७ वैशाख २०८१ शुक्रबार
समाज

पुल नहुँदा सास्ती

भेरी नगरपालिकाको भुर स्थित सिम्ले खोलामा निर्माणाधीन पुलका कारण सडक बिग्रेपछि हिलोमा फसेको गाडी  धकेन्दै यात्रुहरू। तस्बिर जनक/नागरिक

जाजरकोट – वर्षात सिजन सुरु भएसँगै छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने  जाजरकोट, रुकुम र सल्यानका स्थानीयहरू त्रसित हुन थालेका छन्।  सडक कालोपत्रे गरिएको भएपनि विभिन्न खोलाहरूमा बन्नुपर्ने पुल निर्माणमा ढिलाइ भएका कारण यात्रामा चरम कष्ट बेहोर्नुपर्ने भन्दै स्थानीयहरू त्रसित हुन थालेका हुन्।

निर्माण व्यवसायीले कुनै काम बीचैमा अलपत्र पार्ने, कुनै काम सुरु नै नगर्ने गरेका कारण  वर्षातको बेला उर्लने खोलाहरूका कारण यात्रामा हुने गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा अहिले सदरमुकाम नजिकै पाषागाड खोलामा पुल निर्माणको काम अलपत्र परेको छ। 

सडक विभागले  पुन डिजाइन स्टिमेट गर्नुपर्ने  भएपनि यस तर्फ कुनै चासो नदिएका कारण लुम्बिनी आषिस जेभी भरतपुरले काम अघि बढाउन सकेको छैन। यस्तै अन्य स्थानमा निकै ढिलो गतिमा बन्ने क्रममा रहेका पुलहरूका कारण वर्षातका बेला यातायात व्यवसायी र  यात्रुहरूले निकै सास्ती भोग्नु परेको स्थानीय बद्री पन्तले बताए। उनले भेरी नगरपालिकाका भित्रै आधा दर्जन बढी खोलामा पुल नहुँदा वर्षातका बेला यात्रा जोखिमपुर्ण हुने गरेको बताए। काम सुरु भएको छ तर निकै ढिला हुँदा बिग्रेको सडकको अवस्थाले यात्रा जोखिममा पार्ने गरेको उनको भनाइ छ।

वर्षातको सुरुवातसंगै  खलंगाको पाषागाड खोला, मटेलाको पुन्मा खोला, भुरको सिम्ले खोला लगाएतका आधा दर्जन बढी खोलाहरूमा पुल समयमै नबन्दा स्थानीयहरूको यात्रा  कष्टपूर्ण र जोखिमपूर्ण हुने गरेको हो। पुल निर्माण स्थलमा वर्षातका बेला गाडीहरू हिलोमा फस्ने गरेको र फसेका गाडी निकाल्न मेसिनहरू नजिक नहुँदा यात्रु र गाडीका कर्मचारीहरूले कष्टपूर्ण तरिकाले  गाडी धकेल्ने, सडक खन्ने तथा अन्य समस्या झेल्नु परेको यातायात व्यवसायी  भरत पुनले बताए। उनले सडक संरचना गतिलो नहुँदा यात्रु र व्यवसायीले  यात्राको क्रममा निकै कष्ट भोग्नु परेको बताए। जसका कारण यात्रामा ढिलाइ मात्र नभएर जोखिम पनि बढेको यात्रु तथा व्यवसायीहरू बताउछन्।

जिल्ला  सदरमुकाम समेत रहेको भेरी नगरपालिकामा मात्रै  आधा दर्जन पुलहरू केही निर्माण अलपत्र परेका, केही  सुरु नै नभएका  छन्  भने केही पुल निर्माणको क्रममा रहेका छन्। सडक तथा पुल निर्माणको गुणस्तरहिन अवस्था र ढिलाइबारे  सडक डिभिजन कार्यालय चौरजहारीमा स्थानीयले उजुरी गर्दा प्रमुख लगाएतका कर्मचारीहरूले  निर्माण व्यवसायीको पक्षमा  लागेर जनतालाइ  हप्काउने गरेको  स्थानीयवासीको गुनासो छ।   

स्थानीयहरूले निर्माण व्यावसायी, सडक डिभिजन कार्यालय र स्थानीय प्रशासनमा  पटक पटक  यो बारे जानकारी गराउँदापनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।  उता  प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  भने  सडक  र पुल निर्माणको काममा ढिलाइ गर्ने र  निर्माण कार्य अलपत्र  पार्नेलाइ  कारबाहीका लागि  प्रक्रिया अघि बढाइएको  बताए।  उनले  गृहमन्त्रालयलेनै  काम नगर्ने निर्माण व्यवसायी र कम्पनीलाइ कारबाही गर्ने अभियान चलाएको बताए। 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App