७ वैशाख २०८१ शुक्रबार
अन्य

बिहानको खाजा ग्वारामरी

‘मैयाँ, दुईवटा ग्वारामरी देऊ न,’ एक वृद्धले पुरानो पाँच रुपैयाँको नोट र केही सिक्का लक्ष्मीलाई दिँदै भने । लक्ष्मीले पत्रिकामा पोको पारेर केही ग्वारामरी वृद्धलाई दिइन् । वृद्धले ग्वारामरीको पोको टप्प टिपेर हिँडे । मंगलबार बिहान ललितपुर पाटनढोकास्थित एक ग्वारामरी पसलमा देखिएको दृश्य हो यो ।

धादिङ चित्लाङकी लक्ष्मी श्रेष्ठले पाटनमा ग्वारामरीको व्यापार गर्छिन् । ग्वारामरी ताजा, अनि तात्तातो खाइने खान्की हो । ग्वारामरीका लागि उनको पसलमा साना बच्चादेखि वृद्धसम्मको भीड लाग्ने गर्छ ।बिहान ५ बजे उठ्नु, ग्वारामरीका लागि पिठो तयार गर्नु, तेलमा ग्वारामरी तार्नु र बेच्नु लक्ष्मीको दैनिकी बनेको छ । तातो तेलमा तार्दै गर्दाको ग्वारामरीको बास्नाले जो–कोहीको मुख रसाउन सक्छ ।

लक्ष्मीले तातो तेलमा ग्वारामरी तार्न थालेको १४ वर्षभन्दा बढी भयो । उनी भन्छिन्, ‘ग्वारामारीसँग त मेरो दिल नै बसेको छ । मलाई त यो काम गर्न रहर लाग्छ ।’लक्ष्मीका दम्पती नै ग्वारामरी बनाउँछन् । दम्पती मिलेर बिहानमा ग्वारामरीसँगै सेल रोटी, मालपुवा र चिया बनाउँछन् भने दिउँसोका लागि चना, समोसा, पकौडा, निम्की आदि खाजा तयार गर्छन् ।

ग्वारामरी नेवारी समुदायमा प्रचलित बिहानको खान्की हो । यसलाई चिया, तरकारीसँग पनि खान सकिन्छ । तर, धेरैले यसलाई चियासँग खान्छन् । ग्वारामरी साना नानीदेखि पाका मानिसले पनि मनपराउँछन् । मैदाको पिठोमा बेकिङ पाउडर र नुन राखेर बनाइन्छ, ग्वारामरी । तेलमा तारेर बनाइने हुनाले चिल्लो बेसी भए पनि यसको नुलिलो स्वाद आफूलाई मनपर्ने बताउँछन्, पाटनका अशोक महर्जन । ‘मलाई ग्वारामरी मिठो लाग्छ,’ उनले भने, ‘कहिलेकाहीँ बिहानको खाजामा मैले चिया र ग्वारामरी खान्छु।’

ग्वारामरी नेवारी समुदायमा प्रचलित बिहानको खान्की हो । यसलाई चिया, तरकारीसँग पनि खान सकिन्छ । तर, धेरैले यसलाई चियासँग खान्छन् । ग्वारामरी साना नानीदेखि पाका मानिसले पनि मनपराउँछन् । मैदाको पिठोमा बेकिङ पाउडर र नुन राखेर बनाइन्छ, ग्वारामरी ।

दश रुपैयाँको तीनवटा ग्वारामरी बेच्दै आएकी लक्ष्मीले यही व्यापारबाट छोराछोरी पढाएकी छन् । पाटन पर्यटकीय क्षेत्रका रूपमा चर्चित छ । पाटनका कलाकृति हेर्न बाह्य पर्यटन मात्र नभएर आन्तरिक पर्यटनको पनि घुइँचो लाग्ने गर्छ । पाटनमा देखिने मनोरम दृश्य त छँदै छ, त्यहाँ पाइने लोकल खानाका परिकारले समेत पर्यटनको मन लोभ्याउने गर्छ । यहाँ साँझ–बिहान पर्यटकले विभिन्न थरी नेवारी परिकार खाइरहेको दृश्य देख्न सकिन्छ ।

पाटनकी तुलसी मालाकार (५२) ले पनि ग्वारामरी निकै मनपराउँछिन् । बिहानको नृत्य कर्मपछि उनी घरनजिकैको ग्वारामरी पसलमा ग्वारामरी किन्न पुग्छिन् । उनी भन्छिन्, ‘नाति सानो छ, नातिलाई ग्वारामरी निकै मनपर्छ, सधैँ किन्न आउँछु ।’चित्लाङकी महेश्वरी श्रेष्ठ पनि पाटनमा ग्वारामरी बनाएर बेच्छिन् । पाटनको धौगलमा उनको पसल छ । महेश्वरी भन्छिन्, ‘चार वर्ष भयो यो काम सुरु गरेको, सुरुमा एक रुपैयाँको एउटा ग्वारामरी बेच्थेँ । अहिले दुई रुपैयाँमा बेच्छु ।’

मंगलबार बिहान उनको पसलमा पनि ग्वारामरी किन्नेको भीड थियो । महेश्वरीलाई छोरी सविनाले ग्वारामरी बनाउन सघाउँछिन् । सविना भन्छिन्, ‘ग्वारामारी घरमा खाजाका लागि मात्र नभएर साना स्कुले बच्चाले स्कुलमा समेत लैजाने गर्छन् ।’बिहान ५ बजेबाट नै पसलमा ग्वारामारी बनाउन यी आमाछोरीलाई भ्याइनभ्याइ हुन्छ । भक्तपुरबाट समेत ग्वारामारी खान आउने सविनाले बताइन् । उनी भन्छिन्, ‘ग्वारामारी विदेशीले समेत मिठो मानेर खान्छन् । विदेशीले चिल्लो धेरै नखाने भए पनि ग्वारामारी भने खाएरै जान्छन् ।’

पाटनकै तुलसी श्रेष्ठ सानै उमेरदेखि ग्वारामारी खाँदै हुर्केको बताउँछिन् । ‘म त आफैँ पनि घरमा ग्वारामरी बनाउँथे । अहिले त उमेर पनि ढल्क्यो, बनाउनै छाडेँ । यो बुढेसकालमा चिल्लो खान हुँदैन, तर मनपर्छ,’ उनले हाँस्दै भनिन्, ‘अब चिल्लोचाप्लो खाने दिन गए ।’ग्वारामरीको पारखीमध्ये एक हुन्, सुस्मिता विश्वकर्मा । हालै एसइईको परीक्षा दिएर बसेकी सुस्मिता ग्वारामरी निकै मनपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘म दैनिकजसो ग्वारामरी खान्छु, मलाई यसको स्वाद निकै मन पर्छ ।’

यमुना बलामी पनि पाटनमा चिया र ग्वारामरी बनाएर बेच्छिन् । ग्वारामरी बनाएर नबिक्ला भन्ने चिन्ता गर्नु नपरेको उनले सुनाइन् । ज्वागलका अनिस मालाकार स्नातक पढ्दै छन् । उनी पनि सानै उमेरदेखि ग्वारामरी खाएर हुर्केको बताउँछन् । उनी भन्छन्, ‘ग्वारामरीको नुनिलो स्वाद र चियाको गुलियो स्वाद खुब मिलेजस्तो लाग्छ । मलाई बजारको जाम र ब्रेडभन्दा ग्वारामरी र चिया मनपर्छ ।’

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App