coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रसिया विश्वकप २०१८ : उरुग्वेसँग इजिप्ट भिड्दै

रूस – २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेल हुँदैछन्। रूसमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको आज हुने पहिलो खेलमा उरूग्वे र इजिप्ट भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा इकाटेरिनबर्ग एरिना रंगशालामा सुरु हुनेछ। 

आजको यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्लेषण गरिएको छ। १९३० मा आफाैंले प्रतियोगिता आयोजना गरेर विश्वकपको इतिहास सुरु गर्ने क्रममा उरुग्वे घरेलु मैदानमा च्याम्पियन भएको थियो। त्यसपछि १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पनि उरुग्वेले उपाधि जितेको थियो।

डिएगो गोडिन, लुइस स्वारेज र एडिन्सन काभानी उरुग्वेका लागि हेर्नलायक खेलाडी हुन्। विश्वकप अघिको अभ्यास खेलमा उज्वेकिस्तानलाई ३–० ले हराएको उरुग्वेले उच्च मनोवलका साथ मैदान उत्रदैछ।  विश्वकप खेल्न रूस पुगेको दक्षिण अमेरिकी टोली उरुग्वेको लक्ष्य पुरानो छवि ताजा पार्नुमा केन्द्रित हुनेछ। युरोपबाटै खेल्ने स्टार खेलाडीको बाहुल्य रहेको टोली विश्वकपमा यात्रा जतिसक्दो लामो बनाउने योजनाका साथ रूसमा छ। तर २०११ यता अन्तर्राष्ट्रिय फुटबलमा दुई पटकको विश्वविजेता उरुग्वेको इतिहास सम्झनलायक छैन।

२०११ मा कोपा अमेरिकाको उपाधि जितेको टोली ब्राजिलमा २०१४ मा सम्पन्न विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको थियो। कोपा अमेरिकामा पनि त्यसयता क्वार्टरफाइनलभन्दा माथिको यात्रा गर्न सकेको छैन। सन् २०१० मा सेमिफाइनलसम्म पुगेको उरुग्वे ब्राजिल संस्करणमा क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

२० संस्करण सम्पन्न भइसक्दा १२ पटक विश्वकपमा सहभागिता जनाएको उरुग्वे १९५४, १९७० र २०१० मा गरी तीन पटक सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। यसै गरी १९६६ मा क्वार्टरफाइनल पुगेको टोली १९८६, १९९० र २०१४ मा अन्तिम १६ पुगेको थियो भने १९६२, १९७४ र २००२ मा गरी तीन पटक समूहचरणबाटै घर फर्किएको थियो।

विश्व फुटबललाई नियमित रूपमा सनसनीपूर्ण स्टार खेलाडीहरू दिइरहने उरुग्वेलाई सबैखाले प्रतियोगितामा बलियो टोलीका रूपमा हेरिन्छ। रूस विश्वकपको समूह ‘ए’ मा परेकाले टोलीको नकआउट चरणसम्मको यात्रा धेरै कठिन देखिन्न । अझ पेरिस सेन्ट जर्मनमा तहल्का मच्चाइरहेका इडिन्सन काभानी र बार्सिलोनाका सुपरस्टार लुइस स्वारेजको फर्मसहितको उपस्थितिका कारण आयोजक रूससहित इजिप्ट र साउदी अरेबिया रहेको समूह ‘ए’बाट सहजै अन्तिम १६ पुग्ने टोलीले अपेक्षा गरेको छ।

उरुग्वे राष्ट्रिय टोलीका प्रिय प्रशिक्षक ओस्कार वासिङ्टन टाबारेज आक्रामक फुटबल खेल्न रुचाउँछन्। खेलाडीको स्वभाव र क्षमताअनुसार रणनीति चयन गर्न माहिर मानिने टाबारेजको आक्रामक फुटबल खेल्ने योजनामा काभानी र स्वारेज मुख्य हतियारका रूपमा प्रस्तुत हुनेछन्। इटाली १९९०, दक्षिण अफ्रिका २०१० र ब्राजिल २०१४ का साथै २०११ मा कोपा अमेरिकाको उपाधि जित्दा उरुग्वेको टोलीलाई नेतृत्व प्रदान गरेका टाबारेजले स्वारेजबाट अझै बढी आशा गरेको बताएका छन्।

बार्सिलोनाबाट स्पेनिस ला लिगा, युरोपियन च्याम्पियन्स लिग तथा क्लब विश्वकपलगायतका थुप्रै प्रतियोगिता जितिसकेका स्वारेज उरुग्वेका लागि इतिहासमै सर्वाधिक ५० अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनले विश्वकप २०१० र २०१४ मा पहिलो रोजाइबाट खेलेका थिए।

यता उरुग्वेसँग भिड्न लागेको इजिप्ट उरुग्वेको तुलनामा कमजोर देखिन्छ। इजिप्टले सन् १९९० पछि पहिलोपटक विश्व फुटबलको ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। आजको खेलमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह खेल्ने सम्भावना प्रवल देखिएको छ। ३ हप्ताअघि च्याम्पियन्स लिगको फाइनलका घाइते भएका सालाह आजको खेलमा फर्किएको खण्डमा इजिप्टलाई रोक्न उरुग्वेलाई हम्मे हम्मे पर्नेछ। 

तर सलाहले खेल्ने नखेल्ने अझै पूरै निक्र्योल भने भइसकेको छैन। इजिप्टलाई २८ वर्षपछि विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सालाह यो सिजन निकै फर्ममा रहेका छन्। उनले या ेसिजनको इङलिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए। इजिप्टका गोल मेसिन रहेका सलाहले आफूसँगै अरु खेलाडी पनि क्षमतावान रहेको बताएका छन्। सालाहाले बुधबार अरु खेलाडीसँगै अभ्यास गरेका थिए। 

सलाहलाई राष्ट्रिय टिममा अब्बल प्रमाणित गर्ने मौका छ। अफ्रिकी छनोट चरणमा इजिप्टले गरेको आठमध्ये पाँच गोल गरेका २५ वर्षीय सलाहले ५६ खेलमा इजिप्टका लागि ३६ गोल गरिसकेका छन्। यो खेलको विजेता समूहकै विजेता बन्ने सम्भावना पनि प्रवल छ। सन् १९३४ र १९९० मा विश्वकप खेलेको इजिप्टले भने विश्वकपको एक खेलमा पनि जित हात पार्न सकेको छैन।

उरुग्वेको टिम
गोलकिपरः
फर्नान्डो मुस्लेरा (गालातासारे), मार्टिन सिल्भा (भास्को डी गामा), मार्टिन क्याम्पना (इन्डिपेन्डियन्ट)

रक्षकः डिएगो गोडिन (एट्लेटिको मड्रिड), गुइलेर्मो भरेला (सिए पेनारोल), जोसे मारिया जिमिनेज (एट्लेटिको मड्रिड), मार्टिन कासेरेज (लाजियो), म्याक्सिमिलियानो पेरेरा (पोर्टो), सेवास्टिन क्वाटेज (स्पोर्टिङ सिपी), ग्यास्टन सिल्भा (इन्डिपेन्डियन्ट)

मिडफिल्डरः नहितान नान्डेज (बोका जुनियर्स), माटियाज भेसिनो (इन्टरनाजियोनल), लुकास टोरेरा (साम्दोरिया), रोड्रिगो बेन्टानकुर (युभेन्टस), जर्जियन डी एरेसकाइटा (क्रुजेइरो), कार्लोस सान्चेज (मोन्टेरेरे), डिएगो लक्साल्ट (जिनोवा), जोनाथन उरेटाभिस्काया (मोन्टेरेरे), क्रिष्टियन रोड्रिगेज (पेनारोल) 

फरवार्डः लुइस स्वारेज (बार्सिलोना), एडिन्सन काभानी (काभानी), म्याक्सिमिलियानो गोमेज (सेल्टा भिगो), क्रिष्टियन स्टुआनी (जिरोना)

इजिप्टको टोली
गोलकिपरः
इसम एल हदारी (अल तावुन), मोहम्मद एल–शेनावे (अल अहले), शेफ इक्रमे (अल अहले)

रक्षकः अहमद फथी (अल अहले), साद समिर (अल अहले), यमन अशरफ (अल अहले), मोहम्मद हाम्दे (जामालेक), मोहम्मद अब्देल–शफी (अल फतेह), अहमद हेगाजी (वेस्ट ब्रोम), अली गाबर (वेस्ट ब्रोम), अहमद इलमोहामेदी (एन्टन भिल्ला), ओमार गाबर (लस एन्जल्स)

मिडफिल्डरः मोहम्मद इलने (आर्सनल), टारेक हामेद (जामालेक), अब्दुल्लाह सैद (कुपियन), शिकबाला (अल राइद), साम मोर्से (विगान एथलेटिक), काराबा (अल इतिहाद), मोहमुद हसन (कासिमपासा), रामादन सोभी (स्टोक सिटी), अमर वार्दा (एट्रोमिटोस)

फरवार्डः मोहम्मद सालाह (लिभरपुल), मारवान मोहसेन (अल अहले)

इकाटेरिनबर्ग एरिना रंगशाला

प्रकाशित: १ असार २०७५ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App