coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

फोरम लोकतान्त्रिक समूहले खाेल्यो छुट्टै पार्टी

दाङ - तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन्।

एकीकरणले राजनीतिक ‘करिअर’मा पु¥याएको यो ठूलो धक्काले असन्तुष्ट उनले निर्वाचनयता पनि आफूलाई कांग्रेसको ‘नेता वा कार्यकर्ता’ पहिचान गराउनसमेत पाइनन् । उनीभित्र चुलिएको असन्तुष्टिले अर्कै मोड लियो । उस्तै असन्तुष्ट अर्का नेता भानुराम चौधरीसँगको नयाँ राजनीतिक सहयात्राले अहिले छुट्टै दल निर्माण गरेर उक्त पार्टीको दोस्रो बरियताको नेताकारूपमा गीता प्रस्तुत भएकी छन्।

भानुराम र उनकै नेतृत्वमा अहिले नेपाल लोकतान्त्रिक पार्टीको जन्म गराइएको छ । ‘नेपाल लोकतान्त्रिक पार्टी भनेर नयाँ दल निर्माण गरेका छौँ,’ उनले भनिन्, ‘कांग्रेसमा बस्ने वातावरण अहिलेसम्म नभएपछि हामीहरु यतातिर लाग्न बाध्य भयौँ।’

एकीकरण पश्चात भूमिकाविहीन अवस्थामा रहेका असन्तुष्ट नव प्रवेशीहरुलाई समेटेर निर्माण गरिएको यो दलको अध्यक्षमा भानुराम चौधरी छन् भने सहअध्यक्षमा गीता छन् । ७१ सदस्यीय तदर्थ समिति निर्माण गरिएको यो पार्टीको केन्द्रीय समिति १ सय २१ सदस्यीय बनाइने जनाइएको छ । २० जेठमा यो पार्टीको कार्यसमिति निर्माण गरिएको हो।

निर्वाचन आयोगमा दर्ता गराइसकिएको यो पार्टीका अध्यक्ष भानुराम भने तत्कालीन थरुहट तराई पार्टी नेपालका अध्यक्ष थिए । भानुरामले आफ्नो पार्टीलाई २०७४ वैशाखमा फोरम लोकतान्त्रिकमा एकीकरण गरेका थिए।

निर्वाचनलाई लक्षित गरेर फोरम लोकतान्त्रिकसँगको एकीकरणलाई जोड दिएका भानुरामका लागि पनि कांग्रेससँगको अर्को एकता पाच्य बनेन । फोरम लोकतान्त्रिकबाट प्रतिनिधिसभाका लागि बन्द सूचीको पहिलो नम्बरमा अटाएका भानुरामका लागि पनि कांग्रेससँगको एकताले त्यो योजनामाथि तुषारापात गरिदियो । अन्ततः उनले एकतालाई ठाडै अस्वीकार गरिदिए । ‘कांग्रेससँगको एकता नै थिएन,’ भानुरामले भने, ‘चार पाँचजना नेताहरु कांग्रेसमा प्रवेश गरेको मात्रै हो, तर त्यो प्रकृयामा सामेलै नभएको मैले अर्को पार्टीलाई जन्म दिएको छु ।’ मूलतः यो नयाँ पार्टीमा भानुराम अध्यक्ष रहेको तत्कालीन थरुहट तराई पार्टी नेपालको खेमालाई नै आफूतिर तानेका छन्।

थरुहटबाटै फोरम लोकतान्त्रिक हुँदै अहिले कांग्रेससम्म पुगेका गोपाल दहितले भानुरामको साथ छोडेका छन्, उनी कांग्रेसमै छन् । ‘बहुमत सदस्य हाम्रो पक्षमा हुनुहुन्छ,’ तत्कालीन थरुहट समूहको अंकगणीतीय हिसाब गर्दै उनले भने, ‘सबैचाहिँ आउनु भएको छैन।’

ब्यक्तिगत राजनीतिक करिअरलाई केन्द्रमा राखेर गरिएको नयाँ पार्टी गठनको बिषय एउटा पाटो भयो, तर नेपाली कांग्रेसले आफू मातहतमा आएका नयाँ कार्यकर्ताहरुलाई रेस्पोन्स गर्न नसक्नु यसको अर्को मूल समस्या हो ।
एकीकरणपछिको यो अवधिसम्म पनि कांग्रेसबाट रेस्पोन्स नपाउँदा पार्टीप्रतिकै वितृष्णा उब्जाउनु  स्वाभाविकै हो।

‘ठीक छ हामीहरुका लागि एकता फलदायी भएन, उम्मेदवार बन्ने रेसबाट पछि हट्नु प¥यो,’ गीता भन्छिन्, ‘तर त्यसपछि पनि हामीहरुसँग एकपटक कुराकानी नै भएन, अनि हामीहरु कुन नैतिकताले पार्टीमा बस्न सुहाउँछ ?’  
पार्टी एकीकरण भएको झण्डै वर्ष दिन पुग्नै लाग्दासम्म पनि फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समाहित नेतामध्ये विजय कुमार गच्छदारबाहेक अन्य सबै नेता तथा कार्यकर्ताहरु भूमिकाविहीन अवस्थामा छन् । कांग्रेसले ‘रेस्पोन्स’ गर्न नसकेकै कारण फोरम लोकतान्त्रिकबाट प्रवेश कार्यकर्ताहरुलाई रोकेर राख्न निकै समस्या बन्दै गइरहेको तत्कालीन फोरमका नेताहरु बताउँछन्।

‘अहिलेसम्म अधिकांश कार्यकर्तालाई ‘होल्ड’ गरेर राख्न सफल त भएका छौ्र,’ एक नेताले भने, ‘तर नेता तथा कार्यकर्ता पंक्तिमा चुलिएको नैराश्यताले चरमरुप लिन थालेको अवस्थामा होल्ड गर्न सकिने अवस्था गुम्ने खतरा पनि छ।’

यो समूहले कांग्रेस नेतृत्वलाई पटक–पटक ध्यानाकर्षण समेत गराइरहेको छ । पछिल्लो समयमा पनि पार्टी सभापति शेरवहादुर देउवाले तत्कालै यो समस्या निराकरण गर्ने आश्वासन दिएका छन् । ‘केही दिनअघि मात्रै मैले सभापतिज्यूसँग कुराकानी गरेँ,’ ती नेताले भने, ‘छिट्टै समस्याको समाधान निकाल्छु भनेर आश्वासन दिनु भएको छ।’

कांग्रेसको अबको महासमिति बैठकले यो बिषयमा टुंगो लगाउने चर्चा पनि चल्ने गरेको ती नेताले बताए । गत असोज २९ गते भएको पार्टी एकीकरणको पहिलो सहमति फोरम लोकतान्त्रिकबाट १० देखि १५ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाउने भन्ने थियो । तर कांग्रेसले केन्द्रीय सदस्य मनोनित गर्न सकेको छैन । यसैगरी जिल्लादेखि स्थानीय तहसम्मका संगठनहरुलाई समायोजन गर्दै जाने भन्ने अर्को सहमति थियो । फोरमका ६६ जिल्ला कार्यसमिति कांग्रेसमा समाहित भएको थियो।

यता नेपाली कांग्रेसले पार्टीको विधि र विधानअनुसार यो समस्याको निराकरण हुने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फोरम लोकतान्त्रिक पार्टीबाट एकीकरण भएर कांग्रेसमा आएका सबै नेता तथा कार्यकर्ताहरु अब कांग्रेसको सदस्य भैसकेकाले जिम्मेवारी बाँडफाँडको कुरा विधानतः हुने बताए । ‘विधानअनुसार उहाँहरु सबैको जिम्मेवारी बाँडफाँड हुन्छ,’ उनले भने, ‘पार्टी यो बिषयमा निकै गम्भीर बन्दै आएको कुरा हो, पार्टीका कोही पनि नेता कार्यकर्ताहरुलाई काखा र पाखाको अवस्था आउने छैन।’

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App