coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विश्वकप : विगत नियाल्दा

यतिबेला नेपालमात्र नभई विश्वका सम्पूर्ण खेलकुदप्रेमी विश्वकपलाई बडो उत्साहपूर्वक लिइरहेका छन्। करिब ३५ वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा युगधारा नाम गरेको पत्रिकामा फुटबलसम्बन्धी लेखहरू पनि लेख्ने गर्थेँ। यस अर्थमा त्यतिबेलादेखिको फुटबलसम्बन्धी संस्मरण अहिलेको पुस्ताका लागि रोचक लाग्नेछ भन्ने उद्देश्यले यो लेख तयार पारिएको हो।

केही सम्झनलायक दृश्य
सन् १९९० को इटालीमा भएको विश्वकपभन्दा अगाडि घर–घरमा आफ्नो परिवार र साथीभाइसँग एकै ठाउँमा बसेर टेलिभिजनबाट विश्वकप फुटबल हेर्ने अवसर नेपालमा उपलब्ध थिएन। सन् १९९० को विश्वकप फुटबल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्न थालेपछि मात्र यो अवसर प्राप्त हुन थालेको हो। मैले ८ वटा विश्वकप फुटबल राम्रोसँग हेरेको छु। जसमध्ये यो विश्वकपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पेनाल्टी सुटआउटमा शून्यको विरुद्ध एक गोलले पराजीत गरेको थियो। माराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिनाको टिमले शानदार प्रदर्शन गर्दै क्वार्टर फाइनलमा ब्राजिल र सेमिफाइनलमा आयोजक राष्ट्र इटालीलाई पराजीत गरेको थियो। त्यसबेला इटालीबाट खेलेका चर्चित स्ट्राइकर सिलाचीको खेल अझै पनि धेरै नेपालीको स्मरणमा ताजै हुनुपर्छ।

एक समय त फाइनलमा अर्जेन्टिनाले जम्मा ९ खेलाडीद्वारा खेल्नुपरेको थियो। खेलिरहेको बल नै मैदानबाट एकछिन हराएको तर उक्त बल माराडोनाले आफ्नो शरीरको नियन्त्रणमा राखेको इटालीको विश्वकप अहिले पनि त्यही कारण चर्चामा छ। सन् १९८६ को विश्वकप (जुन मेक्सिको सिटीमा आयोजना भएको थियो) चाहिँ दिल्ली दूरदर्शनमा हेरेका थियौँ । माराडोना आफ्नो खेल जीवनको उत्कृष्ट फर्ममा रहेको त्यो विश्वकप दूरदर्शन टिप्ने केही सहरका सीमित नेपालीले मात्र हेर्न पाएका थिए । किनकि त्यसबेला केबल नेटवर्क र आजजस्तो विभिन्न खेल च्यानलको कुनै अत्तोपत्तो थिएन । यो विश्वकपको फाइनलमा अर्जेन्टिनाले जर्मनीलाई २ का विरुद्ध ३ गोलले पराजीत गरेको थियो। एक समय दुवै टिम २–२ गोलले बराबरीमा थिए तर अन्तिम क्षणमा माराडोनाले दिएको पासमा जर्ज बुरुचागाले अन्तिम र निर्णायक गोल गरेका थिए । मैले हेरेका विश्वकपमध्ये यसको फाइनल सबैभन्दा रोचक थियो।

सन् १९९० को अर्जेन्टिना र जर्मनीबीच भएको विश्वकपको फाइनल पनि एकदम राम्रो थियो तर सन् १९८६ को फाइनल खेलको आकर्षण बेग्लै थियो । सन् १९८६ भन्दा पहिलेको विश्वकप फुटबलबारे धेरै नेपालीलाई कमैमात्र थाहा छ । त्योबेला केही नेपालीले रेडियोमा फाइनल म्याचको कमेन्ट्री सुनेर कुन देशले कति गोलले कुन देशलाई जित्यो भन्ने थाहा पाउनुपर्ने अवस्था थियो । यसबाहेक विशेषगरी साप्ताहिक र मासिक पत्रिकाहरूमा खाली फाइनल म्याचका बारेमा एउटा फोटो दिएर त्यसबारे केही विवरण लेखेको पढ्न पाइन्थ्यो । सन् १९७४ को विश्वकप फुटबलको फाइनल म्याचबारे भारतबाट प्रकाशित र त्यसबेला नेपालमा पढे÷लेखेका र बुद्धिजीवीले पढ्ने पत्रिका ‘दिनमान’ मा छापिएको जर्मनीका फरवार्ड गर्ड मलरले गोल हिर्काएको फोटो भएको समाचारमूलक लेख पढेर जर्मनीले फाइनल म्याच जितेको रहेछ भन्ने थाहा पाएका थियौँ।

सन् १९९४ को खेल जुन अमेरिकामा भएको थियो, उक्त खेल माराडोनाको अन्तिम विश्वकप थियो । उक्त खेलमा माराडोनाको यसअघिका दुई विश्वकपमा जस्तो उत्कृष्ट प्रदर्शन थिएन । उक्त विश्वकपमा अर्जेन्टिना फाइनलमा पनि पुग्न सकेन । उक्त खेल र सन् १९९८ मा फ्रान्समा भएको विश्वकप जसलाई फ्रान्सले फाइनलमा ब्राजिलको टिमलाई पराजित गर्न सफल भएको थियो, धेरै नेपालीले हेरेका थिए । सन् २००२ को विश्वकप एसियाका दुई देश जापान र दक्षिण कोरियाले संयुक्तरूपमा आयोजना गरेका थिए जसलाई ब्राजिलले फाइनलमा जर्मनीलाई पराजीत गरेर जितेको थियो । दक्षिण कोरिया सेमिफाइनलमा पुगेका कारण पनि यो विश्वकम नेपालीका लागि पनि चासोको विषय बनेको थियो । त्यसबेला बढीभन्दा बढी नेपालीले उक्त खेल हेर्नुको कारण पनि यही थियो । दुर्भाग्य भनौँ, अमेरिकामा बसोबास गर्दै आएकाले चाँजोपाँजो मिल्न नसक्दा मैले सन् २००६ र २०१० को दुईवटा विश्वकप भने हेर्न पाइन जसलाई क्रमशः इटाली र स्पेनले जितेका थिए।

अमेरिकी मोह
अघिल्लो ब्राजिलको विश्वकप अमेरिकाबाटै हेर्ने मौका प्राप्त भएको थियो र यसपालि पनि सम्पूर्ण खेल हेर्ने प्रबन्ध मिलाएको छु । त्यसो त अमेरिकामा फुटबल खेल त्यति लोकप्रिय छैन तर ल्याटिन अमेरिका, एसिया र अफ्रिकाको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले यसको आकर्षण भने बढ्दो छ । यहाँ हातले खेल्ने रग्वी जस्तो खेल एकदमै लोकप्रिय छ । यस वर्ष हामी बसोबास गरिरहेको राज्य पेन्सलभेनियाको फिल्डफेलिया भन्ने सहरको इगलस भन्ने टिमले जितेको थियो यो खेल । जसलाई यहाँ सपरवल्स भन्छन्।

सवाल बाजीको
यस वर्षको रुसको विश्वकप कसले जित्छ भन्ने कौतुहलता सबैमा छ र सबैले आफ्नै किसिमको अनुमान पनि लगाइसकेका छन् । भर्खरै अमेरिकास्थित एउटा खेलकुद संस्था ‘ग्रास नोट’ ले ब्राजिललाई सबैभन्दा बढी अंक दिएर विश्वकप जित्ने टिम बताए तापनि जर्मनी, फ्रान्स, स्पेन, अर्जेन्टिना, बेल्जियम र पुर्तगाल पनि विश्वकपका दावेदार मानिन्छन् । सन् २०१६ को युरो कप पुर्तगालले जित्छ भनेर कसले सोचेको थियो र ? फाइनलमा फ्रान्सलाई स्टार खेलाडी रोनाल्डोबिना शून्यको विरुद्ध एक गोलले पराजित गरेको थियो । नानीको नेतृत्वमा त्यस दिन पुर्तगालले एकदम मेहनत गरेर फ्रान्सलाई उसकै घरेलु मैदानमा पराजीत गरेको थियो।

नेपाली स्तर
जहाँसम्म नेपालको फुटबल खेल र त्यसको स्तरको प्रश्न छ, नेपालको फुटबलको स्तर दयनीय छ भन्नेमा दुई मत छैन । म राष्ट्रिय खेलकुद परिषद्मा काम गर्दा नेपालको फुटबलको स्तर अहिलेभन्दा राम्रो थियो । त्यसबेला नेपालको राष्ट्रिय खेलाडीले भरिएका क्लब र टिमले भारतमा राम्रो प्रदर्शन गरेका थिए । कुनै बेला भारतको एउटा सामान्य क्लब नेपालमा आएर नेपाली टिमलाई पराजीत गर्न सफल हुन्थ्यो तर त्यसबेला नेपाली टिमले भारतीय नाम चलेका क्लबहरूलाई पराजीत गर्न थालिसकेका थिए । सबैभन्दा पहिले भारतको बिहार राज्यको राजधानी पटनामा आयोजित सञ्जय गान्धी गोल्डकपमा नेपालले भारतको पन्जाब स्टेट इलेक्ट्रिसिटी बोर्डलाई फाइनलमा शून्यका विरुद्ध एक गोलले पराजीत गरेको सम्झना ताजै छ। भारतीय भूमिमा नेपाली राष्ट्रिय खेलाडीहरूले हासिल गरेका त्यो पहिलो जीत थियो । उक्त प्रतियोगितामा फाइनलमा नेपालद्वारा पराजीत भारतको उक्त टिमले सेमिफाइनलमा कलकत्ताको नामी क्लब मोहन बगानलाई पराजीत गरेको थियो।

त्यसपछि दोस्रो सफलता भारतको दार्जिलिङ सहरमा आयोजित गोर्खा गोल्डकपमा नेपाली टिमले भारतको प्रख्यात क्लब इस्ट बंगाललाई फाइनलमा पराजीत गरेको थियो । उक्त फाइनल खेलमा गणेश थापाले गोल गरेका थिए । त्यसबेला कृष्ण थापा बंगलादेशबाट पेशेवर खेलाडीका रूपमा खेल्ने पहिलो खेलाडी र भारतको इस्ट बंगालबाट पेशेवर खेलाडीका रूपमा खेल्ने गणेश थापा क्रमशः नेपालका प्रथम र दोस्रो राम्रा स्ट्राइकरमा गनिन्थे।

म राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा नै नेपालले पहिलो दक्षिण एसियाली खेलकुदमा गणेश थापाको कप्तानीमा फाइनलमा बंगलादेशलाई सजिलै पराजीत गरी फुटबलतर्फको स्वर्ण पदक प्राप्त गरेको थियो । त्यतिबेला क्लबहरूमा सबैभन्दा राम्रो महेन्द्र पुलिस क्लब थियो । नेपालभित्र आयोजित धेरैजसो प्रतियोगिता यसैले जित्थ्यो । यो क्लबमा अशोक केसी जस्ता स्ट्राइकर थिए जसले मौका पाउनासाथ गोल गर्न सक्थे। त्यसबेला नेपालको राष्ट्रिय टिममा पुलिसका आधा दर्जनभन्दा बढी खेलाडी नियमितरूपबाट खेल्थे । दिल्लीमा भएको आठौँ एशियाली खेलकुदमा नेपालको राष्ट्रिय टिमले विश्वकपमा एशियाबाट छनोट भएको कुबेत जस्तो टिमसँग खेलेको खेल त्यसबेला चर्चाको विषय बन्न पुगेको थियो।

प्रकाशित: १ असार २०७५ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App