७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

कालिकोट– कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ। 

शनिबार मृत्यु भएकी सार्कीको शवलाई आइतबार मान्मास्थित जिल्ला अस्पतालमा पुर्याएर सोमबार पोस्टमार्टम गरिएको थियो। तर, उनका श्रीमान भारतबाट ढिलो आएपछि बुधबार ५ दिनपछि दासंस्कार गरिएको हो। यद्यपी सार्कीको पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन्।

छिमेकीको कुटाईबाट शनिबार राति सार्कीको मृत्यु भएको थियो। उनलाई कुटपिट गरेको अभियोगमा राजिन्द्रा शाही र सृजना शाहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीहरुमाथि अनुसनधान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईले बताए। उनका अनुसार मृतकका छोरा पदम सार्कीले विहीबार दुवैविरुद्ध उजुरी दिएका थिए। 

दोषीलाई कारवाहीको माग

वडा सदस्य सार्कीको मृत्यु प्रकरणमा सरोकारवालाले दोषीलाई कारवाही गर्न माग गरेका छन्। जिल्लास्थित दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै  दोषीलाई जन्मकैद गरिनुपर्ने, सुनियोजित तरिकाले जातीय विभेदकै कारण हत्या गरिएकाले मृतकलाई सहिद घोषणा गरिनुपर्ने माग गरेका छन्।

दलितहरुको सहअस्तित्व र सुरक्षाको जिम्मासहित बाच्न पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने र पीडित परिवारलाई उचित राहतको व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ। 

स्थानीय सरकारको तर्फबाट तिलागुफा नगरपालिका उपमेयर दर्शना नेपाली, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित महिला संघका अध्यक्ष हजा सुनार लगायतले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मना सार्की हत्याबारे उच्चस्तरीय छानविन टोली गठन गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। 

सार्की तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: २३ जेष्ठ २०७५ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App