४ वैशाख २०८१ मंगलबार
समाज

त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

त्रिपक्षीय सहमतिपछि कालोपत्रेको काम सुचारु गर्दै मजदुर । तस्विर : नागरिक

कटारी (उदयपुर)– गुणस्तरहीन काम गरेको भन्दै २ दिनअघि नगरपालिकाले आईतबारदेखि रोकेको निर्माणाधिन सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डको सडड कालोपत्रे र आरसिसी ढलानको कार्य सुचारु भएको छ। कटारी नगरपालिका, पूर्वाञ्चल सडक डिभिजन कार्यालय लाहान र निर्माण कम्पनीबीच त्रिपक्षीय सहमितिपछि स्थगित काम बुधबारदेखि सुचारु भएको हो। 

मंगलबार दिउँसो भएको त्रिपक्षीय वार्तापछि अहिलेसम्म भएको कमजोरी काम सुधार्ने  र बाँकी काम लागत इस्टीमेट अनुसार प्राविधिकको प्रत्यक्ष निगरानीमा गर्ने सहमति भएपछि  बुधबार दिउँसोदेखि रोकिएको काम सुचारु भएको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले बताइन्। यसअघि भएको कालोपत्रे र आरसिसी ढलानको काम गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले इलाका प्रशासन कटारी, इलाका प्रहरी, उदयपुर उद्योग बाणिज्य संघ र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो। 

उपप्रमुख राउत नेतृत्वको इन्जिनियरसहितको टोलीले अनुगमनको क्रममा कालोपत्रे र ढलान दुवैको काम इस्टीमेट अनुसार नभएको प्रमाणित भएपछि तत्काल काम रोक्न निर्देशन दिएकी थिइन्। माथिल्लो सगरमाथालाई सिराहा र कटारीसँग जोडेको सिद्धिचरण लोकमार्गको उक्त खण्डमा १ महिनाका लागि यातायात अवरुद्ध गरी थालिएको सडक निर्माण कार्य रोकिएपछि आउँदो असार १३ गतेदेखि यातायात सुचारु हुन नसक्ने खतरा बढेको थियो। असार १३ गतेभित्र काम सकेर यातायात सुचारु गर्नुपर्ने काम रोकिदा सडक सुचारु हुने अनिश्चित भएको भन्दै सडक डिभिजनले तत्काल काम सुचारु गर्न पहल थालेको थियो। 

सडकले असार मसान्त नजिकिएको र माथिल्लो सगरमाथाका सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा उपभोग्य सामान ढुवानी र यात्रु आउजाउमा प्रत्यक्ष असर पर्ने समस्या देखिएको भन्दै काम चाँडो सम्पन्न गर्न नगरपालिका र निर्माण व्यवसायीसँग छलफल गराएपछि गुणस्तरीय काम गर्ने सर्तमा निर्माण कार्य सुचारु गर्ने अनुमति दिएको हो। सडक निर्माणस्थलमै पुगेर अनुगमनसहित भएको त्रिपक्षीय वार्तामा निर्माण कम्पनीले कमजोरी भएको ठाउँमा सुधार गर्ने, चौडाई साँघुरो भएको सडकमा इस्टीमेट अनुसार थप चौडा गर्ने, बाँकी कालोपत्रेको काम नियमानुसार र नगरपालिका प्राविधिकको प्रत्यक्ष निगरानीमा गर्ने तथा निर्धारित समयमै काम सम्पन्न गर्ने सहमति भएपछि काम सुचारु भएको हो। 

सिराहाको मिर्चयादेखि उदयपुरको कटारी घुर्मी हुँदै खोटाङ र ओखलढुंगा तथा सोलुखुम्बस जोड्ने सिद्धिचरण लोकमार्गको उक्त खण्डको सडक निर्माणमा कमजोरी भएको सार्वजनिक भएपछि उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बसका प्रतिनिधिसभा सांसद, प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघले ध्यानाकर्षण भएको भन्दै डिभिजन सडकलाई नियमनका लागि कडा निर्देशन दिएका थिए। गुणस्तरीय कामको चौतर्फी दबाबसँगै माथिल्लो सगरमाथामा खाद्यान्नलगायत उपभोग्य सामान ढुवानी र यात्रु आउजाउ कार्य छिटो  गराउने उद्देश्यले गुणस्तरीय कामसँर्गै छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको हो। 

सो ठाउँमा ठाँटी भन्ज्याङदेखि गहुँबारीसम्मको १.२ किलोमिटर सडकमा कालोपत्रे गर्ने जिम्मा अम्बे विल्डर्स काठमाठौंले लिएको सडक कार्यालयले जनाएको छ। असार मसान्तभित्र काम सक्ने गरी १ करोड ५ लाखमा लिएको ठेक्कामा साढे ५ मिटर चौडाईको सडक कालोपत्रे गर्नेगरी सम्झौता भएको नगरपालिकाका इन्जिनियर सुरेन्द्र जयसवालले बताए। त्यसैगरी भन्ज्याङ पारि २ सय मिटर र वारि १ सय मिटर आरसिसी ढलानका लागि विकास नर्मिाण सेवा सिराहाले ८७ लाख रुपैंयामा असार मसान्तभित्रै काम सक्ने गरी ठेक्का सम्झौता गरेको सडक कार्यालयले जनाएको छ।

डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर रामकुमार देवले २ दिनअघि स्थगित भएको सडक निर्माण कार्य आपसी छलफल र सहमतिपछि सुचारु भएको बताउँदै आउदो असार १३ गतेदेखि याताायत सुचारु गर्ने गरी काम गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको बताए। उनले यसअघि गुणस्तरहीन काम भएको गुनासो सम्बोधन गर्दै गुणस्तरीय काम गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गरेको बताएका छन्। 

प्रकाशित: ३० जेष्ठ २०७५ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App