coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मकवानपुर – मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।

मकवानपुरका ३१ हजार ८ सय १७ लाभग्राही मध्ये २४ हजार ८ सय ८७ जना अर्थात् ७८ दशमलब २२ प्रतिशतसँग मात्र सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमनाथ तिमिल्सिनाले बताए। सम्झौता हुन बाँकी लाभग्राहीमध्ये सबैभन्दा धेरै लालपुर्जाविहीन ४ हजार २ सय ५७ अर्थात्  ६१ दशमलब ४२ प्रतिशत रहेको छ।

सरकारले जग्गा दर्ता गर्न निवेदनको माग गर्दै तीन पटक सूचना जारी गरिसकेपनि कार्यान्वयनमा भने नल्याएको उनले बताए। मकवानपुरका १ हजार ६ सय ४३ जनाले निवेदन समेत दिएका छन्। त्यस्तै, सम्पर्कमा नआएका, निस्सा नमिलेका, घरायसी समस्या भएका ४ सय १७ जना, सुुकुम्वासी २ सय १३ जना छन् भने ४३ जना लाभग्राहीको मृत्यु भइसकेको तथ्याङ्क छ। साथै विदेश रहेका लाभग्राही १ सय ७० जना, बहुस्वामित्वमा जमिन रहेका ८१, पुनर्वासको मुद्दा भएका १ सय ५८ जना रहेका छन्। पहिलो किस्ता सम्झौताको क्रममा रहेका १ हजार ५ सय ७९ लाभग्राही रहेका छन् भने सम्झौता गर्न रुची नदेखाएका १२ जना रहेको प्रमुख तिमिल्सिनाले बताए।

सम्झौता भएकामध्ये २३ हजार ९ सय ६९ अर्थात् ९६ दशमलब ३१ प्रतिशत भूकम्प पीडितले पहिलो किस्ताको अनुदान रकम लगेका छन्। त्यस्तै सम्झौता भएकामध्ये १४ हजार ८ सय १५ अर्थात् ५९ दशमलब ५२ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार ७ सय ५७ अर्थात् २३ दशमलब १३ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता लगेका छन्। जसमध्ये गैरसरकारी संस्था मार्फत् पहिलो किस्ता १ हजार ४ सय १८, दोस्रो किस्ता १ हजार २ सय २८ र तेस्रो किस्ता ९ सय ९० लाभग्राहीले लिएका हुन्।

मकवानपुरमा १४ हजार ६ सय २८ भुकम्प पीडितको निजी भवन निर्माणाधीन रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ। तीन वर्षमा सरकारी र गैरसरकारी संस्थाको अनुदान सहयोगमा ५ हजार ४ सय ८३ निजी भवन पुनर्निर्माण भएको तथ्याङ्क छ। २६ हजार ९ सय ८७ वटा गुनासो दर्ता भएको मकवानपुरमा २३ हजार ९ सय ६० वटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाई सबै गुनासा फछ्र्यौट गरिएका छन्। बाँकी गुनासो जिल्ला र स्थानीय तहबाट फछ्र्यौट गरिएको थिए। यसैबीच ६ लाभग्राहीले भवन बनाउन आवश्यक नपरेको भन्दै पहिलो किस्ता रकम फिर्ता गरेका छन्।

मकवानपुरमा ५ हजार १ सय ४९ भुकम्प प्रभावित प्रवलीकरण लाभग्राही छन्। तीमध्ये १ हजार ९ सय ४४ सँग अनुदान सम्झौता भएको र १ हजार ८ सय ८९ लाभग्राहीले पहिलो किस्ता रकम लगिसकेको कार्यान्वयन इकाईका प्रमुख तिमिल्सिनाले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाको डुङ्गलिङ, पाँजनी र मैदानीको १० तथा बकैया गाउँपालिकाको देउराली र पिपलडाँडाको ४ घर जोखिमयुक्त रहेकाले स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन्। यता, पुनर्निर्माणको सरकारी प्रकृया झण्झटिलो र सुस्त भएको भन्दै जनप्रतिनिधीहरुले समेत गुनासो गर्दै आएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App