coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपालमा भारतीय कलाकार

काठमाडौं– नेपाल र भारतका कलाकारले मौलिक कलाका सीप साटासाट गर्ने भएका छन् । ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा ६ दिनसम्म चलेको कला प्रदर्शनीमा भारतीय कलाकार र नेपाली कलाकारबीच मौलिकता साटासाट गर्ने सहमति भएको हो।

प्रदर्शनीमा भारतीय कलाकार महाबिर बर्मा र मुकेश विजोलीले बनाएका लोकशैलीका कला प्रदर्शनीमा राखेका थिए ।  कलाकार बर्माले राजस्थानका स्थानीय जातिको हाउभाउ झल्किने कला  प्रदर्शनी गरेका थिए । ‘लोककलामा आधुनिकताको लेप लगाएको छु’ बर्माले भने, ‘लोकशैलीको भाव उस्तै छ मात्र कला कोर्ने माध्यम केही फरक बनाएको हुँ ।’

त्यस्तै कलाकार मुकेश विजोलीले  स्थानीय लोक नृत्यलाई टपक्क टिपेर आधुनिक लोकशैलीमा ढालेका छन् । ‘नृत्य मुद्रामा रहेको चित्रले त्यहाँका स्थानीय मञ्चमा मात्र नृत्य गर्दैनन् ,’ विजोली भने , ‘काम गर्दाको क्षणमा समेत नृत्य गरिरहेका हुन्छन् ।’ चित्रमा देखिएका रुखको चित्रको धार यताको मिथिलाको झै देखिन्छ ।

तर त्यसमा कोर्ने कला फरक भेटिन्छ ।‘स्केचबाटै चित्र कोर्दा पनि कलम र मसीको गतिशिलता चित्रमा निकै शक्तिशाली छ देखिन्छ’ ग्यालरीका संचालक तथा कलाकार श्यामसुन्दर यादवले भने, ‘हेर्दाखेरी लगातार रेखा तानेको जस्तो देखिन्छ तर त्यहाँ नयाँ चिज देखिएको छ । रंगको कौशल उनीहरूका कलाकृतिमा देखिन्छ ।’प्रदर्शनीमा नेपालको तर्फबाट मुकेश मल्ल समुन्द्रमानसिंह श्रेष्ठ, उदय बज्राचार्य, ज्योति प्रकाश बिके, राधेश्याम मुल्मी लगायतले भाग लिएका थिए ।

विदेशी कलालाई महत्व दिनुभन्दा संस्कृतिमा निकट भारतको कलासँग अन्तक्र्रिया फलदायी रहेको  मुकेश मल्लले बताए । भारतीय कलाकार तथा क्युरेटर डा.आरपी शर्माले नेपाली  कलाकारका लागि कला प्रदर्शनीको मञ्च छिट्टै उपलब्ध गराउने वाचा गरेका थिए । दुई देशमा पालैसँग कला प्रदर्शनी गर्नसके यताका खरिदकर्ताले उताको र उताकोले यताका कलाकृति खरिद गरेर बजार समेत प्रवद्र्धन गर्न सकिने उनले औंल्याएका थिए । छ दिनसम्म चलेको प्रदर्शनीमा २७ वटा चित्रकलाहरू रहेका थिए । प्रदर्शनी बुधबार सकिएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App