७ वैशाख २०८१ शुक्रबार
समाज

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

धादिङ- गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम। उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारी राजमार्ग छेउका रेष्टुरेन्टमा रोकिने गर्दछन्। गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन्। भोक, प्यास मेटाउन रेष्टुरेन्टले जति मूल्य भन्यो यात्रुहरुले त्यति नै तिर्न बाध्य हुन्छन्।

पृथ्वी राजमार्ग छेउछाउमा संचालनमा रहेका रेष्टुरेन्टमा मूल्य बढी लिएको भन्ने जनगुनासो दिनहुँ आउने गरेका छन्। न सरसफाई, न मूल्य सूची यस्तै कुराले राजमार्ग हुँदै यात्रा गर्नेहरु आजित भइसकेका छन्। यात्रुहरुले होटलमा पसेर खानेकुरा खाँदा आफुहरु ठगिनु परेको, खानाको बारेमा सोधपुछ गर्दा उल्टै र्दुव्यवहार समेत सहनु परेको काठमाडौँ जाँदै गरेका धादिङबेसीका रामजी अधिकारीले बताए। होटल मालिकको मिलेमहतोमा नै यात्रुहरु ठगीने गरेको यात्रुहरुको भनाई छ। 

राजमार्ग क्षेत्रमा बस तथा माईक्रोबसहरुले खाजा खाना खुवाउने अधिकांश रेष्टुरेन्टले खुवाउने खानामा मिसावट भेटिने गरेका छन्। बाहिरबाट टिलिक्क देखिएका होटलको पनि खानामा भने गुणस्तर नभएको उपभोक्ताहरुले गुनासो छ। रेष्टुरेन्टले किचन र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएका छन्।

पृथ्वी राजमार्गको नौविसेदेखि वेनिघाट आसपासका रेष्टुरेन्टले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको धेरै गुनासोहरु आउने गरेका छन्। राजमार्गका रेष्टुरेन्टले दुषित खाने कुरा खुवाउने गरेको गुनासो आएपनि अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका संयोजक धोलकराज ढकालले त्यस्तो नभेटिएको प्रतिकृया दिएका छन्। ‘पहिलेको तुलनामा केही मात्रामा होटलहरु सुध्रिएका छन्’ ढकालले भने, अटेरी गर्ने  होटलवालाको नामावली तयार पारी कारबाहीको सूचीमा राखेका छौँ।’

राजमार्गका रेष्टुरेन्टलाई शुद्ध र सफा बनाउन जिल्ला प्रशासन कार्यालय धादिङ, वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत बेला बेला अनुगमन गर्ने गरेको भएपनि त्यसको खासै प्रभाव देखिएको छैन्। अनुगमनमा परेका अधिकांश होटल फोहोरी भेटिएका छन्। अनुगमनका क्रममा सरसफाइमा ध्यान दिन, मूल्यसूची राख्न, दर्ता र नवीकरण गर्न, म्याद नाघेका सामान बिक्री नगर्न निर्देशन दिँदै आए पनि व्यवसायीले त्यसको पालना गरेका छैनन्।

अनुगमनको क्रममा तर अधिकांश रेष्टुरेन्टमा खानेकुरा नछोपी राखेको, यात्रुलाई वितरण गर्ने खाना र फोहोर छेउमै राखेको फेला परेको थियो। फ्रिजमा राखेको अचार र धनिया लथालिंग अवस्थामा भेटिएको थियो ।

धादिङका अनुगमन टोलीले एकसाता लगाएर गरेको अनुगमनका क्रममा बजारमा म्याद नाघेका खाद्य पदार्थ बरामद समेत गरेको छ। प्रशासनले अनुगमनका क्रममा मात्रै नभई निरन्तर रुपमा यस्ता विषयलाई निगरानी राखिरहनुपर्ने स्थानीयहरुले बताएका छन्। आर्थिक वर्षको अन्तमा अनुगमनको बहानामा भएका बजेट सकाउन अनुगमन गरेको स्थानीयले आरोप लगाएका छन्।

 

 

 

प्रकाशित: २७ जेष्ठ २०७५ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App