७ वैशाख २०८१ शुक्रबार
राजनीति

१७ सय कर्मचारीलाई विभागीय कारबाही सिफारिस

काठमाडौं - राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको हो।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले गत साउनदेखि जेठ २२ सम्म केन्द्रले गरेको सिफारिसमा १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको बताए । केन्द्रका अर्का एक उच्च कर्मचारी भन्छन्, ‘यती ठूलो संख्यामा कारबाहीको सिफारिस गरिनुको अर्थ निजामती कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको संकेत हो ।’ मुलुक संघीय प्रणालीमा गए पनि निजामती कर्मचारीको काम गर्ने शैलीमा कुनै परिवर्तन नभएको उनले बताए ।

केन्द्रबाट कारबाहीको सिफारिस गरिएकामध्ये केही कर्मचारी सिंहदरबारमै कार्यरत छन् । सतर्कता केन्द्रले केही दिनअघि वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र मुद्रण विभागलगायत कार्यालयमा छड्के गरेको थियो । केन्द्रले गरेको छड्केमा कृषि तथा भूमि सुधार मन्त्रालयमा कार्यरत करिब १ सय ५० कर्मचारीमध्ये ३६ कर्मचारी कारबाहीको सिफारिसमा परेका छन् ।

यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा ९, वन तथा वातावरण मन्त्रालयमा १२ र मुद्रण विभागमा २५ कर्मचारी कारबाहीको सिफारिसमा परेका छन् । केन्द्रका प्रवक्ता लामिछानेले सिहंदरबारमै कर्मचारी कार्यालय समयभित्र कार्यालयमा नआउने समस्या देखिएको बताए । ती कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको पनि उनले बताए।

यसैगरी सतर्कता केन्द्रका कर्मचारी केही दिनअघि परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा पुग्दा ३९ कर्मचारी कार्यालयमा समयभित्र कार्यालयमा पुगेका र ८ कर्मचारी अनुपस्थित रहेको केन्द्रले तयार गरेको रिर्पोटमा जनाइएको छ । यसैगरी पाठ्यक्रम विकास केन्द्र सानो ठिमीमा छड्के जाँच गर्दा ५० कर्मचारीमध्ये ८ कर्मचारी अनुपस्थित रहेको पाइएको थियो ।

प्रवक्ता लामिछानेले सतर्कता केन्द्रका कर्मचारीहरू केही सरकारी कार्यालयमा छड्के गर्न जाँदा कर्मचारी समयभित्र कार्यालयमा नपुग्ने गरेको समस्या देखिएको बताए । उनले भने, ‘हामीले केही सरकारी कार्यालयमा छड्के गर्न जाँदा केही सरकारी कार्यालयमा कर्मचारीले कार्यालय समयभित्र हाजिरी नगरको देखिएको छ ।’

 

प्रकाशित: २४ जेष्ठ २०७५ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App