८ वैशाख २०८१ शनिबार
खेल

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

क्याप्सनः नेपालगन्ज–११ का व्यवस्थापक गान्धी हमाल (बायाँ) र एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठ। तस्विरः विशाल रानामगर

बाँके – पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।

खजुराको डी गाउँमा सोमबारदेखि सुरु हुने प्रतियोगितालाई घरेलु टोलीले विगतलाई सुधार गर्ने लक्ष्य लिएको छ। महेन्द्र रंगशालामा भएका अघिल्ला दुई संस्करणको नतिजा घरेलु टोलीका लाग सम्झन लायक छैन। मिहिनेत गरे पनि घरेलु टोली दुवै संस्करणको पहिलो खेलमै पराजित भएको थियो। घरेलु दर्शकले आफ्नो टोलीको एक खेलभन्दा धेरै हेर्ने अवसर पाएनन्। तेस्रो संस्करणमा घरेलु दर्शकलाई निराश नपार्ने बताउँछन् नेपालगन्ज–११ का व्यवस्थापक गान्धी हमाल। ‘तयारी राम्रो गरे पनि हामी पहिलो खेलबाटै बाहिरिने गरेका छौं,’ हमालले भने, ‘ए डिभिजन क्लबसँग खेलेको अनुभव हामीसँग छैन। प्राविधिक कुरामा कमजोर भएर मिहिनेत गरेअनुसार नतिजा आएको थिएन। तर यस पटक परिपक्व भएर खेल्ने कोसिस गर्छौं। दर्शकलाई निराश पार्ने छैनौं।’

शनिबारसम्म चल्ने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा आयोजक नेपालगन्ज–११, एपिएफ र लाली रूपन्देही–११ छन्। समूह ‘बी’ मा सुदूरपश्चिम–११, सरस्वती क्लब र सिएमजी संकटा क्लब छन्।

आयोजकविरुद्धको खेल जित्न एपिएफलाई सहज छैन। टोलीका मुख्य खेलाडी विष्ट दाजुभाइ रञ्जन, अञ्जनसँगै राजेन्द्र रावल, आदित्य चौधरी नेपालगन्ज आएको एपिएफ टोलीमा छैनन्। रञ्जन थ्री स्टार र अञ्जन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा आबद्ध भएका छन्। राजेन्द्र घाइते छन्। आदित्य विभागीय तालिममा छन्। १५ वर्ष एपिएफको जर्सीमा खेलेका सुदीप श्रेष्ठको प्रशिक्षणमा एपिएफ नेपालगन्ज खेल्न आएको छ। सुदीपले टिमको प्रशिक्षण हेर्न थालेको करिब डेढ वर्ष भयो। दशकसम्म एपिएफबाट खेलेका सुदीपलाई नेपालगन्जबाट सुखद नतिजा निकाल्न दबाब छ। घरेलु टोलीविरुद्धको खेल कठिन हुने सुदीपले बताए। उनले भने, ‘विभागीय टोलीलाई दबाब सधैं हुन्छ। घरेलु मैदानमा घरेलु टोलीसँग खेल्न सहज हुँदैन। हामीले त्यो कुरा बुझेका छौं। आयोजक कस्तो छ हामीलाई थाहा छैन। जित हासिल गरेर अगाडि बढ्ने लक्ष्यसहित खेल्छौं।’

आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही थुप्रै चुनौतीका बीच खजुरामा स्तरीय प्रतियोगिता हुने बताउँछन्। उनले भने, ‘बाँकेमा ए डिभिजन क्लबलाई ल्याएर खेलाउन सहज छैन। नेपालमा अहिले पनि तीनवटा गोल्ड कप भैरहेका छन्। हामी थुप्रै चुनौतीलाई पार गर्दै तेस्रो संस्करण गर्दै छौं। स्तरीय टिम ल्याउने, मैदान, आर्थिक अभावका बीच प्रतियोगिताले निरन्तरता पाइरहेको छ।’ खजुरा गाउँपालिकास्थित न्यु डाफे स्पोटर््स क्लबले मैदान व्यवस्थापनको जिम्मेवारी लिएको छ। प्रतियोगिताले खजुरा क्षेत्रमा फुटबल विकासमा सहयोग गर्ने न्यु डाफे स्पोटर््स क्लबका अध्यक्ष तिलकवीर सुनारले बताए।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र प्रत्येक विधाका उत्कृष्टले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App