coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेश जाने घट्दा कसरी बढ्यो रेमिट्यान्स ?

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई निरुत्साति गर्ने प्रयास गरिरहेको बेला विदेश जाने युवाको संख्या घट्न थालेको छ ।

जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटमा आउँदो पाँच वर्षमा स्वदेशमा पाँच लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ । स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत सुरु गर्ने तयारी गरिरहेको छ ।उक्त कार्यक्रम सुरु नहुँदै वैदेशिक रोजगारीमा जानेको संख्या भने घट्न थालेको छ । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) मा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ०७३÷७४ मा पहिलोपटक र वैधानिकीकरण गरी तीन लाख ३४ हजार नौ सय ९२ जना वैदेशिक रोजगारीमा गएकोमा चालु आर्थिक वर्षको १० महिनामा तीन लाख १५ हजार १३ मात्र काम खोज्दै विदेश पसे । पछिल्लो समयमा पुनः श्रम स्वीकृति लिनेको संख्या समेत घट्दो छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घट्दा रेमिट्यान्स सात प्रतिशतले बढेको छ

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष पाँच हजारभन्दा कमले पुनः श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष ०७३-७४ मा दुई लाख २५ हजार ४४ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्ष दुई लाख १९ हजार नौ सय ९६ ले वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिए ।वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह सात प्रतिशतले बढेको जनाएको छ । सो अवधिमा रेमिट्यान्स ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ प्राप्त भएको छ । गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ५.२ प्रतिशत मात्र थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन र अफगानिस्तान जाने बढेका छन् । कतार, साउदी अरब जानेको संख्या उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्षको तुलनामा कतार जानेको संख्या करिब २५ हजारले घट्दा साउदी जाने ३० हजारभन्दा धेरैले घटेका छन् । आर्थिक वर्ष ०७३÷७४ मा सबभन्दा ठूलो गन्तव्य बनेको कतारलाई यसपटक मलेसियाले उछिनेको छ।

अघिल्लो वर्ष एक लाख १० हजार एक सय ७० जना कतार गएकोमा चालु आर्थिक वर्षको १० महिनामा ८८ हजार सात सय ४७ जना गएका छन् । त्यस्तै, पछिल्लो १० महिनामा ३५ हजार चार सय ५४ जना साउदी गएका छन् । अघिल्लो वर्ष साउदी जानेको संख्या ६७ हजार एक सय ५१ थियो ।वैशाखसम्म रोजगारीमा जानेमध्ये सबैभन्दा बढी मलेसियाका लागि ९९ हजार दुई सय ३६ ले श्रम स्वीकृति लिएका छन् । पोहोरभन्दा यसपटक २० हजार चार सय ४१ बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् ।

यद्यपि गत जेठ ३ गतेदेखि मलेसिया रोजगारी बन्द भएकाले अब मलेसिया जानेको संख्या घट्न सक्ने अनुमान गरिएको छ । मलेसिया जाने कामदारसँग बढी शुल्क लिएको भन्दै सरकारले मलेसिया कामदार पठाउनेसम्बन्धी चार संस्थाका सञ्चालक पक्राउ गरेपछि मलेसिया रोजगारी बन्द भएको हो ।यसपटक जापान जानेको कामदारको संख्या उल्लेख्य घटेको छ । गत वर्ष दुई हजार ८५ ले जापानका लागि श्रम स्वीकृति लिएकोमा यस वर्ष वैशाखसम्ममा ६ सय १७ ले मात्र श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा चार वर्ष बिताएका पूर्वकार्यकारी निर्देशक रघुराज काफ्ले रोजगारीमा जानेको संख्या घटेको बेला रेमिट्यान्स बढेकाले विदेशमा नेपालीले राम्रो काम पाएको संकेत गर्ने बताउँछन् ।‘रेमिट्यान्स वृद्धि हुनुको कारण कतार लगायत मुलुकमा सञ्चित रहेका रकम हुन सक्छ,’ उनले भने, ‘यसै क्रममा मलेसियाले समेत अवैधानिक अवस्थामा रहेकालाई घर फर्काउन थालेकाले तिनै युवाले पुरानो रकम पठाएका हुन सक्छन् ।’

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App