६ वैशाख २०८१ बिहीबार
समाज

पहिलो तहको कालोपत्रे सकियो, अब चौबिसै घण्टा सरर...

कालोपत्रे हुँदै गरेको नारायणगढ–मुग्लिन सडक खण्ड । तस्बिर : नागरिक

धादिङ– नारायणघाटबाट बुधबार विहान ७ बजेर ३० मिनेटमा गुडेको यात्रुबाहक बस विहान ११ बजेर ३० बजे धादिङबेसी आइपुग्यो। सडक निर्माणले दैनिक हैरानी व्यहोर्नु परेको नारायणगढ मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएसँगै ४ घण्टामा धादिङबेसी आइपुगेको बसका चालक रमाकान्त सेढाईले बताए। बुधबारदेखि २४ सैं घण्टा सवारी साधन सञ्चालन गरिएपछि सहजै धादिङबेसी आइपुगेको सेढाईले बताए। 

धादिङबेसीदेखि नारायणघाटसम्मको करीब सय किलोमिटर दुरी पार गर्न दैनिक ९, १० घण्टा समय लगाउँदै आइरहेको थियो। बाटोमा सवारी बिग्रेको समय र पहिरो झरेको समयमा त झन् दिनभरी नै जाममा बस्नु पर्ने थियो। कालोपत्रेको काम सकिएसँगै सररर सवारी साधन चलाउन पाएको सेढाईले सुनाए। ‘सडक निर्माणको कामले दैनिक जामको हैरानी व्यहोर्नु परेको थियो, सेढाईले भने, ‘अब सररर गाडी चलाउन पाउने भएका छौँ ।’ सेढाई जस्तै पूर्वपश्चिम हुँदै राजधानी भित्रने र बाहिरीले सवारीलाई सहज भएको छ। 

सडक निर्माणका लागि दैनिक जामको हैरानी व्यहोर्नु परेको नारायणगढ–मुग्लिन सडकखण्ड अब चौविसै घण्टा संचालनमा आएपछि चालक, यात्रु तथा स्थानीयले राहत महसुस गरेका छन्। यस सडक खण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएसँगै थप सहज भएको छ। सडक विस्तारको लागि भन्दै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी साधन रोकेर काम गरिँदै आइरहेको थियो। बुधबारदेखि २४ सैं घण्टा सवारी साधन सञ्चालन गरिएको नारायणगढ—मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। 

मंगलबार राती यो सडकखण्डको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने काम सकिएपछि बुधबारदेखि गाडी नरोक्ने निर्णय गरेको सडक आयोजनाका सूचना अधिकारी एवम् इञ्जिनियर शिव खनालले बताए। ‘सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द हटाइएको छ’, खनालले भने, ‘अब सडकखण्डमा कहीँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन।’ अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था नरहेको खनालले बताए। ६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेको उनले बताए। 

२०७२ सालको भूकम्पको मुखैमा आयोजनाको ठेक्का दिइएको थियो। भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो। भत्काइएको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको छ। निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न हुने क्रममा छ। भौगोलिक बनावट, पहिरोको जोखिम, सवारी चापको व्यवस्थापनले गर्दा निर्माणमा केही ढिला भएपनि अन्य आयोजनाको तुलनामा धेरै ढिलो नभएको खनालको भनाई छ।   

आयोजनाको सम्पूर्ण काम सकिन अझै केही समय लाग्ने जानकारी दिँदै उनले अब कम्तीमा यात्रुले सहज तरिकाले यात्रा गर्न पाउने सुनिश्चितता भएको बताए। ‘सडक निर्माणमा सुस्त र लार्पारबाही भएको भन्दै पटक पटक जनगुनासो सुन्दै आइरहेका थियौँ’, खनालले भने, ‘यो सडकखण्ड पुरै बनिसकेपछि ठूला ट्रक र बसलाई सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ।’ निर्माण बाँकी रहेका ठाँउमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गरिने उनले बताए। 

यस सडकखण्ड भित्र पर्ने १८ वटा पुल मध्ये ४ वटाको ठेक्का भइसकेको छ भने बाँकी १४ वटाको ठेक्का हुन सकेको छैन। सम्भावित पहिरो जोखिमका लागि बैशाखदेखि पहिलोको जोखिम भएको डाडाँमा कटाई सुरु भइरहेको छ। 

यस्तो छ कामको प्रगति

सडकखण्डको दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्रे गरिएको छ। पहिलो र दोस्रो तहमा ६/६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ। यो सडकलाई तीन भागमा विभाजन गरेर काम भैरहेको छ। पहिलो तह आँपटारी–दासढुंगासम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभीको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ। यहाँ दासढुंगा पुल भने निर्माण हुन बाँकी छ। यो खण्डको भौतिक प्रगति ९१.२० प्रतिशत भएको छ। 

त्यस्तै दासढुङगा–सिमलताल खण्डको १०.६९ मध्ये सम्पूर्ण लम्बाईमा तिनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ। निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन कम्पनीले यो खण्डको भौतिक प्रगति ९७.५० प्रतिशत गरेको छ। सिमलताल–मुग्लिन खण्डको १२.१५ किलोमिटर मध्ये सम्पूर्ण लम्बाईमा पहिलो तहको कालोपत्रे सकिएको छ। ११.८० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भएको छ। निर्माणको जिम्मा लिएको सुप्रिम रौतहा निर्माण कम्पनीले यो खण्डमा तेस्रो तहको कालोपत्रे सुरु भएको छैन। अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ।

समग्र आयोजनाको ३३.२ किलोमिटर मध्ये सम्पूर्णमा पहिलो तहको कालोपत्रे सकिएको, ३२.७० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सकिएको र १२.७ किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएको खनालले बताए। सम्पूर्ण सडकखण्डमा भौतिक प्रगति ९१.५० प्रतिशत रहेको छ। 

प्रकाशित: २३ जेष्ठ २०७५ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App