coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महिला उद्यमी भन्छन् – मानसिकता बदल्नुपर्छ

धनकुटाकी शर्मिला राई १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छिन् । उनले जिल्लाका दुई पुल र मध्यपहाडी सडक आयोजनामा काम गरिसकिन् ।

साना तथा मझौला व्यावसायी महासंघको १५ औं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना भयो । सोही कार्यक्रममा सहभागी हुन राजधानी पुगेकी उनी महिलाप्रति हेर्ने मानसिकता परिवर्तन नभएको बताउँछिन् ।धनकुटाकी उद्यमी शर्मिला राई अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको सुनाउँछिन् । ‘राज्यले पुरुष र महिलालाई समान त भनेको छ । तर, व्यवहारमा त्यो देखिँदैन,’ १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न उनले भनिन्, ‘महिलाले गर्न सक्छन् र ? भन्ने मानसिकता अझै हटेको छैन ।’

महिलाप्रतिको सोचमा परिवर्तन नआएसम्म उद्यममा अगाडि बढ्न नसक्ने उनको भनाइ छ । उनका अनुसार महिला उद्यमीको लागि सीप, पूँजी, बजार व्यवस्थापन तथा पारिवारिक समस्या छ । महिलालाई व्यवसाय सुरु गर्न पनि असहज र गरे पनि सफल हुनुपर्ने सामाजिक दबाब भएको उनको बुझाइ छ ।

केही गरी व्यवसाय असफल भए त्यसले पारिवारिक समस्या निम्त्याउने उनको भनाइ छ । ‘पुरुषले एक करोड नोक्सानी गरे पनि सह्य हुने तर, महिलाले एक लाख नोक्सान गर्याे भने ‘बढ्ता जान्ने भाकी’ भन्ने गरिन्छ,’ उनले भनिन्, ‘त्यसले पनि महिलालाई उद्यमतर्फ पाइला चाल्न असजिलो बनाएको छ ।’ राईले जिल्लामा दुई पुल निर्माण र मध्यपहाडी लोकमार्गमा काम गरिसकिन् ।सो अवसरमा ‘नेपाली समाजमा महिला उद्यमीलाई व्यवसाय गर्ने वातावरण’ विषयक गोष्ठी आयोजना गरिएको थियो । उनीहरूले राज्यस्तरबाट समानताको कुरा भए पनि महिलाहरूप्रतिको सामाजिक सोचाइमा अझै परिवर्तन आउन नसकेको सुनाए ।

‘महिलालाई हेर्ने सामाजिक सोचमा अझै परिवर्तन आउन सकेको छैन,’ अर्का उद्यमी भीमा खनालले भनिन्, ‘यो समस्या परिवारबाट सुरु भई समाज हुँदै राज्यसम्म देखिन्छ ।’ उनले गाई र बाख्रापालन व्यवसाय गरेकी छन् । व्यवसाय दर्ता तथा अन्य कामका लागि कार्यालयमा जाँदा पनि विभेद देखिएको उनले बताइन् । ‘महिलाले काम गर्न सक्छन् भन्ने मानसिकता अझै छ,’ उनले भनिन् ।

प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल महिलाको उपस्थिति देखेर खुसी व्यक्त गरे । ‘कार्यक्रममा महिलाको सहभागिता देखेर खुसी लाग्यो,’ उनले भने, ‘साना तथा मझौला उद्यमले राम्रोसँग सम्माल्न सक्ने महिला नै हो ।’साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य कुलबहादुर काफ्ले लैंगिक असमानता हटाउँदै उद्यमी महिलालाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् । ‘महिलाहरूद्वारा उत्पादित सामानको सरकारी तवरबाटै बजार प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘त्यसो भए मात्रै उनीहरू उत्साहित हुनेछन् ।’

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App