coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बाजा जोगाउँदै तन्नेरी

आफ्नो संस्कृति सबैलाई प्यारो हुन्छ । त्यही परम्परागत संस्कृति संरक्षणमा जुटेका छन्, सूर्यविनायक नगरपालिका–१, पकाण्डोलका युवा रमेश मानन्धर । उनको समूह संस्कृति संरक्षणसँगै बाजाबाट आम्दानी समेत गर्न थालेको छ।

उनी स्थानीय दधिकोट इङ्लिस सेकेन्डरी स्कुलका शिक्षकसमेत हुन् । त्योसँगै उनी मेला, पर्व र शुभकार्यमा बाजा पनि बजाउँछन् । बाँसुरी, पछिंमा, धिमे र हार्मोनियम बजाउन दक्ष छन् उनी ।‘संस्कृति संरक्षणका लागि हामी जुटेका हौं,’ उनी भन्छन्, ‘संगीतको धुनमा रमाउँदा आनन्द लाग्छ ।’

उनीजस्तै दुई दर्जन युवा परम्परागत बाजा संरक्षणमा होमिएका छन् । गाउँको मानन्धर श्रीपञ्चमी गुठीले उनीहरूलाई बाजा बजाउने तालिम दिएको थियो । गुठीले २०७३ भदौदेखि वर्ष दिनसम्म हरेक साँझ बाँसुरी, पछिंमा र ढोलक बजाउन सिकाएको थियो । गाउँमै सञ्चालन गरिएको तालिमका प्रशिक्षक थिए– मध्यपुर थिमीका धनकाजी भासिमा र विवेक मानन्धर।नयाँ पुस्तामा बाजाप्रति मोह जगाएर संस्कृति लोप हुन नदिन तालिम दिलाइएको गुठीका अगुवा कृष्णबहादुर मानन्धर बताउँछन् । तालिम लिएपछि उनीहरूले पकाण्डोल बाँसुरी भजन मण्डल बनाएर लोकसंस्कृति जर्गेना गर्दै आएका छन् ।

बाजा बजाउने तालिम लिने २५ जनामा ४ महिला थिए । पकाण्डोलमा मानन्धरका ५० घर छन् । तीमध्ये गुठीमा ४४ घर सामेल छन् । हरेक परिवारबाट मासिक ५ सय रूपैयाँ उठाएर तालिम खर्च जुटाइएको गुठीका नायो मानन्धरले जानकारी दिए ।
गुठीले मानन्धर समुदाय बाहिरका केही युवालाई पनि तालिम दिलाएको थियो । त्यस्तै एक युवा हुन्, दिपेश श्रेष्ठ । २२ वर्षीय उनमा बाँसुरीवादक पिता रामकुमारको पनि प्रभाव परेको छ ।

‘संगीतमा लाग्दा रमाइलो छ,’ श्रेष्ठ भन्छन्, ‘भविश्यमा अन्य कामसँगै बाँसुरीवादनलाई पनि अघि बढाउनेछु ।’
यी युवाको सांगीतिक धुन धेरैले मन पराएका छन् । अचेल विवाह, व्रतबन्ध जस्ता शुभकार्यहरूमा समेत उनीहरूले निम्तो पाउन थालेका छन् । त्यस्ता कार्यक्रमहरूमा बजाउँदा पारिश्रमिक पाउँछन् । गएको दसैं–तिहारमा समेत बजाउन उनीहरू धेरैतिर पुगेका थिए ।

‘हामी आम्दानीको २० प्रतिशत कोषमा राख्छौं,’ मानन्धर भन्छन्, ‘बाँकी कलाकारलाई बाँड्छौं ।’ कोषको रकम संस्कृति संरक्षणमा खर्च गरिनेछ ।नेवार समुदायमा विशेषतः वडादसैं, फागु पूर्णिमा र बिस्केट जात्रामा बाँसुरीलगायत बाजा बजाएर मन्दिर तथा गाउँ डुल्ने चलन छ । वडादसैंमा नौरथाभरि गाउँ नजिकैको चँखुतीर्थमा बाँसुरी बजाएर ओरीदोरी गरिन्छ । उनीहरूकै लहरमा पछिंमा, ढोलक, धिमे रजाउनेहरू हुन्छन् ।

दधिकोटका युवा परम्परागत लोकबाजा संरक्षणमा जुटेका छन् । उनीहरूको ‘पकाण्डोल बाँसुरी भजन मण्डल’ले चारैतिर प्रशंसा पाएको छ।

पर्वमा उनीहरू चँखुतीर्थमा मात्र होइन, विन्ध्यवासिनी, अनन्तलिंगेश्वर र सोमलिंगेश्वर मन्दिरसम्म समूहमा बजाउँदै पुग्छन् । गएको दसैंमा त सूर्यविनायक र ब्रम्हायणी मन्दिरसम्म पुगेका थिए ।नेवार समुदायमा वर्षभरि गाइने बाह्मासे गीत छन् । तिनका आफ्नै धुन छन् । पहिलापहिला नेवारी भाषामा मात्रै गाइन्थ्यो । अचेल नेपालीमा पनि गाइन्छ । अहिलेका युवा परम्परागत नेवार गीतमा मात्र सीमित छैनन् । उनीहरू राष्ट्रगानदेखि रेशम फिरिरी जस्ता लोकगीतहरू, नेवारी गीत राजमतीदेखि बाह्मासे गीतसम्मका धुन निकाल्न पारंगत छन् ।

उनीहरू नेवारी पोशाक लगाएर बाजा बजाउँछन् । आफ्नो संस्कृति जोगाउन पाउँदा आत्मगौरव हुने अर्का युवा राजु मानन्धर बताउँछन् । उनी पनि बाँसुरी र पछिंमा बजाउन सिपालु छन् । जब उनी सार्वजनिक कार्यक्रमहरूमा बाजा बजाउँछन्, तब दशर्कहरूले तारिफ गर्छन् । त्यतिबेला गर्व हुने उनी बताउँछन् ।पहिलापहिला बाजा बजाउनेको हुलमा बूढापाका मात्रै देखिन्थे, अचेल तन्नेरीहरू बढी हुन्छन् । पकाण्डोलका युवा वाद्यवादनमा अब्बल देखिएका छन् । सरस्वती कला केन्द्रले गएको पुसमा आयोजना गरेको सूर्यविनायक नगरपालिकास्तरीय धिमे बाजा प्रतियोगितामा उनीहरू पहिलो भएर १० हजार रूपैयाँ नगद पुरस्कार पाएका थिए ।

विगतमा छिमेक धन्सार (सिरुटार)का कान्छा राजथलालाई निम्त्याएर गाउँमा हार्मोनियम र तबलावादनको ६ महिने तालिम पनि दिइएको थियो ।संस्कृति जोगाउने स्थानीय सक्रिय छन् । स्थानीय रामकुमार श्रेष्ठले गुठीलाई धिमे किनिदिएका छन् भने श्यामबहादुर मानन्धरले २० बाँसुरी र एउटा भुस्या बाजा उपहार दिएका छन् । त्यस्तै अजय श्रेष्ठले एउटा पछिंमा किनिदिएका छन् ।

पकाण्डोलमा दाफा भजन लोप भइसकेको छ । पहिले मंगलबार र बुधबार गाउँको पाटीमा नित्य भजन हुन्थ्यो । त्यसबाहेक कात्तिकभर भजन किर्तन गरिन्थ्यो ।त्यो दाफा भजनलाई व्युँताउने प्रयासमा छन्, शिक्षक रमेश मानन्धरसहितका युवा । ‘हामी बाँसुरीवादकको संख्या पनि बढाउँछौं । अरु युवालाई पनि सिकाउँछौं,’ उनी भन्छन्, ‘अब हार्मोनियम र तबलामा जोड दिन्छौं । र, दाफा भजनलाई जगाउँछौं ।’

 

प्रकाशित: १ असार २०७५ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App