coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निजी वायुसेवा कम्पनीले गरे हवाई भाडा बढाउने निर्णय

काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ।

नेपाल आयल निगमले शनिबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १ सय रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्। यसअघि गत माघ अन्तिम साता पनि भाडा बढाएका थिए। 

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो।

अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३१७० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२८७० रुपैयाँ तिर्नुपर्ने छ

‘सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी भाडा बढाउने निर्णय भएको छ र बढेको भाडा दर जेठ २२ गतेबाट कार्यान्वयनमा आउँछ,’ संघको सदस्य वायुसेवा सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले आइतबार  नागरिकसँग भने, ‘इन्धनको भाउ बढेपछि बाध्य भएर भाडा बढाउनुपरेको हो। यसमा हामीलाई केही पनि नाफा हुँदैन, इन्धन लागतमात्र लिने हो।’

बढाउने निर्णय गरिएको भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार १ सय ७० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ८ सय ७० रुपैयाँ तिर्नुपर्ने छ। जसअनुसार सिमराका लागि ४५ रुपैयाँ र धनगढीका लागि २ सय २० रुपैयाँ बढी लाग्ने छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। सबै भाडा ‘नर्मल’ हुन्।

त्यसैगरी काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु १ सय ७० रुपैयाँ, पोखरा ८०, भैरहवा १ सय, विराटनगर १ सय २०, भद्रपुर १ सय ५०, भरतपुर ५५, नेपालगन्ज १ सय ६५, जनकपुर ६५, सुर्खेत १ सय ७५ र तुम्लिङटारका लागि ९५ रुपैयाँ बढी तिर्नुपर्ने छ। 

त्यसपछि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार ४ सय ७० रुपैयाँ, पोखरा जान ५ हजार ३०, भैरहवा ६ हजार ३ सय, विराटनगर ७ हजार ५ सय ७०, भद्रपुर ९ हजार १ सय ५०, भरतपुर ३ हजार ६ सय ५५, नेपालगन्ज १० हजार १५, जनकपुर ४ हजार २ सय ६५, सुर्खेत ८ हजार ६ सय ७५ र तुम्लिङटार जान ६ हजार ४५ रुपैयाँ लाग्ने छ।

 

प्रकाशित: २० जेष्ठ २०७५ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App