coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

तेहरान– इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट यदि आफूले हात झिके फोर्डोस्थित युरेनियम प्लान्टबाट प्रशोधन सुरु गर्ने र नातान्जमा नयाँ आणविक उपकरण खडा गर्ने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच तेहरानको आणविक कार्यक्रम रोक्नेबारे सन् २०१५ मा भएको सम्झौताबाट अमेरिकाले हात झिकेपछि उक्त सम्झौताको भविष्य अनिश्चित भएको छ । इरान सम्झौताका अमेरिकाबाहेक अन्य हस्ताक्षर राष्ट्र रुस, चीन, जर्मनी, बेलायत र फ्रान्सले भने उक्त सम्झौतालाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । सन् २०१५ को सम्झौताअनुसार इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने सर्तमा उसले आफ्नो आणविक कार्यक्रम रोकेको थियो।

इरानमा नातान्ज र फोर्डोमा दुईवटा अत्याधुनिक युरेनियम प्रशोधन केन्द्र रहेका छन् । नातान्जका अधिकांश उपकरणलाई भूमिगत बनाइएको छ भने भने फोर्डोको प्रशोधन केन्द्रलाई भने पहाडमुनि गाडिएको छ । हवाइ बम हमलाबाट प्रशोधन केन्द्रलाई सुरक्षित राख्ने उद्देश्यले इरानले यस्तो यस्तो गरेको अनुमान कतिपयले गर्ने गरेका छन् ।

इरानका सर्वोच्च धार्मिक नेता आयतोल्ला अली खामेनीको निर्देशनमा आणविक कार्यक्रमको नयाँ काम सुरु हुने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्ता बेरुज कमलभान्दीले बुधबार प्रकाशित एउटा अन्तर्वार्तामा बताएका छन् । आणविक कार्यक्रम सुरु गर्ने बताए पनि उनले नातान्जमा कस्ता खालका उपकरण राखिने छ भन्नेबारेमा भने केही नबताएको रोयटर्सले जनाएको छ ।
‘सर्वोच्च नेता खामेनीले तत्कालका लागि आणविक सम्झौताको परिधीमा रहेका गतिविधि गर्न आदेश दिएका छन्,’ योङ जर्नालिस्ट क्लबलाई दिएको अन्तर्वार्ताका क्रममा कमलभान्दीले बताएका छन् ।

‘जब उनले आदेश दिन्छन् त्यसपछि हामी आणविक सम्झौताभन्दा बाहिर गएर फोर्डोस्थित आणविक प्लान्टलाई पुनः सुचारु गर्नेछौं,’ अन्तर्वार्ताकै क्रममा उनले बताए । इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रमुख अली अकबर सालेहीले पनि नातान्जमा अत्याधुनिक प्रविधि राख्ने काम सुरु गर्ने गत साता बताएका थिए । इरानी पक्षले आणविक तथा युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिनुलाई कतिपयले भने सन् २०१५ को आणविक सम्झौतामा बाँकी रहेका विश्वका पाँच शक्तिशाली राष्ट्र त्यसमा कायम रहुँन् भन्ने उद्देश्यका साथ आइरहेको समेत बताउने गरेका छन्।

इरानको आणविक कार्यक्रमको विरोध गरेर अमेरिका र अन्य पश्चिमा देशले दोहोरो भूमिका खेलीरहेको कमलभान्दीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । उनले इरानको आणविक कार्यक्रम विशुद्ध शान्तिका लागि भएको समेत जिकिर गरेका छन् । उनले इरानको परम्परागत शत्रु राष्ट्र इजरायलको आणविक कार्यक्रम शान्तिका लागि हो भने आफूहरुको पनि त्यसकै लागि भएको तर्कअघि सारेका छन् ।

‘पश्चिमा देशले जियोनिस्ट शासनको भने आलोचना गर्दैन बरु सहयो गर्छ,’ इजरायलप्रति कमलभान्दीले दिएको प्रतिक्रिया उद्धृत गर्दै योङ जर्नालिस्ट क्लबले जनाएको छ । ‘पश्चिमा राष्ट्र तथा अमेरिकाको सहयोगबिना इजरायलले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न सक्दैनथ्यो,’ उनले बताएका छन् । मध्यपूर्वको एउटा मात्रै आणविक शक्ति राष्ट्रका रूपमा इजरायललाई लिइन्छ । इजरायलले भने हालसम्म आफूसँग आणविक हतियार भए नभएको बारे केही बताएको छैन ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App