८ वैशाख २०८१ शनिबार
कला

मनीषाको नरगिश अवतार

मुम्बई – केही दिन अघि मुम्बईमा राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ को नयाँ पोष्टर रिलिज भयोे । पोस्टरमा अभिनेत्री मनीषा कोइराला नरगिश दत्तको भूमिकामा थिइन् । तस्बिरमा मनीषा र नरगिशको समानता देखेर धेरैले आश्चर्य प्रकट गरेका थिए ।

मनीषा नरगिश जस्तै देखिएको भन्दै धेरै बलिउड सेलिब्रेटीले पनि माइक्रो ब्लगिङ साइट ट्विटरमा मनीषाको लुक्सको प्रशंसा गरेका थिए ।मनीषाले मंगलबार सामाजिक सञ्जालमा फिल्म ‘सञ्जु’को केही तस्बिर सार्वजनिक गरिन् । तस्बिरसँगै उनले नरगिसको भूमिकामा आफूलाई रुपान्तरण गर्न कत्तिको संघर्ष गर्नुपरेको थियो भन्ने कुरा पनि उल्लेख गरेकी थिइन् । ‘हामीले फिल्मका लागि कैयौं लुक्स ट्राइ गरेका थियौं ।

हामीलाई किताब, वृत्तचित्रले नरगिसको रुपमा बदल्न निकै सहयोग गरेको थियो,’मनीषाले लेखेकी छन्,‘म तपाईहरू समक्ष सञ्जुको नरगिशका केही लुक्स सार्वजनिक गर्दैछु । तपाईहरूले पनि यो तस्बिरलाई हेरेर कुनै चरित्र निर्माण गर्न कत्ति मेहनत गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुहुनेछ।’

मनीषाले केही समय अघि मात्र एक सञ्चारमाध्यमसँग कुरा गर्दै फिल्ममा दर्शकले आफूलाई आफ्नो नयाँ अवतारमा देख्ने बताएकी थिइन् । ‘मलाई कुनै भूमिका ग्रहण गर्न  धेरै समय लाग्दैन थियो । तर सञ्जुका लागि मैले धेरै अध्ययन गर्नु परेको थियो ।

यो फिल्ममा नरगिस दत्तलाई एउटा यस्तो आमाको रुपमा देखाइएको छ, जो आफ्नो बच्चालाई आफ्नो रोगको बारेमा बताउन चाहान्नन्,उनले लेखेकी छिन्, ‘ सञ्जयलाई पनि अन्तिम समयसम्म उनको आमालाई के रोग थियो भन्नेसम्म थाहा थिएन । फिल्म ‘रकी’को रिलिज अघि नै नरगिशको निधन भएपछि सञ्जय निकै हतास बनेका थिए । ’मनीषाले नरगिसको भूमिका निभाउनका लागि भित्रबाटै बलियो महसुस गर्नु परेकोे बताएकी छिन् ।

दुई हप्तापछि रिलिज हुने फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको तीन भिन्न भूमिका निर्वाह गरेका छन् । फिल्मले सञ्जय दत्त ड्रग एडिक्ट हुँदाको अवस्था, उनका विभिन्न प्रेमिकासँगको सम्बन्ध र जेल जीवनका क्षणलाई पर्दामा उतारेको छ । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।  
 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App