coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

सुर्खेत- कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको छ । प्रदेशसभामा शनिबार पेस भएको आर्थिक वर्ष २०७५- ०७६ को नीति तथा कार्यक्रम बुधबार ध्वनि मतका आधारमा पारित भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पढेर सुनाएका थिए ।

सत्ता पक्षका सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गर्दै ‘हुन्छ’ भनेका थिए भने कांग्रेसका सांसदहरूले ‘हुन्न’ भनेका थिए । राप्रपा नीति तथा कार्यक्रममा मौन रह्यो ।कर्णाली प्रदेश संसद्मा सत्ता पक्षका २९ जना सांसद छन् भने नेपाली कांग्रेसका छ र राप्रपाका एक सांसद छन् । यसअघि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रम अहिले सपना जस्तै लागे पनि त्यसलाई पूरा गरेर देखाउने प्रतिबद्धता जनाए । ‘नीति तथा कार्यक्रम महत्वाकांक्षी छन्, तर पूरा हुन्छन्,’ उनले भने, ‘यो कर्णालीवासीले देखेको सपना हो, हामी पूरा गरेर देखाउँछौं ।’

मुख्यमन्त्री शाहीले सांसदहरूले राम्रोसँग नीति तथा कार्यक्रम अध्ययन नगरेको बताउँदै सरकारका मुख्य १२ प्राथमिकता पढेर सुनाएका थिए । मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा थप गर्न सकिने सपना सरकारलाई दिन सांसदलाई सुझाव दिए। ‘यहाँहरूसँग भएका सपना पनि हामीसँग बाँड्नुस्, कर्णालीको समृद्धिका लागि सरकार ती सपनालाई पनि कार्यान्वयन गर्न तयार छ,’ उनले भने, ‘हामीले सपना पनि देखेका छौंँकार्यान्वयन पनि गछाै ।’ उनले आगामी वर्षका लागि सरकारले पाँचवटा सपना देखेको बताए । ‘कानुन निर्माण, योजना निर्माण, कर्णालीको गुरुयोजनाको वर्ष, अनुसन्धानको वर्ष र तथ्यांक संकलनको वर्षको सपना देखेका छौँ,’ उनले भने, ‘यो सपना कर्णालीको समृद्धिको आधार वर्षका लागि हो।’

मुख्यमन्त्री शाहीले दसओटै जिल्लामा स्वरोजगार तालिम केन्द्र सञ्चालनमा ल्याइने बताए । उनले ‘एक घर, एक रोजगार’ अन्र्तगत कर्णालीका वेरोजगार युवालाई कम्तीमा एक सय दिन रोजगार ग्यारेन्टी गरिने दाबी गरे ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App