६ वैशाख २०८१ बिहीबार
समाज

बालक हत्या आरोपमा प्रहरी र शिक्षक पनि अनुसन्धानमा तानिए

रौतहट -  गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।

घटनाको अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका कटहरिया ९ का वडाध्यक्षका भाइ होसनारायण यादव नेपाल प्रहरीमा कार्यरत छन्। बालक अपहरण भएको दिन शनिवार दिउँसो मात्र बारा जिल्लाको मुसहरनिया प्रहरी चौकीमा डिउटीमा फर्केका प्रहरी यादवमाथि पनि पीडितले किटानी जाहेरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले जिल्ला प्रहरी कार्यालय बारालाई प्रहरी जवान यादवलाई रौतहटमा हाजिर गराउन पत्राचार गरेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपि मीरा चौधरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी जवान यादवलाई हाजिर गराउन पत्र आएको स्वीकार्दै निजलाई हाजिर गराउने विषयमा आफूले माथि जानकारी गराइसकेको बताएका छन्।

पीडितका काका ओमप्रकाश साहले दिएको जानकारी अनुसार बालक अपहरण भएकै दिन पाँच क्विन्टल बासमती र एक क्वीन्टल दाल वडा अध्यक्ष र उनका भाइ प्रहरी जवान यादवले भोज खुवाउन आफूबाटै लिएर गएको बताएका छन्। यादवको घरमा गाई मरेकोले संस्कृतिअनुसार कर्म गरेर जातलाई भोज खुवाउनु पर्ने चलनअनुसार दाल र चामल लगेको बताउँदै ओमप्रकाश साहले अपहरणको योजनामा उनी संलग्न भएको हुन सक्ने भएकोले प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका छन्।

प्रहरीले हत्या गरिएको बालकको अपहरणमा प्रयोग गरिएको हतियार र गोली कहाँबाट बरामद भएको हो भन्ने विषयमा गहन अनुसन्धान थालेको छ। बालक हत्याको आरोपमा पक्राउ परेका शक्ति यादवले हत्यामा प्रयोग गरिएको हतियार वृन्दावन नगरपालिकाको मावि बरगजवाका शिक्षक कृष्ण यादवसित किनेको भनेर दिएको बयानको आधारमा शिक्षक यादवलाई पनि अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ।

शिक्षक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि दानीले बताए। शिक्षक यादवमाथि अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले म्याद थप गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App