७ वैशाख २०८१ शुक्रबार
अन्य

‘कर्मचारीलाई कडाई गरेको छु

गोपीलाल सिङ्तान, अक्ष्यक्ष कोञ्ज्योसोम गाउँपालिका


जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने केके काम गर्नुभयो ?
जनताले जे मागेका छन् हामीले पनि त्यही विषयलाई आफ्नो मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाका केही काम त गरिसकेका छन् ।

यो क्षेत्रमा सदियौंदेखि खानेपानी र सडकको समस्या थियो । हामीले पनि यी समस्यालाई समाधान गर्नका लागि अहिले काम गरिरहेका छन् । यसैमा काम गर्नको लागि आर्थिक बर्ष २०७४÷७५ को लागि नीति तथा कार्यक्रम तय गरेका छौं । यो क्षेत्र गाउँमा पर्ने भएकोले स्थानीय जनजीवनलाई कृषिबाट कसरी बदल्न सकिन्छ भन्नेबार हामीबले बहस र छलफल पनि गर्दै आएका छौं ।

हालसम्मको अवस्थालाई हेर्ने हो भनेपनि यहाँका स्थानीयको जीवनशैली भनेको गाउँले नै हो । धेरैले खेतीपाती गर्छन् । उनीहरुले गाउँपालिका प्रति ठूलो अपेक्षा पनि राखेका छैनन् । सामान्य समस्या जुन समस्या उनीहरुको प्रत्यक्ष दैनिकीमा जोडिएको छ, त्यही समस्या हल गर्न उनीहरुको सुझाव छ।

तपाईको गाउँपालिकाले कस्ता योजना अघि सारेको छ ?
ललितपुर जिल्लाको यस कोञ्ज्योसोम गाउँपालिकामा हामीले राष्ट्रिय स्तरको ३ वटा गौरवका आयोजनाहरु अघि सारेका छौं । पहिलो– गाउँपालिकाको भवन छैन । त्यसलाई मुख्य स्थानमा राखेका छौं र यहाँका पूर्वाधार विकास पनि यही भित्रै छन् । दोश्रो– हामीले गाउँपालिकालाई संविधानले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिका धाउने स्थानीयलाई यातायात सुविधा दिने । १५ मिनेटमा गाउँपालिकाका सबै वडामा पुग्न सक्ने गरी सडक विस्तारको योजना अघि सारेका छौं ।

तीन किमीसम्मको सडकलाई हामीले गुरुयोजनाको रुपमा अघि सारेका छौं । तेश्रो– पर्यटन विकासलाई उठाएका छौं । यो क्षेत्रमा धेरै धार्मिक  ठाउँहरु छन् । तीनीहरुको मर्मतसम्भार गरी पर्यटकीय रुपमा पनि विकास गर्न सकिन्छ । यो गाउँपालिका विशुद्ध तामाङ भाषाले नामाकरण भएको हो । यसको प्रतिक निर्माण पनि फुलचोकी भन्दा पनि गरेका छौं । यस क्षेत्रमा तीनवटा देवता छन् । ती देवताको मुर्ति बनाउनको लागि एक करोड बजेट छुट्याएका छौं।

आफ्नो गाउँपालिका भित्र सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने के योजना छ ?
सडक विस्तार बिना विकास सम्भव छैन । त्यसैले हामीले सडक विस्तारको लागि एक करोडभन्दा माथि बजेट निवियोजन गरेका छौं । केही सडक चौंडा पार्ने काम भएको छ।

तपाईको क्षेत्रमा भुकम्पले ध्वस्त पारेका वस्ती र सम्पदाहरु पुनर्निर्माण कहिलेसम्म हुन्छन् ?
अझै पनि दुई सय भन्दा बढी घरधुरी टहरामा छन् । म आफै पनि टहरामा बस्दै आएको छु । अन्य पीडितहरुलाई मैले सक्दो पहल गरिदिएको छु । पुनर्निर्माणको सबै जिम्मा गाउँपालिकालाई छैन । पुनर्निर्माण प्राधिकरणले नै काम गर्दै आएका छ, त्यसैले प्राधिकरणको कुरा अनुसार अघि बढ्छौं।

कोञ्ज्योसोम गाउँपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र मानिन्छ, यसबारे गाउँपालिकाले के योजना बनाएको छ ?
पर्यटकीय क्षेत्र विस्तारको लागि वडा तीनमा रहेको दलचौकीमा भ्युटावर निर्माणको योजना पनि हामीले सुरु गरेका छौं । त्यसको लागि डिपी आरको काम पनि सुरु भएको छ ।

यसलाई कसरी विकास गर्ने भन्ने विषयमा यस क्षेत्रका राजनीतिक पार्टीहरुसँग हामीले समन्वय पनि गर्दै आएका छौं । कोन्जोसोमको माथिल्लो साइकल पदयात्रा गराउने उद्देश्यले काम अघि बढाएका छौं । यो अवधारण पनि मैले नै सुरु गरेको थिएँ । त्यसको बजेटको सिलिङ र कार्यक्रमहरु भइसकेको छ । कृषि विभागले एउटा ड्राफ्ट बनाएर हामीलाई पठाएको छ । अब यसबारे हामी प्रक्रियागत रुपमा अघि बढेर काम सुरु गर्छौं ।

अहिले जिल्लाको सबै शैक्षिक क्षेत्र स्थानीय तहमा सरेको छ, यसबारे गाउँपालिकाकोे अभ्यास कस्तो छ ?
हामीले यो बर्षबाटै अभ्यास थालिसकेका छौं । हाम्रो गाउँपालिकामा यो बर्षको प्रश्नपत्र छपाईको काम पनि भएको थियो । गाउँपालिकाभित्रका सबै निकायका प्रमुखहरुलाई बोलाएर छलफल गरेर शैक्षिक क्षेत्रलाई कसरी लैजाने भनेर छलफल पनि भएको थियो । अरु नगरपालिका अझै अलमलमा छन् ।

तर, हामीले शैक्षिक क्षेत्रलाई अघि बढाइसकेका छौं । मलाई लाग्छ मेरो कार्यकालमा शैक्षिक क्षेत्रमा धेरै काम हुन्छ । स्थानीय तहमा शैक्षिक क्षेत्र सुधारको लागि मैले अन्य नयाँ योजना बनाएको छु । निजी विद्यालय र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर एउटै बनाउने, वडा र जिल्लाभित्र रहेका सबै विद्यालयलाई एकरुप बनाएर शैक्षिक क्षेत्रलाई सुधार्ने प्रयासमा छु । सामूदायिक विद्यालय पनि निजी जस्तै गुणस्तरीय हुन सक्दो रहेछ भन्ने विश्वास जनतालाई दिलाउन चाहन्छौं।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
सजिलो र गाह्रो भन्नेकुरा आफ्नो हातमा भर पर्छ । सरकारी कार्यालयहरुमा सुशासन ल्याउन, कर्मचारीलाई तह लाउन सबैभन्दा गाह्रो भयो । अहिले धेरै काम सहज बनाइसकेको छु । स्थानीयलाई जनचेतनाका कार्यक्रममा सञ्चालन गर्ने, आधुनिक कृषिको सामुदायिक संस्थाहरु सठन गर्ने, एकल महिलाका लागि सहकारी दर्ता गर्ने र गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई नपाल्नेहरुलाई सेवा सुविधाबाट बन्चित गर्ने नीति ल्याएका छौं । यी नियम ल्याउन केही कठिन पनि भएको थियो । एक हिसाबले भन्नुपर्दा आफ्नो क्षेत्रमा अभिभावकत्व निभाएको छु।

तपाईंको गाउँपालिका अधिकांश सडक लथालिंग देखिन्छन्, कहिलेसम्म सुधार्नुहुन्छ ?
सडकको अवस्था विजोग भएकोले नै यातायात सेवा पनि विजोग भएको हो । म निर्वाचित भएयता धेरै सडक खुलेका छन् । केही सडकहरु चौंडा पारेका छौं । व्यवसायिक जागिरमा लागेका मानिसहरु दैनिक रुपमा यसरी नै खादिएर यात्रा गर्न बाध्य थिए, अब यो समस्या केही हदसम्म कम भएको छ ।

यातायातलाई मध्यनजर गर्दै हामीले यस क्षेत्रमा सञ्चालनमा आएका तीनवटा बस सञ्चालन गरेका छौं । यी बसहरु दिनभरी चापागाउँबाट ओहोरदोहोर गर्छन । पहिले भन्दा केही संखु र दलचौंकीको रुट पनि बनाएका छौं । यो कुरा डिभिजन सडकमा उठाएका छौं । यो क्षेत्रमाा पनि साझा बस गुडाउने मेरो उद्देश्य हो।

पछिल्लो समय गाउँपालिकाले गरिरहेका कामहरु केके हुन् ?
शैक्षिक क्षेत्र सुधार, शुशासनमा सुधार, पारिवारीक बेमेलका समस्या हल, आधुनिक कृषिमा आधुनिक अवधारण अंगालेर कृषिको विकास र पूर्वाधारको क्षेत्रमा पनि राम्रो काम गरेका छौं । कर्मचारीको नियमन पनि गर्दै आएका छौं । प्रशासनिक कार्य र शैक्षिक क्षेत्र सुधार अन्य तहमा भन्दा मैले राम्रै बनाएको छु।

गाउँपालिकामा बसेर काम गर्दा केके समस्या देख्नुभयो ?
विगतमा गाविसमा काम गर्नेहरुले सबै फाइलहरु गायब बनाएका छन् । बरबुजा बुझाएका छैनन । मैले नामै किटान गर्न चाहन्छु बरबुजा नबुझाउने र फाइलहरु हराउने राधा ढकाल हुनुहुन्छ । विगतमा रहेर काम गर्नेले जन्मदर्ता, मृत्युदर्ता र अन्य महत्वपूर्ण कागजात गायव बनाएका छन् । अहिले हामीलाई यसले अप्ठेरो पारेको छ । यसले निकै कठिन बनाएको छ।

कर्मचारी कसरी परिचालन गर्नुभएको छ ?
मेरो गाउँपालिकामा करिब १५ जना कर्मचारी छन् । यी कर्मचारीलाई शाखागत हिसाबले जिम्मेवारी बाडफाड गरेको छु । मेरो गाउँपालिकामा प्रशासनिक काममा कडाई गरेको छु । कर्मचारीलाई विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म  म आफै बसेर अनुगमन गरिरहेको छु । काम छाडेर छिटो भाग्न खोज्नेलाई कारबाही गरेको छु ।

विगतमा कर्मचारीकै कारण सरकारी सेवाको नागरिकले राम्ररी प्रत्याभूत गर्न नपाएको यथार्थ म आफैलाई पनि थाहा छ । त्यसैले अहिले कर्मचारीलाई चुइक्क दायाँबायाँ गर्न दिएको छैन । जनताको सेवा गर्न जागिर खाएका सबै कर्मचारी बफादार हुन्थे भने यो देशको हाल यस्तो हुने थिएन।

विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
जनसहभागीता उत्साह जनक छ । पहिले दुःख पाएर बसेका स्थानीय जनप्रतिनिधि आएपछि खुशी भएका छन् । उनीहरुका सामान्य समस्या हामीले हल गरिसकेका छौं।

युवाहरुलाई लक्षित गरेर वडा कार्यालयले कस्ता कार्यक्रम ल्याएको छ ?
आधुनिक कृषि प्रणालीका धेरै योजनाहरु ल्याएको छु ती सबै योजना युवामै केन्द्रित छन् ।

तपाईले आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
गाउँपालिकालाई हराभर बनाउने धोको छ । अहिले दुर्गभ भएपनि पाँच बर्षभित्र सम्पन्न ठाउँ बनाउने योजना छ । हिजो जनताको दैलोका बोकेर गएका घोषणा पत्र अहिले पनि बेलाबेलामा पल्टाएर हेर्ने गरेको छु । तीनलाई कसरी मुक्त रुप दिने भनेर अभ्यास थालेको छु । म आइसकेपछि शान्ति सुरक्षाको लागि अस्थायी प्रहरी प्रशासन ल्याएँ ।

दोश्रो कुरा एक गाउँपालिकामा बैंकिङ सेवा पनि विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छु । प्रत्येक शैक्षिक सत्रमा विद्यार्थीसँगै शिक्षकको पनि जाँच लिने कार्यविधि बनाएको छु । विषयगत शिक्षकले आफूले बढाएको विषयमा ६० प्रतिशत विद्यार्थी उर्तिण गराउन सकेनन् भने तीनीहरुलाई सेवाबाट बञ्चितसम्म गराउने व्यवस्था ल्याउन लागेका छौं । पूर्वाधार विकासमा पनि एकरुपता ल्याउने गरी काम थालेका छौं  । हिजो मकै भुटेर बाडेको जस्तो विकास भएको थियो । अब समान विकासलाई हामीले जोड दिने अवधारण अघि सारेका छौं ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App