coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

मकवानपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि भ्रष्टाचार अन्त्यका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यातायात सिण्डिकेट बिरुद्ध खनिएको सरकार अब भ्रष्टाचार बिरुद्ध निर्मम भएर प्रस्तुत हुने उनले बताए।

३ नम्बर प्रदेशसभा बैठकलाई आइतबार हेटौंडामा सम्बोधन गर्दै उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरे। ठट्टा गर्दै उनले भने ‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न।’ समृद्धिका लागि भष्टाचार अन्त्य अनिवार्य आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य सुरुवात मात्र भएको खुलासा गरे। ‘मेरो आक्रमण गर्ने शैली छ, अब गरिबी, अभाव, अशिक्षा बिरुद्ध आक्रमण गरिन्छ’, उनले भने, ‘सबै क्षेत्रको सिण्डिकेट तोडेरै छोडिन्छ।’ 

‘सुखी नेपाली, समृद्ध नेपाल’ बाहेक आफ्नो अन्य लक्ष्य नरहेको बताउँदै उनले देश र जनताका लागि १८ घण्टासम्म काम गरिरहेको बताए। ‘म प्रधानमन्त्री भईसकेको मान्छे हुँ,’ उनले भने ‘आरामले जीवन बिताउन सक्थेँ तर देश र जनताको लागि केही गर्नुपर्छ भनेर खटिरहेको छु।’ आफ्नो मृगौला(किड्नी) फेरेको ११ वर्ष भएको भन्दै उनले आफूले पाएको पुर्नजिवन ‘नाफाको जीवन’ देश र जनताकै लागि समर्पित गर्ने बताए।

आमजनतासँग हात जोडी मत मागेर जनप्रतिनिधी भएकाले जनताको माग, समस्या नभुल्न उनले प्रदेश साँसदहरुलाई आग्रह गरे। जनताको पक्षमा काम गर्नुको विकल्प नभएको भन्दै उनले साँसदले दाग र धब्बा नलाग्ने गरि काम गर्नुपर्ने बताए। ‘कोही जनप्रतिनिधीले दाग लाग्ने काम गरे त्यसलाई जनताले छोड्दैनन्’, उनले भने, ‘अवका शिक्षित र चेतनशील जनताले चित्रगुप्ताले भन्दा राम्रोसँग हिसाव राख्छन्।’

नेपाललाई नमुनालायक बनाउने भन्दै उनले अबको पाँच वर्षपछि लोकतन्त्र हेर्न नेपाल आउनुपर्ने बताउने बताए। नमुना लोकतन्त्रको अभ्यास अब नेपालले गर्ने बताउँदै सवै राजनीतिक दलहरुलाई सहयोग गर्न र देश निर्माणमा सामेल हुन आव्हान गरे।

कम्युनिष्ट पार्टीहरुको एकताले देशमा अधिनायवाद आउँने आरोपमा कुनै सत्यता नरहेको जिकिर गर्दै अधिनायकवादका लागि लोकतन्त्र नल्याइएको उनको भनाई छ। ‘हामीले अधिनायकवाद ल्याउन जेल नेल बसेका होईनौ,’ उनले भने, ‘अब हामी नेपालमा कोही भोको बस्नु नपर्ने लोकतन्त्र ल्याउँछौं।’ 

आजको २१ औं शताब्दीमा मुसा र चराले चारा(खानेकुरा) खोजे जसरी जनताहरु बिहानै खानाको लागि दौडने अवस्थाको अन्त्य गरिने प्रधानमन्त्री ओलीले बताए। लोकतन्त्रमा जनताको हक अधिकार सर्वोपरि हुने भन्दै उनले केही वर्षभित्र नेपालीले भिख मागेर खानुपर्ने अवस्थाको अन्त्य गरिने बताए। ‘लोकतान्त्रिक देशमा एक जना पनि भोकै बस्नुपरे दुःखद कुरा हो,’ उनले भने, ‘अब कुनैपनि नेपाली भोकै बस्नुपर्दैन र भोकै मर्दैनन् पनि।’ 

‘हामीले ल्याएको लोकतान्त्रिक प्रणाली पहिलेको भन्दा पृथक छ,’ उनले भने ‘राजनीतिक अधिकारमा सिमित मात्र होईन समग्र सामाजिक जीवनमै परिवर्तन गर्ने लोकतन्त्र हो।’ वीर नेपालीका सन्तती गरिब, उपचार गर्न, शिक्षा लिन समस्या हुनु बिडम्बनापूर्ण रहेको भन्दै अब सरकारले नेपाली हुनुमा गौरव गर्ने वातावरण बनाउने बताए। उनले घर नभएकाहरुका लागि सञ्चालित जनता आवास कार्यक्रमलाई नयाँ ढंगबाट सञ्चालन गरिने बताए।

नेपालमा लामो समय राजनीतिक आन्दोलन र शासन प्रणाली परिवर्तनमा खर्च भएको भन्दै प्रधानमन्त्री ओलीले अव विकास, निर्माणको विकल्प नभएको दाबी गरे। देशमा राजनीतिक लडाई सकिएको बताउँदै उनले आफुहरुसँग बहुमतको पार्टी र दुई तिहाईको सरकार भएकाले काम गर्न कसैले रोक्न नसक्ने बताए।

एउटै सरकारमा अधिकार सिमित हुँदा देश विकास नभएकाले स्थानीय र प्रदेश सरकारसहितको संघीयता कार्यान्वयन गरिएको बताउँदै उनले नेपालको विकासका लागि काम गर्ने उपयुक्त बातावरण रहेको पनि जिकिर गरे। ‘अधिकार सिरक हो म ओडेर बस्छु,’ उनले भने ‘यो लडाईको विषय होईन, विकास जस्ले गर्न सक्छ उसलाई अधिकार दिने हो।’
संसदीय राजनीति बाहिर रहेका राजनीतिक दलहरुलाई समेत मिलेर देश विकासमा सहभागी हुन आग्रह गरे  देशमा हिंसा आवश्यक नरहेको तर्क गर्दै उनले देश विकासमा अबरोध गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिदै भने ‘अब रोकिनेछ।’ अब स–सानो कुरामा विवाद गरेर बस्नु नहुने बताउँदै जुँगाको लडाँई लड्न छाडी जुँगा नै खौरिदिनुपर्ने बताए।

‘स्वतन्त्र मधेश, पृथकतावादी आन्दोलनको कुरा गरिरहेका छन्,’ उनले आक्रोश पोख्दै भने ‘विखण्डनकारी, देशद्रोही कुरालाई कुनैपनि देशले सहन सक्दैन, हामी पनि सहदैनौ।’ नेत्रविक्रम चन्द ‘विप्लब’, मोहन बैद्य र पार्टीको नाम नलिईकन उनले क्रान्ति गर्छु भन्ने भ्रम मात्र भएको दाबी गर्दै उनले शान्तिपूर्ण राजनीतिमा सहकार्य गर्न आउन आग्रह समेत गरे। 
विरोधीले ठट्टा गर्दा गर्दै चार वर्षभित्र नेपालमा रेल सञ्चालन हुने उनको दाबी छ। ‘तीन वर्षमा काठमाडौंमा मेट्रो रेल गुड्छ,’ उनले भने ‘बीरगंज–काठमाडौं रेलको पनि सर्भे भईरहेको छ।’

प्रकाशित: २१ जेष्ठ २०७५ १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App