७ वैशाख २०८१ शुक्रबार
अर्थ

पुँजीगत लाभकर विवाद जटिल बन्दै

काठमाडौं - सरकारले बोनस र हकप्रद सेयरमा लाभकर गणनाका लागि अंकित मूल्यलाई आधार मान्ने व्यवस्था गरेपछि लगानीकर्ता र सरकारबीचको विवादले उग्र रुप लिएको छ । लाभकरका विषयमा देखिएको विवादको समाधान गर्न लगानीकर्ता र सरकारबीच भएको सोमबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

लगानीकर्ता र सरकार (अर्थ मन्त्रालयका दुई सहसचिव र राजस्व विभागका एक सहसचिव) बीच सोमबार अर्थ मन्त्रालयमा छलफल भएको थियो । उक्त छलफलमा लगानीकर्ताले आइतबारदेखि लागू नयाँ व्यवस्था फिर्ता लिन माग गरेका थिए।

तर, सरकारको तर्फबाट छलफलमा सहभागी अधिकारीले उक्त विषयमा सचिव र मन्त्रीको राय लिने र त्यसपछि मात्र निर्णयमा पुग्ने बताएका थिए । सरकारले सकारात्मक आश्वासन दिए पनि विश्वास गर्न सकिने आधार नभएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । ‘लाभकरका विषयमा अर्थ मन्त्रालयका सहसचिव स्तरमा तीन सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने, ‘आवश्यक परे लगानीकर्तालाई समेत बोलाउने छन् ।’

 सरकार र लगानीकर्ताबीचको वार्ता विना निष्कर्ष टुंगियो
 सेयर कारोबार मंगलबार पनि एक घन्टा ठप्प पर्ने लगानीकर्ताको चेतावनी

यता, लगानीकर्ताले सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने प्रयोजनका लागि अंकित मूल्यलाई नै आधार मान्ने व्यवस्था फिर्ता लिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गरेका छन् । लगानीकर्ताले विहान १० बजेदेखि नै ‘घाटामा लाभकर, सरकारको हास्यास्पद उपहार’ नारासहित नेप्से घेराउ गरेका हुन् । सोमबार आधा घन्टाभन्दा बढी समय सेयर कारोबार ठप्प भएको र मंगलबारसम्म पनि उक्त व्यवस्था फिर्ता नभए एक घन्टा कारोबार बन्द गर्ने निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।

सोमबार लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको कार्यालय पनि घेराउ गरे । लगानीकर्तालाई सम्बोधन गर्न प्रांगणमा आएका प्रवक्ता निरज गिरीले सरकारी निर्णयको बचाउ गरेपछि निकै विवाद भएको थियो । लगानीकर्ताले उनीमाथि हातपात गर्न थालेपछि गिरीलाई कार्यालयभित्र लगिएको थियो । त्यसपछि बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले लगानीकर्ताका माग जायज भएको र उक्त माग सम्बोधन गर्न पहल गर्ने बताएपछि तातिएको वातावरण एकाएक चिसिएको थियो।

आन्तरिक राजस्व विभागको निर्देशनमा हकप्रद र बोनस सेयरमा लाभकर गणना गर्दा अंकित मूल्य सय रुपैयाँलाई नै आधार मान्न थालिएको दिन आइतबार सेयर बजारमा करिब ३४ बिन्दुको गिरावट आएको थियो । दोस्रो दिन सोमबार पनि नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से ५.११ बिन्दुले ओर्लिएर १२६८.८४ बिन्दुमा आइपुगेको छ ।

सरकारले एकपछि अर्को गर्दै लगानीकर्ताको घाँटी निमोठने काम गरेको लगानीकर्ताको आरोप छ । सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमार्फत व्यक्तिगत पुँजीगत लाभकर ५० बढाइएको थियो । त्यसमाथि बोनस र हकप्रद सेयरमा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर तिर्नु परेपछि ढाड सेकिने लगानीकर्ताको भनाइ छ।

यसअघि बोनस वा हकप्रद सेयरको समायोजित मूल्यभन्दा बढी रकममा मात्र लाभकर लाग्ने व्यवस्था थियो । लाभकर प्रकरणपछि नेप्से सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर, सोमबार ४२ करोड ४४ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।सोमबार लगानीकर्ताहरुका तीनवटै (नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पुँजी बजार लगानीकर्ता) संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App