७ वैशाख २०८१ शुक्रबार
राजनीति

राहत नपाएपछि स्थानीयले वडाध्यक्ष र सचिवलाई कार्यालयमै थुने

रौतहट– गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन। 

दुर्गा भगवती गाउँपालिका २ भलोहियाका बास्तविक बाढी पीडितहरुले वडाध्यक्ष सुरेश चौधरी र सचिव नवल किशोर झालाई बुधवार वडा कार्यालय मै ३ घण्टासम्म थुनेर दुवैविरुद्ध नाराबाजी गरेका थिए।

स्थानीय सिव कुमार झाका अनुसार गत बर्षको साउन महिनाको अन्तिम साता आएको विनाशकारी बाढीको कारण गाउँमा ठुलो जनधनको क्षति भएपछि स्थानीयले सरकारी निकायबाट पर्याप्त राहत पाएका छैनन्। बाढीको गएको केहि महिना पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आउँदा गाउँमा सिंहदरवार आएको र आफूहरुको माग सम्बोधन हुनुका साथै सरकारी राहत पाउने आशामा पीडितहरु थिए।
तर, लामो समयदेखि जनप्रतिनिधि विहिन बनेको अवस्थामा नयाँ आएका जनप्रतिनिधिले स्थानीयको पीडामा मल्हम लगाउनेगरी आशमा बसेका बाढी पीडितको नाम नै हटाएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन्। 

दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियाका बास्तविक बाढी पीडितहरुको नाम हटाएर गैर बाढीपीडितको नाम राखेर जिल्ला विपद व्यवस्थापनलाई क्षतिपुर्तिको लागि नाम सिफारिस गरेपछि आफूहरु वडाध्यक्ष चौधरी र सचिव झालाई उनकै कार्यकक्षमा ११ बजे देखि  नै ३ घण्टासम्म थुन्न बाधय भएको पीडितहरुले बताए।

गाउँका सयौं बाढीपीडितहरु विहानै ११ बजे वडा कार्यालय पुगेर वडा अध्यक्ष चौधरी र सचिव झासहितका पदाधिकारी एवं कर्मचारीहरुलाई कोठामा थुनेर ताल्चा लगाएका थिए। ताल्चा लगाएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपरा, सशस्त्र प्रहरी बेस क्याम्प भलोहियाका संयुक्त सुरक्षाकर्मीहरुको टोली वडा कार्यालयमा पुगेर ताला खुलाउने निकै प्रयास गरेपनि स्थानीय सुरक्षाकर्मी असफल भएका थिए। 

जनप्रतिनिधि र कर्मचारी कार्यालयमै थुनीएको खबर प्राप्त भएपछि गाउँपालिका अध्यक्ष अरुण कुमार साहले बाढी पीडितको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलेर कर्मचारी र जनप्रतिनिधि दुवैलाई बाहिर निकालेका थिए। अध्यक्ष साहले वास्तविक बाढी पीडितको पहिचान गर्ने र बदमासी गर्ने कर्मचारीलाई अन्यत्र सरुवा गर्ने र घटनाको विषयमा छानविन गर्ने प्रतिवद्धता जनाउँदै छुटेका पीडित परिवारको नाम संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिको कार्यालयमा क्षतिपुर्तिको लागि पठाउने वाचा गरेपछि स्थानीयले ताला खुलाएको बताइएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७५ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App