१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साकार भयो वेलायती राजकुमारको सपना

पुनर्निर्माण भएको नौलीखोला लघुजलविद्युत आयोजनाको पावरहाउस। तस्बिर/नागरिक

गोरखा–धार्चे गाउँपालिका–७ लापुबेसीमा बिजुली बत्ती बाल्ने बेलायती राजकुमार ह्यारीको सपना पूरा भएको छ । २०७३ चैत दोस्रो साता नेपाल आएर सुटुक्क भूकम्पमा भत्किएको लघुजलविद्युत् र विद्यालय निर्माणमा श्रमदान गर्न लापु पुगेका उनले पहिले प्राथमिकता बिजुली बत्तीलाई दिएका थिए।

तिनै ह्यारीले आफ्ना सहकर्मीलाई साथ लिएर श्रमदानबाट मर्मत थालेको जलविद्युत आयोजना निर्माण पूरा भएर आइतबारदेखि गाउँमा बिजुली बल्न थालेको छ । २०७२ वैशाख १२ गतेदेखि बन्द भएको नौलीखोला तेस्रो लघुजलविद्युत आयोजना पुनर्निर्माण भएर घरघरमा बत्ती बलेपछि स्थानीय खुसी भएका छन् ।

काठमाडौंबाट सञ्चार माध्यम र सुरक्षा निकायलाई पनि पत्तो नदिई बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको दुर्गम गाउँ लापु पुगेका थिए । त्यतिबेला भूकम्पले थिलथिलो भएको गाउँको विद्यालय मर्मतमा सघाउँदै गरेका बेलायती सैनिकलाई सघाउन उनी त्यहाँ गएका थिए । गाउँमा पुगेपछि जलविद्युत पनि भूकम्पले भत्काउँदा बिजुली बन्द भएको सूचना थाहा पाएपछि केही दिन बेलायती सेनाको साथमा उनले श्रमदान गरेका थिए । त्यतिबेलादेखि मर्मत सुरु भएको लघुजलविद्युत आयोजनामा अहिले नियमित बिजुली बल्ने भएपछि स्थानीय पनि खुसी छन् । अहिले सडक सञ्जालले जोडिएको लापु ह्यारी पुग्दा भिरैभिर भएर गोरेटोबाटो मात्रै थियो । सेनाले अहिले सडकको ट्र्याक खोलेपछि भने सजिलो भएको छ।

लघुजलविद्युत मर्मत गरेर फर्कंदै गरेका ह्यारी (झोला बोक्ने) फाइल तस्बिर/नागरिक

‘टुकी, दियालो र राहतको सोलारको भरमा तीन वर्ष बिताउनुपर्यो,’ वडा अध्यक्ष सूर्यमान गुरुङले भने, ‘ढिलै भए पनि आइतबार रातिदेखि बत्ती बाल्न पाउँदा स्थानीय खुसी छन् ।’ गाउँपालिकाको २० लाख रुपैयाँ सहयोगमा लघुजलविद्युत मर्मत भएको हो । उक्त आयोजना मर्मत गर्न स्थानीयले प्रतिधुरी पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । करिब ९० घरधुरीले चारदिन श्रमदानसमेत गरेका हुन्।

भूकम्पअघि लापुबेसी, खानीबेसी, भिरकुना, अर्मला लगायत ठाउँका गरी करिब तीन सय घरधुरीले बिजुली बाल्दै आएका थिए । भूकम्पले कुलो बगाउने, पावरहाउस भत्किने भएपछि अलपत्र परेको आयोजना निर्माण गर्न पैसा नहुँदा लामो समय लागेको स्थानीय शिक्षक जीव गुरुङले बताए ।  ‘विद्यार्थीलाई पढ्न समस्या भएको थियो, सञ्चारबाट पनि कहिलेकाहीँ सम्बन्ध विच्छेद हुन्थ्यो,’ उनले भने । ३० किलोवाटको उक्त आयोजना निर्माण भएर अहिले भने लापुबेसीमा मात्रै बिजुली बलेको छ । अन्य ठाउँमा केन्द्रीय प्रसारणलाई जोड्ने तयारी भएको र लघुजलविद्युतको क्षमता पनि पहिले भन्दा कम रहेकाले सबै ठाउँमा वितरण गर्न समस्या भएको हो । लघुजलविद्युतका अध्यक्ष सुरेश गुरुङ र वडा अध्यक्ष सूर्यमान गुरुङको प्रयासमा बिजुली बत्ती बलेको हो । लापुमा लघुजलविद्युत मर्मत भएर सुचारु भएपछि सौरपानी, सिम्जुङ लगायत केही उत्तरी भेगमा भने अझै भूकम्पमा भत्किएको लघुजल विद्युत पुनर्निर्माण हुन सकेको छैन ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App