coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सिंहदरबारमा जताततै कुकुरको झुण्ड

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ । तर, सिंहदरवारमा मानिसको मात्रै होइन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरवारमा जताततै भुस्याहा कुकुरको झुण्ड देख्न सकिन्छ । यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् । सिंहदरबार काठमाडौं महानगरपालिकाले ‘कुकुर व्यवस्थित क्षेत्र’ घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुण्ड हटेको छैन।

मंगलबार दिउँसो सिंहदरबार पुग्दा ठाउँठाउँमा कुकुरहरूको झुण्ड ठाउँठाउँमा देखिन्थ्यो । वन तथा वातावरण मन्त्रालयको अगाडि रहेको ज्ञानेश्वरी मन्दिरमा तीन वटा कुकुर देखिए । मन्दिरमा पाँच–सात कुकुरले बासस्थान बनाएका रहेछन् । मन्दिरका पुजारी भरत धितालका अनुसार बिहान–बेलुका मन्दिर वरपर कुकुरको झुण्ड देखिन्छ । ‘माउ बच्चा गरेर पाँच–सात वटै कुुकुर मन्दिर आसपास बस्छन्,’ उनले भने । उनका अनुसार दुई–तीन महिनाअघि कुकुरको बच्चाहरू पनि देखिन्थे । अहिले बच्चा देखिएका छैनन् ।

रेडियो नेपाल आसपासमा कुकुरको अर्काे झुण्ड देखियो । पार्किङ गरेर राखिएका गाडीमुनि तीन कुकुर सुतिरहेका थिए । एउटा कुकुर क्यान्टिन नजिकै डुल्दै थियो ।रेडियो नेपालका एक कर्मचारीका अनुसार यस क्षेत्रमा कुकुरहरू डुलिरहेका छन् । ‘यहाँ आठ–दश वटै कुकुरहरू देखिन्छन्,’ कार्यालय सहयोगी सुरेश थापमगरले भने, ‘यहाँ कुनो रहेको छ । त्यसैले यता बच्चा पाउने बेलाका कुकुरहरू बढी बस्छन् ।’ उनका अनुसार बच्चा पाउने बेला भएका कुकुरहरू रेडियो नेपाल छेउ आउँछन् ।

‘अलि अस्तिसम्म त बच्चा थिए, अहिले हुर्किसके,’ एक छेउमा गाडीका टायर थुपारिएको कुनातिर देखाउँदै उनले भने, ‘कुकुर त्यहीँ टायर थुपारिएको ठाउँमा ब्याउँछन् ।’ सिंहदरबारभित्र जन्मेका कुकुरका बच्चा कोही पाल्नेले लान्छन् । कोही गाडीले किचेर मार्छ । कोही विभिन्न रोग लागेर, खाना नपाएर मर्ने गरेको थापामगरले बताए । मरेका बच्चाचाँही उनै थापामगरले गाड्छन् । ‘अघिल्लो वर्ष ६ वटा कुकुरका बच्चा मरेर मैले नै गाडेको थिएँ,’ उनले भने, ‘यो वर्षचाहिँ मरेको देखेको छैन ।’ सिंहदरबारभित्र बस्ने कुकुरले मान्छे टोक्ने क्रममा भने नरहेको उनले बताए ।

रेडियो नेपालबाट पुनर्निर्माण प्राधिकरण पुगियो । त्यहाँ पनि तीन वटा कुकुर देखिए । तीन वटै कुकुर पार्किङ गरेर राखिएको फरक–फरक गाडीको तल सुतिरहेका थिए । त्यसपछि गृह मन्त्रालयको छेउमा रहेको त्रिभुवन आर्मी क्लबमा आउँदा चार वटा कुकुर देखिए । क्लबको आँगनमा कुकुर सुतिरहेका थिए । क्लबका एक खेलाडीका अनुसार त्यहाँ पनि आठ–दस वटै कुकुरको झुण्ड छ ।यसरी सिंहदरबार डुल्दा कुकुर जताततै भेटिए । यो क्षेत्र काठमाडौं महानगरपालिकाले गैरसरकारी संस्थासँग मिलेर कुकुर व्यवस्थित गरेको क्षेत्र हो । भुस्याहा कुकुरको समस्या बढ्दै गएपछि महानगरले आफ्नो क्षेत्रमा कुकुर व्यवस्थित गर्ने भन्दै ‘मनुमित्र’ कार्यक्रम ल्याएको थियो ।

महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठ कुकुरहरूलाई व्यवस्थित गर्ने अभियानको पहिलो चरण सिंहदरबारबाट सुरु गरिएको बताउँछन् । मार्च २०१६ त्रिवर्षीय ‘मनुमित्र’ कार्यक्रम बनाएर महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेसनल र दि जान गुडल इन्स्टिच्युटले सिंहदरबारबाट सुरु गरेको कार्यक्रम अहिलेसम्म महानगरले ३२ मध्ये १८ वडामा सञ्चालन गरिसकेको छ ।

तर, भुस्याहा कुकुरको बिगबिगी भने जस्ताको त्यस्तै छ ।वडा नं. २८ बागबजार पर्छ । यो महानगर उपमेयर हरिप्रभा खड्गीको वडा हो । यहाँ कुकुरको बिगबिगी अत्यधिक रहेको उपमेयर खड्गी बताउँछिन् । ‘मेरो वडामा मात्रै होइन, भुस्याहा कुकुरको बिगबिगी जताततै देखिन्छ,’ उपमेयर खड्गीले भनिन्, ‘कुकुर व्यवस्थित गरेको भन्छन्, खै के गरेको हो योबारे बुझ्नुपरेको छ ।’ उपमेयर खड्गीलाई मंसिरमा भुस्याहा कुकुरले लखेटको अनुभव सुनाउँदै बच्चा कुकुर देखिने गरेको बताइन् । बच्चा पाएकै अवस्थामा भने खड्गीले देखेकी छैनन् ।

वडा नं. १० पनि मनुमित्र कार्यक्रम सञ्चालन भएको क्षेत्र हो । बानेश्वर क्षेत्रमा पर्छ यो वडा तर कुकुरको बिगबिगी भने उस्तै छ । वडाअध्यक्षका रामकुमार केसीका अनुसार मनुमित्र कार्यक्रम खास प्रभावकारी हुन सकेन । ‘कुकुरको बिगबिगी जस्ताको त्यस्तै देखिन्छ,’ उनले भने, ‘बच्चा पाउने कुकुरहरू पनि छन् ।’ केही महिनाअगाडि कुकुरले बाटोमै बच्चा पाएर बिजोग भएकाले संरक्षण गर्न स्थानीयले वडामा निवेदन नै दिएको उनले बताए । दुई–तीन ठाउँमा कुकुरले बच्चा जन्माएको देखेको वडाअध्यक्षले बताए । बच्चा पाएर हुर्काउने पनि गरेका वडाध्यक्ष केसी बताउँछन् । कुकुरले सबैभन्दा बढी मोटरसाइकल लखेटेर दुघर्टना गराउने गरेको छ ।जबकी यो वडा सहित क्षेत्रमा कुकुर व्यवस्थापनको लागि दुई वर्षमा झण्डै दुई करोड रूपैयाँ खर्च भइसकेको छ ।

मार्च २०१६ त्रिवर्षीय ‘मनुमित्र’ कार्यक्रम बनाएर महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेसनल र दि जान गुडल इन्स्टिच्युटले साढे चार करोड रूपैयाँ खर्च गर्ने गरी मनुमित्र कार्यक्रम बनाएका थिए ।कुल बजेटमध्ये महानगरपालिका र गैससले आधा–आधा रकम खर्चने योजना छ । कार्यक्रमअन्तर्गत पहिलो वर्षमा ह्युमन सोसाइटीले एक करोड ५० लाख रूपैयाँ खर्च गरिसकेको छ । पहिलो वर्ष महानगरको लागत भने शून्य थियो ।

यसैगरी, दोस्रो वर्षमा एक करोड ५० लाख रूपैयाँ खर्चमध्ये ७५ लाख रूपैयाँ ह्युमन सोसाइटी र ७५ लाख महानगरले खर्चने सम्झौता भएको थियो । सम्झौताअनुसार सोसाइटीले ७५ लाख अनुदान उपलब्ध गराएर इन्स्टिच्युटले खर्चिसकेको छ । तर, कार्यक्रम प्रभावकारी नभएको टिप्पणी भएको भन्दै महानगर अन्योल थियो ।जेठ ११ गते भने महानगरले एक वर्षको लागि पुरानै सम्झौतालाई कायम राख्दै मनुमित्र कार्यक्रम अगाडि बढाएको छ । महानगरले चालू आर्थिक वर्षको बजेटबाट ७५ लाख खर्च गर्नेछ । यसअघि तीन लाख खर्च गरिसकेकाले ७२ लाख उपलब्ध गराउने गरी शुक्रबार सम्झौता भएको हो । चालू आर्थिक वर्षमा महानगरले यसका लागि एक करोड ३० लाख रूपैयाँको बजेट विनियोजन गरेको छ ।

महानगरले प्राविधिक सहयोग र औषधि उपलब्ध गराउन नसक्दा कुकुर व्यवस्थापन सोचेअनुसार हुन नसकेको दाबी द जेन गुड इन्स्टिच्युटकी ‘मनुमित्र’ कार्यक्रम संयोजक संगीता सापकोटाले गरिन् । दुई वर्षअघि सुरु भएको कार्यक्रमअन्तर्गत कुकुर गणना भने सकिएको महानगरले जनाएको छ । महानगरभित्र २१ हजार आठ सय ५६ कुकुर रहेको गणनाको तथ्यांक छ । त्यसमध्ये सात हजार चार सय २१ पोथी कुकुर छन् ।

यी पोथी कुकुरले सामान्यतः वर्षमा दुईपटक प्रजनन गराउँछन् । एकपटकमा करिब ६ वटासम्म बच्चा जन्मिन्छन् । कार्यक्रमअन्तर्गत कुकुरलाई सुरुमा रेबिजविरुद्ध खोप लगाउने र त्यसपछि बन्ध्याकरण गर्ने योजना रहेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए ।इन्स्टिच्युटकी सापकोटाका अनुसार हालसम्म महानगरका १८ वडामा कुकुर व्यवस्थापन भइसकेको छ । वडा– १, १०, १३ र १८ देखि ३१ सम्म गरी १८ वटा वडामा कुकुरलाई खोप लगाउने र बन्ध्याकरण गर्ने काम सकिएको छ । तर, स्थानीयवासी कुकुर व्यवस्थापन गरिएका क्षेत्रमै कुकुरले बच्चा जन्माइरहेको बताउँछन् ।

इन्स्टिच्युटले भने हालसम्म चार हजार पाँच सय कुकुरलाई बन्ध्याकरण गरिसकेको दाबी गरेको छ । सिंहदरबार, शान्ति निकुञ्ज स्कुल, नारायणहिटी संग्रहालय, कन्या स्कुल, छाउनीस्थित रेन्जर गण र जगडोल गणलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकिएको छ ।कार्यक्रमअनुसार १८ वटा वडामा ६५ जना पशु व्यवस्थापन सहायकसमेत नियुक्त भएका छन् । हरेक वडामा वडास्तरीय समिति गठन भएका छन् । समिति र यी सहायकले कार्यक्रम लागू भएका क्षेत्रमा भुस्याहा कुकुर भेटिएमा बन्ध्याकरण गराउन भूमिका खेल्नेछ ।

‘छाडा कुकुर व्यवस्थापनमा मनुमित्र कार्यक्रमले खास प्रभाव पार्न सकेको छैन,’ महानगर जनस्वास्थ्य महाशाखा प्रमुख श्रेष्ठ भने, ‘यसअघि कामको फेजमा रहेकाले अबचाहिँ नतिजा देखिनेमा आशावादी छौं ।’ मनुमित्र कार्यक्रम संयोजक सापकोटा पनि कार्यक्रम सकिएपछि खास प्रभाव देखिने बताउँछिन् । ‘मनुमित्र कार्यक्रमको उद्देश्य सधैँका लागि छाडा कुकुर व्यवस्थापन गर्नु हो,’ सापकोटाले भनिन्, ‘त्यसैले वडा समिति र पशु व्यवस्थापन सहायक राखेका छौँ ।’ उनका अनुसार वडाभित्र आउने नयाँ छाडा कुकुरको नियन्त्रण वडा समिति र पशु व्यवस्थापन सहायकमार्फत हुनेछ । नयाँ आउने छाडा कुकुरलाई उनीहरूले नै रेबिजविरुद्ध खोप लगाउने र बन्ध्याकरण गराउन मद्दत गर्नेछन् ।

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App