coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विश्रकपसँगै जर्सी ट्रेन्ड

कोही जर्सी रोज्दै थिए । कोही जर्सी लगाएर सेल्फी खिँच्दै । स–साना बालकहरू पसलेलाई जर्सी देखाउन आग्रह गर्दै थिए । यो दृश्य कुमारीपाटीस्थित भगवती स्पोट्र्समा देखिएको हो ।विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता नजिकिएसँगै अधिकांशलाई यसको फिबरले छोएको छ । चोक तथा गल्लीमा को टिमले उपाधि जित्ने अड्कलबाजी सुरु भएको छ।

आफ्ना टिमको समर्थनमा फुटबल जर्सी लगाउने ट्रेन्ड चलेको छ ।प्रत्येक चार वर्षमा हुँदै आएको विश्वकप फुटबल प्रतियोगितामा टिनएजर्सदेखि युवापुस्ताले निकै चासो देखाउने गरेको भगवती स्पोट्र्सका व्यापारी सरद धिताल बताउँछन् । उनले जर्सी उत्पादन गरेर होलसेलमा बेच्दै आएका छन् । जर्सी बेच्न थालेको १४ वर्षभन्दा बढी भइसकेको उनी बताउँछन् ।सन् २०१४ को विश्वकपको तुलनामा जर्सीको कारोवार कम भएको उनले सुनाए । ‘यसपाली बाहिरबाट जर्सी आउन नै समय लाग्यो, पछिल्ला वर्षजस्तो यसपटक जर्सीको कारोवार हुन सकेन,’ उनले भने । बजारमा जर्सीको फेसन दुई हप्ता ढिला आएको उनले बताए।

नेपालले विश्वकपमा भौतिक उपस्थिति नजनाए पनि यहाँ खेलसमर्थक थुप्रै छन् । सन् १९८० को विश्वकपयता टेलिभिजनमा विश्वकप प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुन थालेपछि नेपालमा फुटबल क्रेज बढेको जानकार बताउँछन् । फुटबलको क्रेजसँगै विश्वकपमा जर्सीको कारोबार हुने गरेको व्यापारी बताउँछन् ।व्यापारीका अनुसार नेपालमा विशेषगरी अर्जेन्टिना, ब्राजिल, स्पेन, जर्मर्नीको जर्सीको व्यापार राम्रो छ।

पछिल्लो समय नेपाली महिलाहरूको समेत विश्वकपप्रति चासो दिन थालेको व्यापारीहरू बताउँछन् ।धिताल भन्छन्, ‘पछिल्लो विश्वकपमा विश्वकपमा चासो दिने महिला पाँच प्रतिशत पनि थिएनन् । तर, अहिले यसमा चासो देखाउनेहरू लगभग ४० प्रतिशतले बढेका छन्, जुन निकै राम्रो कुरा हो ।’ व्यापारीहरूका अनुसार नेपालमा अर्जेन्टिनी स्टाइकर मेस्सी र पोर्चुगलका स्टाइकर रोनाल्डोलाई समर्थन गर्ने महिलाहरू बढी छन् ।

पसलमा ग्राहकको संख्या पनि दिनहुँ बढिरहेको उनी बताउँछन् । यद्यपि, यसपाली जर्सीको मूल्य अलि महँगो भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सरकारले बजेट भाषणमा राजस्व बढाएकाले जर्सी आयात गर्दा महँगो भएको हो ।’ धितालका अनुसार जर्सीको मूल्य पाँच सय ५० देखि सुरु हुन्छ ।

कुपन्डोलकी रेमा गुरुङ अर्जेन्टिनाकी समर्थक हुन् । सन् २०१४ बाट विश्वकप हेर्न थालेकी उनी यसपालि अर्जेन्टिनाले उपाधि जित्नेमा विश्वस्त छिन् । फुटबलप्रतिको मोह बढ्दा साथीहरू दंग परेको उनी बताउँछिन् ।‘सुरुमा फुटबलप्रति त्यति क्रेज थिएन । तर, घरमा भाइले हेर्न थालेपछि मलाई पनि लत लाग्यो,’ उनले सुनाइन् । उनी मेस्सीकी फ्यान हुन् । जर्सी किन्ने गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘बजारमा विभिन्न खालका जर्सी आएका छन् । ‘ए’ ग्रेडको राम्रो हुन्छ भनेर किन्न लागेकी हुँ ।’ शरीरको साइजभन्दा ठूलो भए फिटिङ बनाउन दिने उनले बताइन्।

हिजोआज आममानिस मात्रै होइन, कलाकारहरूले समेत मनपर्ने टिम तथा खेलाडीको जर्सी लगाएको देख्न सकिन्छ । कतिले जर्सी लगाएर सामाजिक सञ्जालमा तस्बिर अपलोड पनि गरेका छन् ।पारिजात ई सपका सञ्चालक बैभब पान्डेले अनलाइनमा जर्सी बेच्छन् । उनले भर्खरै जर्सी बेच्न सुरु गरेका हुन् । विश्वकप नजिकिएसँगै जर्सीको बजार तातेको उनी बताउँछन्।

उनी भन्छन्, ‘नेपालीमा फुटबलप्रतिको मोह निकै देख्न सकिन्छ । यसमा २५–३४ वर्षका युवाको रुचि छ ।’ पोलेस्टरबाट बनाइने जर्सीको गुणस्तर भने खस्किएको उनी बताउँछन् । उनी जर्सी किन्दा यसको गुणस्तरमा ध्यान दिन सुझाउँछन् । उनी भन्छन्, ‘ग्राहकले जर्सीको गुणस्तर थाहा नपाउँदा ठगिने सम्भावना हुन्छ । यसबारे एक–दुई कम्प्लेन पनि आएको छ ।’ जर्सी व्यापारमा निकै प्रतिष्पर्धा भएको उनी बताउँछन् ।रुसमा जेठ ३१ गतेदेखि सुरु हुने प्रतियोगितामा ३२ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिता एक महिनासम्म चल्नेछ।

फुटबल टिमका नाममा सामाजिक सञ्जालहरूमा पेज तथा गु्रप बनाउनेको लहर पनि बढ्दो छ ।सामाखुसीका प्रज्जवल पान्डे टिम ब्राजिल नेपाली फ्यान्सका एड्मिन हुन् । उनले यो पेज सञ्चालन गरेको पाँच वर्ष भयो । ब्राजिलको फ्यान भएकाले यो पेज चलाउन सुरु गरेको उनी बताउँछन् । यो पेज उनीसँगै रूपेश पान्डेले पनि सञ्चालन गरिरहेका छन् । प्रज्जवल भन्छन्, ‘ब्राजिल समर्थकहरू एक भएर ब्राजिलको सपोर्ट गर्छौं । र, नयाँ कुरा अपडेट गर्छाैं ।’ असार ४ गते ब्राजिल र स्विजरल्यान्ड बीच हुन लागेको खेल हेर्न उत्साहित रहेको उनी बताउँछन्।

न्युरोडस्थित जर्सी पसल नेपालका सुयोग श्रेष्ठलाई अचेल जर्सी बेच्न भ्याइनभ्याइ छ । उनी दिनभरि पसलमा जर्सी बेच्नमा व्यस्त हुन्छन् । ‘जर्सीको सिजन नै यही हो,’ उनी भन्छन्, ‘सातायता जर्सीको व्यापार निकै राम्रो भएको छ ।’१४ देखि ३५ वर्षसम्मका मानिस जर्सी किन्न आउने गरेको उनी बताउँछन् । ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, स्पेन, फ्रान्स, बेल्जियमलगायत देशका जर्सीहरू बढी बिक्री हुने गरेको उनले बताए ।

उनी भन्छन्, ‘अहिले खेलप्रति निकै क्रेज बढेको छ । जर्सी लगाएर नै खेलाडीको सपोर्ट गर्नेको संख्या बढेको छ । जर्सी लगाउनु त फेसन नै भइसक्यो ।’ बजारमा उपलब्ध जर्सी विभिन्न ग्रेडमा उपलब्ध रहेको उनले बताए । उनका अनुसार ‘ए’ ग्रेडको अलि राम्रो हुने र ‘बी’ ग्रेडको अलि कम गुणस्तरको हुन्छ।

बागबजारका प्रमोद घिमिरेले स्पेनको टिसर्ट लगाएर हिँड्न थालेको दुई साता भइसक्यो । स्पेनका समर्थक उनलाई दाइले जर्सी उपहार दिएका हुन् । १० वर्षदेखि फुटबल हेर्न थालेका उनी फुटबल खेलाडी पनि हुन् । ‘म स्पेनको समर्थक हुँ,’ उनी भन्छन्, ‘त्यसकारण यसपालि स्पेनले विश्वकपको उपाधि जित्ला भन्नेमा विश्वस्त छु ।’ विश्वकप प्रतियोगिताप्रति निकै उत्साहित रहेको उनले सुनाए।

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App