८ वैशाख २०८१ शनिबार
अन्य

उपत्यकाका पुराना नाचको एकल साँझ

कात्तिक नाचका एक चर्चित पात्र हुन्, स्वजन रघुवंशी (२७) । कात्तिक महिनाभरी चल्ने नाचमा उनी विभिन्न भगवान भेषमा मञ्चमा देखापर्छन्  । चार बर्षदेखि उनी रुकमिणी, कुमार, अप्सरालगायतको अभिनय गर्दै आएका छन् ।

पुराना नाचमा अभिनय गर्दै आएका तीनै रघुवंशीले उपत्यकाका चर्चित नाचहरु जर्गेना गर्न लागेका छन् । कात्तिक ३ गते उनी उपत्यकामा लोप हुँदै गरेका सयौं बर्ष पुराना नृत्य÷नाचको एकल साँझमार्फत अभिनय देखाउँदैछन् । नेपालमै पहिलो पल्ट उनको यो ‘स्वजन रघुवंशी एकल साँझ’ हुन लागेको हो ।एकल साँझमा उनले पुराना नृत्यलाई रोजेका छन् । ‘मैले प्रस्तुत गर्न लागेका नाच ३ सय ८० वर्ष पुराना परम्परागत नाच छन् । त्यसमा कार्तिक नाच, चर्या नृत्य, झ्याउरे, भरतनाट्यम, कत्थक, साल्सा नृत्यलगायत छन्,’ उनी भन्छन्, ‘यी नाचका केही अंशहरु मैले एकल नृत्यमा देखाउने छु।’

उनले एकल साझँमा १५ मिनेट अवधिको कत्थक नृत्य प्रस्तुत गर्नेछन् । यो नृत्य धेरै अहिले लोप हुने अवस्थामा पुगेको नृत्यमध्ये पर्छ । वाद्यवादनको बेजोड प्रस्तुती रहने नृत्य विभिन्न सञ्चार माध्यमबाट लाइभ गरिनेछ ।

एकल नृत्यमा त्यसका व्यवहारीक र सैद्धान्तिक पक्षमाथि अभिनय रहने उनको भनाई छ । ‘मैले बुझेका, पढेका र अघिल्लो पुस्ताबाट सिकेका नाच एकै ठाउँमा मञ्चन गर्नेछु,’ उनले भने, ‘कार्यक्रममा अग्रज नृत्य कलाकार र संस्कृतिविद्को पनि सहभागीता रहन्छ, यस्तो कार्यक्रमले नेपालका कला संस्कृति प्रचारप्रसारमा मुख्य भूमिका निर्वाह गर्न सक्छ।’  

अभिनय उनको बाल्यकालदेखिको रुची हो । सानो छँदा टोल–टोलमा हुने जात्रा पर्वहरु उनी अभिनय देखाउँथे । अघिल्लो पुस्ताले सिकाउने हरेक सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन्थे । आफ्नो रुची पूरा गर्न उनी व्यवहारिक रुपमा मात्रै लागेनन्, आफ्नो अध्ययन पनि नृत्य र कला क्षेत्रमै अघि बढाए ।

उनी कत्थक नृत्यमा जुनियर डिप्लोमा साथै सिनियर डिप्लोमामा स्वर्ण पदक हासिल गरेका कलाकार हुन् । उनी श्रृजना कलेज अफ फाइन आर्टमा पनि ब्याचलर अफ फाइन आर्टमा उत्कृष्ट विद्यार्थी हुन् ।पुराना नाचँलाई नयाँ पुस्ताले भुलेकाले ती नाचको जर्गेनामा उनी एकल साँझ आयोजना गर्न लागेका छन् ।

असार ३ गते राष्ट्रिय नाचघर हुने एकल साझँका लागि उनले पुराना नाच र नृत्य समावेश गरेका छन् । यी नाच छनोट गर्न उनी संस्कृतिविद् र पुराना कलाकारको सहायता लिएका थिए । उनको एकल साझँलाई नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले सहयोग गरिदिने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको नृत्य विधा अन्र्तगतको एकल साँझ हो । ‘मेरो सानैदेखिको रहर यहाँका कला र संस्कृति क्षेत्रमा रम्नु हो,’ उनी भन्छन्, ‘त्यसैले नेपालमै पहिलोपल्ट यस्तो नृत्य आयोजना गर्दैछु, यसले नयाँ पुस्तालाई हाम्रो संस्कृति बुझाउनु छ।’

कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले यो प्रतियोगितामा पुराना नाचहरुको केही झलक वा अंश मात्रै प्रस्तुत गरिने बताए । ‘एकल साझमा देखाउने केही नाचहरु कुनै सिजनमा देखाउनेमध्ये पर्छन, त्यसैले ती नाचको थोरै अंश मात्रै एकल साझँमा प्रस्तुत हुन्छ ।’ उनका अनुसार कार्तिक नाचको पुरा अंश पाटनको कात्तिक डबलीभन्दा बाहिर देखाउन पाइँदैन ।

यदी देखाउनु परेका कार्तिक नाच संरक्षण समितिसँग स्वीकृति लिएर मात्रै केही अंश देखाउने पाइन्छ । एकल नृत्य साझमा नाचको केही अंश देखाउँदा त्यसले नाचको जर्गेना गर्न मद्दत पुर्याउने उनको भनाई छ।

उनको एकल साझँमा कार्तिक महिनामा ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा मात्र हेर्न पाइने कार्तिक नाच दर्शकले हेर्न पाउनेछन् । असार ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ मा विभिन्न पुराना नाचहरुको अंश प्रस्तुत गरिने छ ।

लोपोन्मुख नृत्यहरुको संरक्षण र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान गराउने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको रघुवंशीले जानकारी दिए । वर्षीय कलाकार रघुवंशीले देशमा साथै विदेशमा समेत विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन् । उनी आफूले नृत्यको बारे अध्ययन गरेकोले नृत्य सम्वन्धि विभिन्न कार्यशालामा श्रोत व्यक्तिको रुपमा समेत काम गर्दै आएका छन् ।

 

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App