४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

ट्रम्प–किम बैठकलाई प्राथमिकता दिँदै उत्तर कोरियाली वकर्स पार्टीको मुखपत्र रोदोङ सिन्मनले बुधबार प्रकाशन गरेको पहिलो पृष्ठ । तस्बिर : एजेन्सी

वासिङ्टन – उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग मंगलबार सिंगापुरमा शिखर बैठक गरेर स्वदेश फर्किएका ट्रम्पले यस्तो भनाइ राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र कार्यक्रम जारी राखेपछि गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आक्रोशपूर्ण वाक्युद्ध भएका थिए ।

जसका कारण विश्वभर अमेरिका–उत्तर कोरिया युद्धको त्राश फैलिएको थियो । तर यस वर्षको सुरुदेखि दुई नेताबीचको सम्बन्धमा केही सुधार आयो र पटकपटकको कूटनीतिक प्रयासपछि बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो पटक मंगलबार सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेल्ला रिसोर्टमा ऐतिहासिक बैठक सम्पन्न भयो ।‘मैले कार्यालय सम्हालेको अवस्थाभन्दा अब सबैले अझ धेरै सुरिक्षत महसुस गर्न सक्छन्,’ अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन् ।

‘उत्तर कोरियाबाट अब आणविक असुरक्षा छैन । किमसँगको बैठक रमाइलो र निकै सकारात्मक अनुभव रह्यो । उत्तर कोरियाको सुन्दर भविष्य छ,’ ट्रम्पको ट्विट उद्धृत गर्दैै रोयटर्सले जनाएको छ । किमसँगको शिखर बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथिको आर्थिक नाकाबन्दी हटाउन आफू तयार रहेको बताए पनि त्यो तत्कालै नहुने बताइएको छ।

उत्तर कोरियामा खुसीयाली

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर बैठक देशका लागि ठूलो जित भएको र सफल भएको भन्दै उत्तर कोरियामा खुसीयाली मनाइएको छ । अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी हटाउने आफ्नो धारणा सार्वजनिक गरेको विषयमा उत्तर कोरियामा खुसीयाली मनाइएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

ट्रम्पले अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्ने, उत्तर कोरियाको सुरक्षा ग्यारेन्टी गर्ने र प्योङयाङविरुद्धको आर्थिक नाकाबन्दी हटाउनेबारेमा धारणा राखेकाले त्यसलाई सम्बन्ध सुधारका रूपमा लिइएको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिका–उत्तर कोरियाबीचको शिखर बैठक सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आश्चर्यजनक रूपमा अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए ।किम र ट्रम्प दुवैले एक अर्काको देशमा भ्रमण गर्न दुवैलाई निमन्त्रणा दिएको र निमन्त्रणालाई दुवै नेताले हार्दिकतापूर्वक स्वीकार गरेको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ‘कोरियाली प्रायद्वीपमा शान्ति, स्थायित्व र निःशस्त्रीकरणका लागि चरणबद्ध तथा समकालीन कदमको पहिचारबारे आ–आफ्नो धारणा व्यक्त गरेका छन्,’ केसिएनएले उल्लेख गरेको छ ।

राज्यको कडा निर्देशन र नियन्त्रणमा सञ्चालन हुने उत्तर कोरियाली सञ्चारमाध्यमले मंगलबारको ट्रम्प–किमको शिखर बैठकलाई प्राथमिकता दिँदै दुई नेताका कैयौं फोटासहित पहिलो पृष्ठमा समाचार प्रकाशन गरेको बिबिसीले जनाएको छ ।उत्तर कोरियाली वकर्स पार्टीको मुखपत्र रोदोङ सिन्मनले ट्रम्प–किम शिखर बैठकलाई सताब्दीको बैठक भन्दै पहिलो पृष्ठमा स्थान दिएको छ । त्यसैगरी राज्य सञ्चालित समाचार एजेन्सी केसिएनएले वार्ताको प्रशंसा गर्दै विगतदेखिको ऐतिहासिक क्रमभंग भएको बताएको छ । उसले मंगलबारको शिखर बैठकलाई लिएर उत्साही लेखसमेत प्रकाशन गरेको बिबिसीले जनाएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App