८ वैशाख २०८१ शनिबार
समाज

सुकिलुम्बामा बस्यो जहाज (फोटो फिचर)

इलाम– इलाम सदरमुकामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएको छ। काठमाडौंबाट सोमबार मध्याह्न ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमानस्थलसम्म हवाइजहाज आइपुगेको थियो। 

काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा इलाम आइपुगेको क्याप्टेन सञ्जीव श्रेष्ठले बताए। उनले विमानस्थल कच्ची भएपनि उडान–अवतरणमा कतै समस्या नभएको र उडान सफल भएको बताए। ‘आज पानी आएन र उडान–अवतरणमा समस्या भएन,’ उनले भने, ‘विमानस्थलको बनावट, वरपरका डाँडाकाँडाको अवस्थितिले पनि साथ दिएको रहेछ।’ 

विमानस्थलका खाल्डाखुल्डी मिलाउने, सम्याउनेजस्ता सानातिना काम गर्दा वर्षा नभएको बेला विमान सञ्चालन गर्न हुने देखिएको उनले बताए। विमानको चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरेले रनवेको सतह मिलाउन बाँकी देखिएको बताए। ‘पिकअप र ल्यान्डिङको बेला हुनसक्ने अप्ठ्याराहरू सहज बनाउन बाँकी रहेछ। विमानस्थलको अरू सबै पक्ष राम्रो देखियो,’ उनले भने। टावर बनाउन र सकिन्छ भने विमानस्थल कालोपत्रे गर्न जरुरी रहेको उनले बताए। ‘एप्रोच (विमानस्थल वरपरको अवस्थिति) पनि हामीले घुमेर हे-यौं कुनै समस्या भएन,’ उनले थपे, ‘ल्यान्ड गर्न नसकेका बेला इस्टएप्रोच पनि गर्न सकिने रहेछ। टेस्ट गरेरै हे-यौं।’ उनले मैदान भिरालो भएकाले पानी परेको बेला चाहिँ माटो बगाएर समस्या हुन सक्ने औंल्याए। 

आफ्नो जिल्लामा पहिलो पटक विमान अवरतण र उडान हुने थाहा पाएका सयौं इलामे विमानस्थल पुगेका थिए। उनीहरूले विमान मैदानमा बस्नेबित्तिकै ताली बजाए। जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले जिल्लामा पहिलोपटक विमान उडाएर आएका चालक दलका सदस्यलाई फूलमालाले स्वागत गरे। जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि, जनप्रतिनिधिलगायतले चालकहरूलाई फूलमाला पहि-याएका थिए।

सुकिलुम्बामा विमानस्थल निर्माण सुरु भएको १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ सफल भएको हो। विमानस्थलमा ६ सय ८० मिटर रनवे र ३० मिटर चौडाई छ। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त हुने इन्जिनियर पुष्प नेउपानेले जनाए। ‘अहिले विमानस्थल ८ प्रतिशत स्लोभ (एकापट्टिबाट अर्कापट्टिको उचाई ४५ मिटर अग्लो) छ,’ उनले भने, ‘हुन त पूर्ण रूपले सीधा मैदान बनाउनुपर्ने हो तर यसलाई भौगोलिक अवस्थाअनुसारको बनाइएको छ।’ विमानस्थलको उडान र अवतरण हुने विन्दुलाई प्राविधिक भाषामा ‘०८÷२६’ नामाकरण गरिएको छ। पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गई विमान मैदानमा बस्ने र विपरित दिशाबाट उडान गर्ने व्यवस्था मिलाइएको थियो।

अहिले कच्ची अवस्थामा रहेको विमानस्थल आउँदो वर्ष ग्राभेल गर्ने योजना प्राधिकरणको छ। चालू आर्थिक वर्ष विमानस्थलको रनवेका लागि १० करोड र तल्लो भागमा सडक बनाउन ७ करोड रुपैयाँको काम भइरहेको छ। विमानस्थलका लागि अहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइरहेको प्राधिकरणले जनाएको छ। ‘रनवेलाई नालीसहित कालोपत्रेसम्मको अवस्थामा पु-याउन अब १५ करोड रुपैयाँ लाग्नसक्छ,’ इन्जिनियर नेउपानेले भने, ‘टर्मिनल भवन बनाउन र सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।’ ३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। २०५८ सालमा यहाँ विमानस्थल निर्माण प्रक्रिया शुरु भएको थियो। त्यसको ९ वर्षपछि शिलान्यास भएपनि बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App