coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस विवाद पेचिलो बन्दै

काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद एकपछि अर्को गर्दै पेचिलो बन्न पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवादमा कांग्रेस नेताहरू यसअघि नै एक महिना लामो केन्द्रीय समिति बैठकमा अल्झेका छन्। आसन्न जिल्ला सभापति भेलामा पनि नेताहरू निर्वाचनमा पराजित हुनुमा एकअर्कामाथि दोषारोपण गर्नमै केन्द्रित हुने भएका छन्।

संगठन निर्माण, विधान संशोधनलगायतका विषयमा जिल्ला सभापतिहरुको सुझाव लिन कांग्रेसले असार ५ देखि ७ गतेसम्म हेटौंडामा भेला बोलाएको छ। तर भेलामा पार्टी संगठन बलियो बनाउने भन्दा आफ्नो गुट बलियो बनाउन नेताहरू अहिलेदेखि नै सक्रिय भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह पार्टीको १४ औं महाधिवेशनको परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिमा जुटेका छन्। दुवै पक्ष एकअर्काको कमजोरी खोतल्दै आफू र आफ्नो गुटको बचाउमा लागेका छन्।

नेता पौडेलसहित असन्तुष्ट पक्ष जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै तल्लो तहसम्म सभापति देउवाकै कारण निर्वाचनमा पार्टी पराजय भएको स्थापित गराउने रणनीतिमा छ। ‘पार्टी पराजयको मुद्दालाई जिल्ला सभापतिहरुको भेलामा सशक्त रुपमा उठाउनेछौं,’ पौडेल निकट एक जिल्ला सभापतिले भने, ‘भेलामा निकटहरुको साझा धारणा लैजान्छौं।’

सभापति देउवा निकट नेताहरु भने त्यसको प्रतिवाद गर्ने तयारीमा छन्। देउवा पक्ष असन्तुष्ट पक्षको कमजोरी बाहिर ल्याउँदै सभापतिको बचाउमा निकट जिल्ला सभापतिहरुलाई खरो रुपमा उतार्ने तयारीमा छ। ‘उहाँहरु (पौडेल पक्ष) सभापतिलाई मात्र आरोपित गर्न लागि पर्नुभयो भने हामीले चुपचाप सहने कुरा आउँदैन,’ देउवा निकट एक नेताले भने, ‘त्यसको प्रतिवाद गर्छौं र उहाँहरुका कमजोरी पनि बाहिर ल्याउँछौं।’

दुवै पक्षले निकट जिल्ला सभापति मात्र होइन, भ्रातृ तथा शुभेच्छुक संगठनलाई पनि आआफ्नो पक्षमा प्रयोग गरिरहेका छन्।

नुवाकोट कांग्रेसका सभापति जगदीशनरसिंह केसीले चुनावमा पार्टी हारको जिम्मेवारी पदीय हैसियतले पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने दाबी गरे। तर सभापति देउवा त्यसका लागि तयार नदेखिएको आरोप उनको छ। उनले भने, ‘पदीय हैसियतमा सभापतिले हारको जिम्मेवारी लिन तयार नभएकाले अब जिल्ला सभापतिहरुले त्यसको जिम्मेवारी लिनेछौं।’

स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको तालमेलले पार्टीलाई नाफा भन्दा नोक्सान भएको जिकिर गर्दै उनले भने, ‘माओवादीले हामीलाई प्रयोग ग¥यो तर कांग्रेसले उसलाई किन आफ्नो पक्षमा उपयोग गर्न सकेन? सत्ता साझेदार दल प्रतिपक्षीसँग मिल्दा पनि हामीले किन रोक्न सकेनौ? भेलामा हामी त्यसको जबाफ खोज्छाैं।’

मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बुले केन्द्रीय समिति बैठकले निर्वाचनमा पार्टी हारको विषयलाई बिट मार्न नसकेकाले सभापति भेलामा पनि उक्त विषयले प्रवेश पाउने दाबी गरे। पार्टीभित्र गुटगत राजनीति भइरहेकाले हारको जिम्मेवारी कसैले नलिएसम्म उठिरहने तर्क गर्दै लिम्बुले पार्टी सभापति र वरिष्ठ नेता पौडेल मिलेरै टिकट बाँडे पनि चुनावमा हारको जिम्मेवारी लिन अहिले दुवै नेता तयार नदेखिएको बताए। ‘उहाँहरु विवाद गरेर हारको जिम्मेवारी लिन तयार नभए त्यसको जिम्मेवारी कोही न कोहीले लिनुपर्छ,’ उनले भने, ‘बरु मै जिम्मा लिन्छु, अब गुट होइन त्यसभन्दा माथि उठेर संगठन निर्माणमा जुटौं।’

कास्की सभापति कृष्ण केसीले निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा पार्टी पराजित भएको दाबी गरे। आन्तरिक व्यवस्थापनसहितका अन्य विधि कारणले पार्टी पराजित भएको जिकिर गर्दै उनले भने, ‘अब म भएको भए गर्थें अर्को भएकाले गरेन भन्नुको अर्थ छैन।’

आक्रोश, निरासा र इगोले पार्टी संगठन अघि बढ्न नसक्ने दाबी गर्दै उनले सामूहिक निर्णय, सामूहिक जिम्मेवारी र कार्यान्वयनले मात्र अबको पार्टी संगठन अघि बढ्न सक्ने बताए।

डडेलधुरा सभापति कर्ण मल्लले पार्टीका नेताकार्यकता मतदाता केन्द्रित हुन नसक्दा पार्टी पराजित भएको तर्क गरे। ‘पार्टीका शीर्ष नेताहरु आफू केन्द्रित हुनुभयो। हामी नेता केन्द्रित भयौं,’ मल्लले भने, ‘अब आफू केन्द्रित र नेता केन्द्रित होइन जनता केन्द्रित हुनुपर्छ। त्यसमै पार्टी र मुलुकको भविष्य छ।’

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पार्टीलाई कसरी नयाँ ढंगले अगाडि बढाउने भन्ने विषयमा सोमबार साँझ छलफल भएको छ । देउवा निवासमा भएको छलफलमा दुई नेताबीच विधान मस्यौदा समिति, अनुशासन समिति र विभाग गठन प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ। ती विषयलाई पार्टीका दोस्रो तहका नेताहरूसँग बैठक गरी टुंगो लगाउन दुवै नेता सकारात्मक भएका छन्। वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरे पनि सदस्य विवादका कारण अझैसम्म गठन हुन सकेको छैन।

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App