८ वैशाख २०८१ शनिबार
समाज

थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

खोटाङ– सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क बिमानस्थल कालोपेत्रका काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ। म्याद गुज्रना लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थलको कटिङ, फिलिङ, ग्याबिन, मेसिनरी, सव–वेस लगायतका काम मात्र सम्पन्न भएको नेपाल नागरिक उड्यान प्राधिकरणका ईन्जिनियर रत्न श्रेष्ठले बताए।

२०७५ साल असार मसान्तभित्रमा सम्पन्न गर्नेगरी रौता कन्ट्रक्सनले २०७३ सालबाट प्रारम्भिक चरणका काम सुरु गरेको बिमानस्थलको हाल बेस ओछ्याउने काम भइरहेको छ। ‘बेस राख्ने काम केही दिनमा सकिन्छ’, ईन्जिनियर श्रेष्ठले भने, ‘बेस राख्ने काम सकिएपछि अस्फाल्ट कंक्रिटको काम हुन्छ।’ वर्षामा पानीले असर नपु-याए निरन्तर काम हुने श्रेष्ठको भनाई छ। ढिलासुस्ती गरेकामा थामखर्क बिमानस्थल कालोपेत्रका काम गरिरहेको रौता कन्ट्रक्सनको नाम जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा सिफारिस भएको छ। 

विमानस्थल कालोपत्रेका काम सुस्त भएपछि २०७४ साल माघ ८ गते प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा कार्यतालिका नै बनाइएको थियो। सो कार्यतालिका अनुसार ठेकेदारले जेठ मसान्तभित्रमा अस्फाल्ट कंक्रिटका काम सम्पन्न गर्नेगरी लिखित प्रतिवद्धता गरेका थिए। हाल रोलरले धावनमार्गमा बेस थिच्ने काम भइरहेको भए पनि ढिलासुस्तीका कारण बाँकी रहेको समयभित्र बिमानस्थल कालोपत्रेका काम पूरा हुने सम्भावना कम देखिएको स्थानीय बताउँछन्। दुई वर्षमै पूरा गर्नेगरी नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा बिमानस्थल कालोपत्रेका काम थालिएको हो। तर, बिमानस्थल कालोपेत्रका काममा ठेकेदारको चरम ढिलासुस्ती भएको जनगुनासो छ। ‘ठेकेदारले जसरी पनि असार मसान्तभित्र काम सक्नुपर्ने हुन्छ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘म्याद थप्ने र गुणस्तरका बिषयमा कुनै सम्झौता हुन सक्दैन।’ 

खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम ढिलाई भएपछि खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारण आक्रोशित छन्। कालोपत्रेका काम सुरु गरिएसँगै थामखर्कमा २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क बिमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए। रौता कन्ट्रक्सनले कालोपत्रेका काम ठेकेदार महेश रेग्मीको जिम्मामा छाडेको हो। २०७२ सालमा डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि आर्थिक वर्ष २०७२÷०७३ मा साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो। 

दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षित गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षायाम लागेसँगै अवरुद्ध हुने गरेको छ। थामखर्क बिमानस्थलबाट जिल्लाका दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका २० वडा सहित छिमेकी जिल्ला भोजपुरका केही स्थानका सर्वसाधरण समेत लाभान्बित हुँदै आएका छ। सडक यातायातको सुविधा नपुगेको त्यसक्षेत्रमा थामखर्क बिमानस्थल एक मात्र यातायातको बिकल्पका रुपमा रहेको छ। बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता छ। 

थामखर्कमा उडान नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा बिमानस्थल प्रयोग गर्न बाध्य छन्। जिल्लामा थामखर्कसहित खानीडाँडा र लामीडाँडा बिमानस्थल छन्।

प्रकाशित: २३ जेष्ठ २०७५ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App