ गतेसम्म चल्ने   सम्मेलनमा  प्रकृति विज्ञान, चिकित्सा र आयुर्वेद, . इन्जिनियरिङ र पदार्थ विज्ञान, जैविक विज्ञान र विज्ञान, परम्परागत प्रविधि र प्रयोगहरु,  खगोल तथा अन्तरिक्ष विज्ञानलगायत १२ विधागत विषयमा विज्ञहरुले प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल हुनेछ।

प्रकाशित: १ असार २०७५ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App