coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

कालिकोट- कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ। वर्षौसम्म अलपत्र परेको सडक नेपाली सेनाले  ट्रयाक खोलेपछि कर्णालीवासीको मुहारमा खुसीको सीमा छैन।

कर्णाली करिडोरमा सडक निर्माणको गतिले निरन्तरता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार हुने भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णालीकरिडोर सेनाले निर्माण गर्न थालेपछि तिव्र गतिमा निर्माण भईरहेको हो। कालिकोटको खुलालु जिरो प्वाइन्ट रहेको करिडोरमा३८.५ किलोमिटर सडक निर्माण गरिएको सडक निर्माण कार्य दलका प्रमखु मजेर मिलन कार्कीले बताए। खुलालु भिडको २ किलोमिटर बाहेकको कालिकोट खण्डको पुरै ट्रयाक खोलिएको मेजर कार्कीले बताए।

प्राविधिक कठिनाइएले २ किलोमिटर सडक निर्माण हुन सकेको छैन। कर्णाली करिडोर अन्तर्गतको खुलालुदेखि हुम्ला सिमीकोटसम्म १९६ किलोमिटर सडकको लम्वाइ रहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ। ४० किलोमिटर मात्र सडक कालिकोट खण्डमा रहेको जसमा खुलालुको २ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको छ।

अन्य ठाउँमा निर्माण कार्य पुरा भएको भुक्का खोलाको भीर फोडेमा करिब ७० किलोमिटरसम्म गाडी संचालन गर्न सकिने नेपाली सेना निर्माण कार्यदलले बताएको छ। कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट व्यवस्थापन गरेको थियो। कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलीसल्ला सम्म नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको छ।

कर्णालीको मुहार फेरिंदै

रोग भोक र गरिबीले उदाहरण बनेको कर्णाली अव भने समृद्धिको परिचय दिने भएको छ। कर्णाली करिडोर निर्माण कार्य सम्पन्न भए देशकै नमुना प्रदेशका रुपमा मुहार फेरिने छ। कालिकोट देखिको दुरी हेर्दा पहिलाको तुलनामा निर्माणको गति निकै बढ्दो छ। कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमकोटखण्ड छोटिँदै गएको छ। ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आवतजावत गर्न थालेका छन्।

करिडोरको सान्नीगाडमा ‘बेलिब्रिज’ निर्माण भएपछि कालिकोटमा गाडी संचालनमा सहज भएको छ। हुम्लामा बेलीब्रिज हुँदा हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको छ। ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो। यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर मात्र गाडी गुड्ने गरेका थिए। हिल्सा सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको थापाले बताए

समृद्धिको प्रमुख आधार करिडोर

कर्णाली करिढडोर निर्माण पुरा भए कर्णाली प्रदेशकै आर्थिक समृद्धिको प्रमुख आधार सडक हुने छ। भौगोलिक विकटताले पछि परेको कर्णालीका विकट जिल्लामा सडकको पहुँच पुगे पछि आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा सडक रहेको छ। कर्णाली प्रदेशको विकासको मुख्य गेट कर्णाली करिडोर भएको यहाँका जानकारहरु बताउँछन्। सात वटा प्रदेश मध्यकै छिमेकी देशसँग नाका नखुलेको प्रदेश कर्णाली हो। तर, कर्णाली करिडोर निर्माण कार्य पुरा भएमा चीनसंगको नाका नजिक पर्ने भएको छ।  नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषित गरेको बहुचर्चित कर्णाली करिडोरमा गाडी गुड्दा अव कर्णाली समृद्धीको यात्रामा अघि बढेको यहाँका जानकारहरुको बुझाइ छ।

कर्णाली करिडोरले चीनसँगको सीमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्नेछ। यसको कुल लम्बाई ५ सय ३० किलोमिटर रहने छ। सडकखण्ड निर्माण भए भारतबाट हुम्लाको मानसरोवर आउने पर्यटकको लागि अत्यान्तै छोटो दुरी सडक बन्ने छ।  आन्तरिक र बाह्यपर्यटकका लागि निकै राम्रो र छोटो दुरीको कर्णाली राजमार्ग हुनेछ। करिडोर निर्माण भए पर्यटन र ब्यापारका दृष्टिकोणले तीन देशिय ट्रान्जिट विन्दु बन्ने भएकोले विकासको दृष्टिकोणले पछाडि परेको कर्णालीको बास्तविक पहिचान हुने कर्णालीवासीको भनाई छ। कर्णाली करिडोर निर्माण पुरा भएपछि कर्णालीमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका विकासका पूर्वाधारहरुमा राम्रो विकासले फड्को मार्ने देखिन्छ।

 

 

 

प्रकाशित: २० जेष्ठ २०७५ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App