coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घलेम्दीखोला जलविद्युतको ९२ प्रतिशत काम सकियो

म्याग्दी–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

आयोजनाका पावरहाउस, पेनस्टक पाइप, ‘सर्ज ट्यांक’को काम तीव्रगतिमा अगाडि बढेको छ । आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको कम्पनीका अध्यक्ष किशोर  सुवेदीले बताए । ‘समग्रमा ९२ प्रतिशत काम सकिएको छ, ‘बाँकी कामलाई पनि तीव्र गतिमा अगाडि बढाएका छौं,’ सुवेदीले भने।

उनका अनुसार पावर हाउसको काम ८० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.सं २०७१ सालबाट निर्माण थालिएको आयोजनाको विद्युतगृहमा मेसिन जडान अन्तिम चरणमा पुगेको छ ।

‘पेनस्टक पाइपको जडान करिब पूरा भएकाले पाइपमा पानी हालेर मेसिनसम्म पु¥याउने काम बाँकी छ,’ आयोजनाका सञ्चालक एवं प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले भने । १७ सय मिटर सुरुङ जोडिएपछि दुवैतर्फ फिनिसिङको काम भइरहेको छ । आगामी असोज महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए । निलगिरि खोलाको किनारमा अवस्थित पावरहाउसमा आवश्यक जनशक्तिलाई केन्द्रित गरिएको छ।

पावरहाउस नजिक कर्मचारी आवासगृहको कामले समेत तीव्रता पाएको छ । जिल्लामा निजी क्षेत्रबाट निर्माणाधीन अवस्थामा रहेको जलविद्युतमा घलेम्दीले सबैभन्दा पहिले उत्पादन दिनेछ । बन्दहड्ताल, भारतीय नाकाबन्दीको समयमा समेतमा दैनिक दुई सिफ्टमा काम गरिएकाले पनि आयोजनालाई अन्तिम रुप दिन सहज भएको उनले बताए ।
घलेम्दी खोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माण कार्य सम्पन्न भएपछि लगानीकर्ता समेत उत्साहित भएका छन् । पावर हाउसदेखि ड्यामसम्म करिब १ सय ५० जना मजदुर कार्यरत छन् । विगतमा भौगोलिक विकटताका कारण सडकको पहुँच नहुँदा सामान ढुवानीमा भरिया र खच्चडको प्रयोग गर्दा लागत र समयसमेत धेरै खर्चिनुपर्ने अवस्थामा अहिले सुरुङबाट सबै सामानहरू एकघन्टामै ड्याममा पुग्ने भएकाले पनि सुरुङको काम सकिएपछि आयोजनाका अन्य संरचनाले गति लिएको थियो ।

अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्यामस्थलको सञ्चालक समितिका सदस्यको निगरानीमा काम गरिएको थियो । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ  ।३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा १३ सयजना संस्थापक सेयर रहेका छन् भने वित्तीय संस्थाबाट ५५ करोड कर्जा लिएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपैयाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ । घलेम्दीबाट उत्पादन गरिएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिन तत्काल भएको क्षमता भएकाले पनि खेर जाँदैन।

अन्नपूर्ण गाउँपालिकाकै दाना सबस्टेसन निर्माणधीन अवस्थामा रहेकाले परीक्षण उत्पादनलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न अहिले भएको क्षमताले पुग्ने भएकाले परीक्षण लगत्तै व्यावसायिक उत्पादन गरिने छ । नारच्याङमै निर्माणधीन अवस्थामा रहेको ४२ मेगावाटको म्रिस्ती खोलाको करिब ५२ प्रतिशत काम सकिएको छ । नारच्याङमा करिब १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधीन अवस्थामा रहेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७५ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App