८ वैशाख २०८१ शनिबार
खेल

म विनाको विश्वकप खल्लो हुन्छ : इब्राहिमोभिच

मस्को – ज्लाटान इब्राहिमोभिच खेलाडीका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । अग्ला र सुगठित शरीर भएका इब्राहिमोभिचलाई रोक्नु विपक्षी रक्षकका लागि कठिन काम हो । हकी स्वभावका इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्।

तर ३६ वर्षे फरवार्डले पछिल्लो समय २०१८ को विश्वकपमा आफू उपस्थित हुने बताउँदै आएका छन् । ‘स्पष्ट कुरा । म मेरो राष्ट्रिय टोलीसँग रूस जान लागेको होइन,’ २००२ र २००६ को विश्वकप खेलेका भेट्रान फरवार्ड इब्राहिमोभिच रूस यात्राबारे भने, ‘गत संस्करणमा जस्तै यसपालि पनि भन्छु कि मबिनाको फिफा विश्वकप खल्लो हुन्छ । यस पटक रूसमा मेरो उपस्थितिलाई भिजाले सम्भव बनाइदिएको छ । यसमा म खुसी छु । अन्य विश्वकपजस्तै रूसमा हुने विश्वकपमा पनि अद्भुत हुने विश्वास छ । यो विश्वकै सबैभन्दा ठूलो उत्सव हो, जसलाई म गुमाउन चाहन्नँ।’

विश्वकप प्रायोजकमध्येको एक भिजा कार्डले गरेको फोमो (फियर अफ मिसिङ आउट) अभियानमा उनी रूस पुग्नेछन् । भिजाले विश्वलाई प्रभाव पार्न सक्ने ६ ब्रान्डको टोली बनाएको छ । जसमा इब्राहिमोभिचबाहेक जर्मनीको फ्रिकिकर्ज, जापानका कोतारो टोकुदा, मेक्सिकोकी पामेला एल्लियर, रूसकी तातिएना भिसिलिइभा र इङ्ल्यान्डका क्रिस एमडी रहेका छन्।

अहिले अमेरिकामा रहेका इब्राहिमोबिचले रूसमा ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना मुख्य दाबेदार रहेको बताए । उनले आफ्नो देश स्विडेनलाई पनि दाबेदारका रूपमा उभ्याए । तथापि स्विडेनको वास्तविकताबारे इब्राहिमोभिचले थपे, ‘विश्वकपको टिकट पक्का गर्ने क्रममा स्विडेनले ठूला भनिएका टोलीलाई पराजित गरेको छ । त्यसैले सबै कुरा नयाँ र उत्साहपूर्ण छ । ठूला नामभन्दा पनि मैदानमा छिरेपछि जसले राम्रो खेल्छ उसैले जित्ने हो।’

फ्रान्सलाई उनले उपाधि दाबेदार नमाने पनि पाउल पोग्बा र केलियन एमबाप्पेलाई रूसमा उदाउन सक्ने नयाँ स्टारका रूपमा लिएका छन् । फुटबल एक खेलाडीमा भर पर्ने खेल नभएको भन्दै उनले नेइमार, मेसी, रोनाल्डो रूस विश्वकपको ठूला नाम भएको बताए । विश्वकपको मैदानमा उत्रँदा इब्राहिमोभिचलाई दर्शको उपस्थिति सबैभन्दा मन पर्ने पक्ष हो । ‘हाम्रो जर्सी पहेंलो रङको छ । हामी मैदानमा उत्रँदा पूरा रंगशाला नै पहेंलो हुन्थ्यो । यस्तो लाग्यो कि यहाँ ठूलो उत्सव भइरहेको छ । खेलाडीका लागि खेल्नु कुनै नयाँ कुरा हुँदैनथ्यो । तर मैदानबाहिरको माहोल अद्भुत हुन्छ।’

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App