८ वैशाख २०८१ शनिबार
अन्य

कन्फ्युसियसको काखमा

‘कतै टाढाबाट मित्रहरू हामीलाई भेट्न आए भने त्योभन्दा आनन्द के हुन सक्छ र ?’ चिनियाँ दार्शनिक एवं शिक्षाविद् कन्फ्युसियसका यी पंक्ति कम्ती लोभलाग्दा छैनन्।

चिनियाँहरूले आफूलाई पाहुनाको स्वागतमा कन्फ्युसियसका यी पंक्तिलाई शिरोधार्य गरेको महसुस हुन्छ अचेल । यी महान् चिन्तकको जन्मस्थल चीनको सान्दोङ प्रदेशस्थित चुफुमा पुग्दा मनैभरि कन्फ्युसियसका ‘राइटियसनेस’ अर्थात् ‘नीतिपरायण’ हुनुपर्छ भन्ने भावना खेलिरहेको अनुभूति हुन्छ । यी महामना के रहेछन् भनेर बुझ्न यसअघि उनका बारेमा थाहा नपाएका जोसुकैलाई कर लाग्छ।

करिब २५ सय वर्षअघि जन्मिएका यी चिन्तकले जहिल्यै व्यक्तिको नीतिपरायणतामा जोड दिएको पाइन्छ । हाम्रा बुद्ध र कन्फ्युसियसको समय करिब उस्तै रहेको छ । तर, अचेल चीनले कन्फ्युसियसलाई आफ्नो जीवन पद्धति बनाएको देखिन्छ । समृद्ध र नयाँ चीनले आफ्ना चिन्तकलाई संसारभरि गौरवसाथ चिनाउन थालेको अनुभूति पनि हुन्छ ।हामीले भने बुद्धलाई आत्मसात् गर्नै सकेनौँ । ‘बुद्ध वाज बर्न इन नेपाल (बुद्ध नेपालमा जन्मेका हुन्) भन्ने टिसर्ट लगाउनमै सीमित भयौँ । स्थापित सत्यप्रति पनि हामीलाई शंका छ र हामी त्यसलाई सत्य प्रमाणित गरी गिनिज बुकमा लेखाउन अभिशप्त छौँ । चीनले भने कम्युनिस्ट शासनसत्ता आएपछि झन्डै लुप्त अवस्थामा रहेका कन्फ्युसियसलाई ‘ब्रान्ड’का रूपमा प्रस्तुत गर्न थालेको निकै भइसकेको छ।

चीनले कन्फ्युसियसका आदर्शलाई संसारभरि प्रवर्द्धन गर्न सकेका बेलामा हामी भने हाम्रा बुद्धलाई आत्मसात् गरेर वास्तविक बुद्धभूमिको परिचय दिन चुकेको महसुस हुन्छ । कन्फ्युसियसको ७२ मिटर अग्लो प्रतिमा देख्दा समेत मनमा बुद्धमाथि आफ्नो मुलुकले न्याय गर्न नसकेको अनुभूति भइरहन्छ । जब कि माओकालीन चीनमा कन्फ्युसियसका मूर्ति तोडफोड गरिएका थिए । अहिले चीनले कन्फ्युसियस प्रेमलाई ह्वात्तै बढाएको छ।

सबै ठाउँमा चिनियाँ, रसियाली र अंग्रेजी भाषालाई माध्यम बनाइएको थियो । अझ रोचक त एससिओ मिडिया सम्मेलनको मुख्य ब्यानर नै रसियाली भाषामा लेखिएको थियो । आफ्नो भाषाको भन्दा पनि पाहुनाको भाषालाई प्राथमिकता दिएको देखियो । अहिले स्थानीय युवायुवतीमा चिनियाँ भाषाबाहेक रसियाली र अंग्रेजी भाषाप्रतिको ठूलो आकर्षण देखिन्छ । विश्वविद्यालयमा पढ्दै गरेका तिनै युवायुवती पाहुनाको सेवामा स्वयंसेवक बनेर खटिएका थिए ।

चिनियाँ समाजको समृद्धि र सुसंस्कृत व्यवहारमा कन्फ्युसियसको ठूलो प्रभाव रहेको छ । झन् विश्व मानचित्रमा आफूलाई उदीयमान शक्तिका रूपमा उभ्याएको चीनका लागि कन्फ्युसियस दर्शनले झनै विनयी बनेर अघि बढ्न मार्गदर्शन गरेको छ । चीनले गर्ने कूटनीतिक व्यवहार, छिमेकीप्रतिको सद्भाव र समृद्धि यात्रामा आफ्नो निरन्तरको लगावमा कन्फ्युसियस दर्शनको झलक पाउन सकिन्छ । एक हिसाबले चीनले कन्फ्युसियसलाई आफ्नो ऐतिहासिक पहिचानका रूपमा अघि बढाउन थालेको देखिन्छ।

‘छरछिमेकलाई शिष्टतापूर्ण गुणले अत्युत्तम र सुन्दर बनाउँछ,’ कन्फ्युसियसले भनेका छन् । उनका उक्तिलाई आजको राजनीतिक परिदृश्यलाई चित्रित गर्न पनि अचेल चिनियाँहरूले उत्तिकै उपयोग गर्छन् । कुनै बेला माओका ‘रेडबुक’बाट उद्धृत गरिएका पंक्तिलाई कण्ठस्थ गर्ने चिनियाँका लागि अहिले कन्फ्युसियस अनिवार्य आवश्यकताजस्तै बन्न पुगेका छन् । तदनुरूप नै कन्फ्युसियसका विचारलाई सूत्रबद्ध रूपमा प्रकाशित गर्ने र तिनलाई वितरण गर्ने गरेको पाइन्छ।

कुनै पनि व्यक्ति, संस्था वा देशले प्रगति गर्न थालेपछि अलि बढी अहं भावना जागृत हुन थाल्छ । तर, त्यो प्रगतिसँगै विनयशील हुन सक्दा थप प्रगतिका निम्ति बाटो तयार हुन्छ । त्यति मात्र होइन, त्यसले आह्रिस गर्नेहरूलाई समेत मौका दिँदैन । चीनले छिमेकीसँग गर्ने व्यवहारमा यही फरकपन देखिन्छ । उसले खुलेर आन्तरिक राजनीतिमा हात हाल्दैन र प्रतिक्रिया पनि हतपती व्यक्त गर्दैन । यसले तनाव कम गर्न सहयोग पुग्छ ।चीनले आफ्नो उच्च व्यावसायिक छविका साथ आफूलाई अघि बढाइरहेको छ । अझ त्यसमा पनि अहिलेका राष्ट्रपति सी चिनफिङको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गत प्राचीन रेशम मार्गलाई पुनः कार्यान्वयन गर्न थाल्ने क्रममा कन्फ्युसियस दर्शनलाई पूरै आत्मसात् गर्न खोजेको देखिन्छ।

चीनको राजधानी बेइजिङमा गत साता आयोजित पहिलो सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) मिडिया सम्मेलनका सहभागीलाई कन्फ्युसियसप्रतिको त्यही महत्ता दर्शाउन चुफुमा पुर्याइएको थियो । स्मरणीय के छ भने एससिओ नामक संस्था पश्चिमा मुलुकहरूले बनाएको नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) जस्तै समानान्तर महत्वको संस्थाका रूपमा चीनले अगाडि बढाइरहेको छ । यसमा नेपाल सदस्य भइसकेको छैन । सदस्यताका लागि आवेदन गरेको हुँदा अहिले पर्यवेक्षकका रूपमा निम्त्याइने गरिएको छ । विशेषगरी बिआरआईमा पर्ने मुलुकलाई यसमा सहभागी गराउन खोजेको देखिन्छ।

कुनै पनि व्यक्ति, संस्था वा देशले प्रगति गर्न थालेपछि अलि बढी अहं भावना जागृत हुन थाल्छ । तर, त्यो प्रगतिसँगै विनयशील हुन सक्दा थप प्रगतिका निम्ति बाटो तयार हुन्छ । त्यति मात्र होइन, त्यसले आह्रिस गर्नेहरूलाई समेत मौका दिँदैन । चीनले छिमेकीसँग गर्ने व्यवहारमा यही फरकपन देखिन्छ । उसले खुलेर आन्तरिक राजनीतिमा हात हाल्दैन र प्रतिक्रिया पनि हतपती व्यक्त गर्दैन ।

एससिओमा सहभागीलाई कन्फ्युसियसको जन्म क्षेत्रमा लैजानुमा पनि मित्रताको उच्च महत्व देखाउनु हो भन्ने अनुमान गर्न कठिन छैन । बेइजिङबाट करिब आठ सय किलोमिटर टाढा रहेको सान्दोङ प्रान्तस्थित चुफुमा रहेको कन्फ्युसियस प्रतिमा, उनकै नाममा खोलिएका रिसोर्ट र उनका उक्तिहरूलाई पुनः क्यालिग्राफी लगायतबाट प्राचीन चीनको अनुभव गर्ने केन्द्र स्थापना गरेर डाँडालाई हराभरा बनाइएको छ । कम्तीमा त्यहाँ पुग्ने पाहुनाले कन्फ्युसियसका उक्तिबारे अध्ययन गरेर आफूलाई जानकार बनाउने अवसर पाउँछ।

त्यसो त हामीकहाँ कन्फ्युसियसलाई स्कुलका पाठ्यक्रममा राखेर पढाउने गरिएको थियो । विशेषगरी पत्रकारिताका विद्यार्थीले मिडिया आचारसंहिताबारे पढ्ने क्रममा कन्फ्युसियसलाई समेत पढ्नुपर्छ । कन्फ्युसियसबारे तिमीलाई के जानकारी छ भनेर चिनियाँहरूले सोध्दा मैले भनेँ, ‘उनका बारेमा हामीले स्कुलमै पढेका थियौँ ।’उनीहरूका निम्ति त्यो जानकारी निकै सुखद रह्यो।

बेइजिङबाट आठ सय किलोमिटर टाढाको दूरी पार गर्न तीव्र गतिको रेललाई दुई घन्टाजति लागेको थियो । हामीसँग पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको सडक यात्रा पार गर्न २४ घन्टाभन्दा बढी लाग्ने अनुभव छ । यत्रो लामो दूरी यति चाँडै अत्यन्त सुविधाजनक ढंगले पार हुँदा हाम्रा निम्ति भने अचम्मैको अनुभूति हुँदो रहेछ ।

नहोस् पनि कसरी ? ३३ किलोमिटर लामो नारायणगढ मुग्लिन सडक खण्डको पहिलो कालोपत्रे गर्ने काम सकिँदा त हामीले राष्ट्रिय सञ्चारमाध्यममा मुख्य समाचार बनाउनुपर्ने आश्चर्यजनक अवस्था छ । हाम्रै दक्षिणको छिमेकी भारतले दैनिक ३० किलोमिटर सडक निर्माण गर्छ भन्दा हामीलाई झन् कति आश्चर्य लाग्छ।

चीनले आफ्नो मुलुकको फैलावटलाई रेल यात्राको माध्यमबाट साँघु¥याएको छ । नाक चुच्चे रेलको सपना देखिरहेका हामी जब हाई स्पिड सिआरएच ट्रेनको मुख्यालयमा पुग्यौँ, त्यहाँको दृश्यले अत्यन्तै आल्हादित भयौँ । हामी मात्र होइन, बिआरआईमा समेटिने नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान हुँदै सेन्ट्रल एसियाका काजकस्तान, किर्गिजिस्तान, उज्वेकिस्तानसम्मका मुलुकका सहभागीका निम्ति समेत रेल अत्यन्तै रोचक विषय रह्यो ।रेल्वे कर्मचारीले यसको संरचनाबारे जानकारी दिए । देशभरि यसको सञ्जालको ‘प्रोटोटाइप’ देखाउँदै तिनले व्याख्या गर्दा हाम्रो मन भने आ–आफ्नो देशमा रेल गुडिरहेको सपना देखिरहेको थियो ।

अझ रोचक त रेलको मर्मत गर्ने कारखानाको भ्रमणबाट भयो । मर्मत गरिरहेको रेलको डब्बामा छिरेर हेर्न आयोजकले अनुमति दिएपछि सबै त्यतातिर लागे ।केही छिनपछि त्यही उच्च गतिको ट्रेनले हामीलाई चुफुतर्फ लिएर हुइँकिएको थियो । कन्फ्युसियस जन्मेको ठाउँमा पुगेपछि त्यहाँका स्थानीय पार्टी प्रमुख, नगरपालिका प्रमुख र संस्थाका सञ्चालकले स्वागतमा भाषण गरे । यसपटक पाहुनाप्रतिको हार्दिकता चिनियाँ पक्षबाट झनै धेरै प्रदर्शन गरिएको थियो।

सबै ठाउँमा चिनियाँ, रसियाली र अंग्रेजी भाषालाई माध्यम बनाइएको थियो । अझ रोचक त एससिओ मिडिया सम्मेलनको मुख्य ब्यानर नै रसियाली भाषामा लेखिएको थियो । आफ्नो भाषाको भन्दा पनि पाहुनाको भाषालाई प्राथमिकता दिएको देखियो । अहिले स्थानीय युवायुवतीमा चिनियाँ भाषाबाहेक रसियाली र अंग्रेजी भाषाप्रतिको ठूलो आकर्षण देखिन्छ । विश्वविद्यालयमा पढ्दै गरेका तिनै युवायुवती पाहुनाको सेवामा स्वयंसेवक बनेर खटिएका थिए।

समृद्धि यात्रामा रहेको चीनले आफूलाई विश्व नेतृत्वकर्ताका रूपमा उभ्याउँदै आएको छ । त्यसका लागि उसले तयारी पनि आफ्नो हिसाबले थालिसकेको देखिन्छ । रसियाली भाषाको प्रयोगमा आफ्ना नागरिकलाई पोख्त पारेपछि भविष्यमा सेन्ट्रल एसियाली देशमा सञ्चालन हुने आयोजना सञ्चालन पनि सहज हुने देखिन्छ । त्यति मात्र होइन, चिनियाँ केन्द्रीय टेलिभिजन सिसिटिभीले रसियाली भाषाको एउटा च्यानल नै २४सै घन्टा चलाउन थालिसकेको छ । देश ठूलो र समृद्ध हुँदै गएपछि अरुका भाषाप्रति पनि कसरी ध्यान दिनुपर्छ भन्ने यो राम्रो सन्देश हो।

चुफु इस्ट रेल्वे स्टेसनमा हामीलाई लिन आएका स्थानीय प्रतिनिधिको तयारी कम रोचक थिएन । पाहुनाका निम्ति अलिकति पनि असजिलो नहोस् भन्नेमा ती हमेसा तत्पर रहन्थे । बसमा चढ्नेबित्तिकै आफ्नो प्रान्तको विशेषता झल्किने वृत्तचित्त हेर्न उनीहरूले आग्रह गरे । त्यसलगत्तै उनीहरूले निसान एकेडेमिया होटलमा पुर्याएर कन्फ्युसियसबारे बताएका थिए।

‘वेलकम टु द होम अफ कन्फ्युसियस सान्दोङ, चाइना’ अर्थात् कन्फ्युसियसको गृह सान्दोङ, चीनमा स्वागत छ भन्ने वाक्य उनीहरूको मुखैमा झुन्डिएको थियो । वास्तवमै चीनले कन्फ्युसियसलाई आफ्नो मुलुकको नयाँ ब्रान्डका रूपमा प्रस्तुत गर्न थालेको यसबाट अनुभव गर्न सकिन्थ्यो । विगतमा कन्फ्युसियसप्रति नकारात्मक भावना प्रकट भएको पाइन्थ्यो । त्यति मात्र होइन, उनलाई रुढीवादको प्रतीकका रूपमा समेत लिने गरेको देखिन्थ्यो । तर, अहिले कन्फ्युसियसप्रति सम्मान गर्न कुनै कसर बाँकी राखेको देखिएन।

चीनबाट सिकेर कुनै दिन हाम्रो मुलुकले पनि आफ्ना पुराना परम्पराप्रति गर्व गर्न थाल्यो भने अनौठो नमाने हुन्छ । हामीकहाँ मुलुकको एकीकरणकर्ता पृथ्वीनारायण शाहदेखि नेपाली भाषामा रामायण लेख्ने भानुभक्त आचार्यप्रति व्यक्त हुँदै आएको वैरभाव एक दिन कम भएर जानुपर्ने अवस्था छ । आखिर मुलुकलाई चिनाउन एकीकरणकर्ता, चिन्तक, साहित्यकार आदिलाई प्रयोग नगरी सुखै छैन । हाम्रा निम्ति त अरु कोही चाहिँदैन, बुद्ध एउटालाई आत्मसात् गर्ने, बुद्ध जन्मस्थललाई हेरौँ–हेरौँजस्तो राम्रो तुल्याउने हो भने संसार हामीसँग जोडिन लालायित हुन्छ । जसरी कन्फ्युसियसका उद्धरणले हामीलाई तान्छ, बुद्ध शिक्षालाई पनि स्कुलको पाठ्यक्रमदेखि घरघरसम्म पुर्याउन सके झनै हामीलाई समृद्ध जातिका रूपमा चिनाउनेछ।

संसारको प्राचीनतम मध्येको एक चिनियाँ संस्कृति हो । कागजदेखि अनेकन् मेसिनसम्मको आविष्कार गरेर नाम कमाएको चीनको इतिहास पाँच हजार वर्षभन्दा पुरानो मानिन्छ । उसले आफ्नो मुलुकको पहिचानका निम्ति कन्फ्युसियसलाई अघि सार्नुको पछाडि पक्कै पनि कारण छन् । उनकै नाममा संसारभरि चिनियाँ भाषा सिकाइने कन्फ्युसियस केन्द्र समेत सञ्चालित छन् ।
चीनले कम्युनिस्ट सिद्धान्तको निर्यातमार्फत आफ्नो शक्ति विस्तार गर्न खोजेको भए त्यो विवादास्पद हुने थियो।

कन्फ्युसियसमार्फत चीनले आफ्नो ‘सफ्ट पावर’को विस्तार गर्न थालेको हो । तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले २०११ को जनवरी १८ मा अमेरिकाको भ्रमण गर्नुअघि तियानमेन स्क्वायरमा कन्फ्युसियसको मूर्ति राख्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो । त्यो बेला गैरकम्युनिस्ट नेताको मूर्ति त्यहाँ राख्ने चलन थिएन । माओलाई मात्र त्यहाँ राख्ने गरिएको थियो ।यी वर्षमा चीनले कन्फ्युसियसलाई आफ्नो आदर्शका रूपमा प्रस्तुत गर्दा अनौठो हुन छाडिसकेको छ । निसान एकेडेमिया होटलले त पाहुनालाई कन्फ्युसियसकै समयको अनुभूति गराउन थालिसकेको छ । पाहुनाहरूलाई कन्फ्युसियसकै बेलाका जस्ता पोसाक लगाउन दिई राजसी ढंगको रात्रिभोजमा सरिक गराइन्छ।

रात्रिभोज कक्षमा प्रवेश गर्दा विशेष सांस्कृतिक विधि अपनाइन्छ । तत्कालीन हान वंशको शासनका बेला अपनाइने भोजन विधिमा पाहुना रमाउँछन् । त्यसैगरी कन्फ्युसियसको सालिक रहेको भव्य स्थलमा परम्परागत विधिपूर्वक उनीप्रति सम्मान प्रकट गरिन्छ । यसका लागि एउटा समूहले रोचक किसिमले पाइला चाल्दै मूर्ति भएको ठाउँसम्म पुग्छ । पाहुनाले पनि यसलाई पछ्याउँछन् ।
निसानले कन्फ्युसियसका उक्ति चिनियाँ क्यालिग्राफीको प्रयोगबाट लेख्ने व्यवस्था समेत मिलाएको छ । पाहुनाले ती कलात्मक अक्षर लेख्ने तरिका सिक्छन् । तिनलाई प्रोत्साहित गर्न स्वयंसेवीहरू उपस्थित हुन्छन्।

कन्फ्युसियसको भव्य मूर्ति राखिएनजिकै कन्फ्युसियस र कोङ परिवारका पुराना दरबार, मन्दिर र अन्तिम सतगत स्थलको भ्रमणबाट पनि पुरानो चिनियाँ सभ्यता नियाल्ने मौका मिल्छ । नी पहाडमा जन्मेका कन्फ्युसियसकै कारण अहिले यी ठाउँलाई चीन सरकारले पर्यटन प्रवद्र्धनका निम्ति पनि अघि सारेको अनुभूति हुन्छ । निर्माणकार्य अझै पूरा नभइसकेका कारण विदेशी पाहुनालाई त्यहाँ लैजान थालिसकेका छैनन् । मिडिया सम्मेलनमा आएका पाहुनाका निम्ति भनेरै त्यहाँको भ्रमण व्यवस्था मिलाइएको हो । यी स्थान अझै खुलिनसकेको त्यहाँ कार्यरत व्यक्तिले जानकारी दिए।

आजभन्दा १६ वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको १६औँ पार्टी कंग्रेसको समाचार संकलनका लागि पुग्दाको चीन र आज कन्फ्युसियस विचारलाई प्रवद्र्धन गरिरहेको चीनको बीच ठूलो अन्तर देखिन्छ । मानिसहरू झन् धेरै खुल्दै गएका देखिन्छन् । चीन बिस्तारै माओको मुलुकबाट कन्फ्युसियसको मुलुक बन्ने बाटोमा अघि बढेको छ । आखिर मुलुकको ‘सफ्ट पावर’ विस्तार हुने नै यसरी हो।

र, अन्त्यमा फेरि कन्फ्युसियसको एउटा उक्ति –‘गुणयुक्त भलादमी मानिससँगको सम्बन्ध शुद्ध पानीजस्तै पवित्र र बोधगम्य हुन्छ भने खराब मानसिकता भएका मानिससँगको सम्बन्ध चिनीले छोपेको र ठस्स गनाउने सस्तो स्विट वाइनजस्तो हुन्छ ।’

प्रकाशित: २६ जेष्ठ २०७५ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App