coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘पाँचवर्ष भित्रमा प्रथामिक स्वास्थ्य केन्द बनाउनेछु’

मनोहरि  तिवारी, वडाध्यक्ष तारकेश्वर नगरपालिका–३
जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधी विहीन भयो । लामो समय स्थानीय तहमा जनप्रतिनिधी नहुँदा विकास निर्माणको काममा प्रत्यक्ष रुपमा प्रभावित भएको रहेछ । अहिले जनप्रतिनिधीलाई काम गर्न भने जस्तो सहज छैन् । समयमै ऐन,कानुन नहुँदा सोचे अनुसारको काम गर्न सकेका छैनौं ।यद्यपी विकास निर्माणको कामलाई तिव्रगतिमा अगाडी बढाइरहेका छौं।

जनप्रतिनिधी भएर आएसँगै वडामा आधा दर्जनभन्दा धेरै कच्ची सडक ग्राभेलिङ गरेका छौं । तिनपिप्लेदेखि चौंगाउँसम्म एक किलोमिटर सडक ग्राभेलिङ र अस्थायी नाला निर्माण ग¥यौं । पुच्छारघरदेखि किसनडोल सम्मको ९० मिटरको सडक ढलान ग¥यौं । चिसापानीदेखि तिनपिप्लेसम्मको ५ सय मिटर सडक स्तरोन्नित  गरेका छौं । त्यस्तै गरी आठमाइलदेखि डाडाँगाउँसम्मको ७ मिटर चौडाको बाटोलाई १० मिटरको चौडा कायम राख्दै तीन किलोमिटर विस्तार गर्न सफल भएका छौं।

तपाईंको वडाका सडक लथालिंग छन्, कहिले मर्मत–सम्भार गर्नुहुन्छ ?
वडाका अधिकांश सडक कच्ची र ग्राभेलयुक्त छन् । लामो समयदेखि सडक विस्तार हुन सकेको छैन । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या छ । अधिकांश सडक कच्ची भएकाले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाबाट गुज्रिदैं आएको छ ।

जीतपुर खण्डको सडक अत्यन्तै लथालिङ र भद्रगोल रहेको छ । वडा कार्यालयसँग अति नै सीमित बजेट नहुँदा सडक व्यवस्थापनमा चुनौती थपिएको छ ।त्यसैले नगरपालिका र संघीय सरकारसँग समन्वय गरेर सडक कालोपत्रे गराउने योजना बनाएको छु ।

भूकम्पपीडितले अझैसम्म राहत रकम पाउन सकेका छैनन् नि ?
भूकम्पपीडितले राहत रकम सहज ढंगले पाइरहेका छैनन् । वडामा करिव साढे दुई सय धरधुरी अझै पनि टहरामा बस्न बाध्य भइरहेका छन् । जग्गा विवादकै कारणले उनीहरुले घर बनाउन नसकेका हुन् ।

विशेष गरी मोही र तलसिङ विचको जग्गा विवादले समस्या आएको हो । जग्गा स्वामित्वको विवाद नटुंगेसम्म राहत रकम वितरण नगर्ने सरकारी नीतिकै कारणले भूकम्पपीडीत तीन वर्षदेखि टहरामा बस्न बाध्य भएका हुन् । भूकम्पबाट वडामा ११ सय पीडित भएका थिए । तिमध्ये करिव  तीन सय जतिले भवन निर्माण गरिसकेका छन्।

भूकम्पले  ऐतिहासिक सम्पदा भत्काएका छन्,कहिलेसम्म पुननिर्माण गर्नुहुन्छ ?
वडाका पुराना बस्तीभित्रका सम्पदा क्षेत्र, मठ–मन्दिर, पाटीपौवाको जीर्णाेद्धार मर्मत सम्भारका काम गरिरहेका छौँ । २०७२ सालको भूकम्पले ऐतिहासिक पाँचमाने,सिद्धेश्वर, अक्बरेश्वर महादेव मन्दिरलाई क्षतिग्रस्त बनाएको थियो।

पुरातत्व विभागले सिद्धेश्वर महादेवको पुनर्निर्माणको काम गरिरहेको छ । वडा कार्यालयले अक्बरेश्वरको पुर्ननिर्माण गरिरहेको छ । यही आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्यसाथ धमाधम पुर्निर्माण भइराखेको छ । पाँचमानेको पुर्ननिर्माणमा अझै केही समय लाग्ने देखिएको छ।

कृषकको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
वडामा कृषियोग्य जमिन रहेको छ । अधिकांश स्थानीय जनताको मुख्य पेशा नै कृषि हो । वडामा कृषक समूह गठन गरेका छौँ । किसानलाई संगठित पारेर उनीहरूको माग अनुसार बीउविजन वितरण गर्ने, कृषिलाई आधुनिकीकरण गर्न कृषि तालिम दिनेलगायत काम गर्दै आइराखेका छौँ ।

किसानको माग र आवश्यकता अनुसार नगरपालिकाको तर्फबाट कृषि क्षेत्रका लागि बजेट विनियोजन गर्ने काम भएको छ । बेमौसमी तरकारी खेती र टनेल खेतिको लागि आवश्यक पर्ने उपकरण तथा औजार समेत उपलब्ध गराउँदै आएका छौं । च्याउ खेती तालिम सञ्चालनको तयारी सुरु भएको छ । वडा कार्यालयले सुपथ मुल्यमा विउविजन कृषकलाई उपलब्ध गराउँदैं आएको छ।

तपाईंको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
खानेपानीको हाहाकार होइन, व्यवस्थापन गर्न नसक्दा खानेपानीको समस्या भएको हो । समस्या भइराखेको छ । वडामा प्रर्याप्तमात्रा  खानेपानीका स्रोत रहेका छन् ।

खानेपानीका मुहान तथा मुललाई व्यवस्थित गर्न सकेका छैनौं ।वडामा खानेपानीको वितरण प्रणाली निकै पुरानै शैलीको रहेको छ ।त्यसको कारणले बेलाबखतमा खानेपानीको पाइप टुटफुट हुने समस्या रहेको छ । त्यसैले वडा कार्यालयले खानेपानीको वितरण प्रणालीलाई सुधार्ने तयारी गरेका छौं वडा कार्यालयले केही वर्षभित्रै एकघर एक खानेपानीसहितको धारा पु¥याउने लक्ष्य सहित काम गरिरहेको छ।

सामुदायिक विद्यालयको गुणस्तर खस्किदैं गइराखेको छ,कसरी सुधार्दै हुुनुहुन्छ ?

 सामुदायिक विद्यालयको गुणस्तर खस्किएको अनुभूति गरेका छौं ।त्यसैले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नको लागि सुधारको कार्यक्रम तयार पारिरहेका छौं । वडामा ३ वटा माध्यामिक विद्यालय, ३ वटा आधारभूत,एउटा बहुमुखी क्याम्पस र बाल सिकाई केन्द्र रहेका छन् । विद्यालयको गुणस्तर सुधार्नको लागि बालसिकाई केन्द्रदेखि नै अग्रेजी माध्यममा पठनपाठन सुरुवात गरेका छौं । विद्यालयका शिक्षक–शिक्षिकालाई विभिन्न तालिममा सहभागि गराएर क्षमताअभिवृद्धि लगायतका क्रियाकलापमा सरिक गराउँदै आइराखेका छौं।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषदबाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, सडक, ढललगायत पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि सारेको छ । क्षेत्रफलका हिसाबले वडा कार्यालयले धेरै ठाउँ ओगटेको छ । नगरपालिकाबाट अति नै कम बजेट विनियोजन हुँदा जनताको आकांक्षाअनुसार काम गर्न अप्ठेरो भइरहेको छ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
मेरो वडामा एउटा स्वास्थ्यचौकी रहेको छ । उक्त स्वास्थ्यचौकीलाई आगमी पाँचवर्षभित्रमा प्रथामिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्यसहित योजना अगाडी सारेको छु । अहिले स्वास्थ्यचौकी अहेवको नेतृत्वमा सञ्चालन हुदैं आएको छ । केन्द्र बनेसँगै चिकित्सकको नेतृत्वमा हुनेछ ।

जसबाट स्थानीय जनताले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाउनेछन् । अब नगरपालिका र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अस्पताल खोल्ने प्रक्रिया अघि बढाउनेछ । वडामा थानागढी भ्यूटावर रहेको छ । उक्त भ्यू टावर क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन लागिरहेका छौं  । थानागढी भ्यूटावरबाट वागमती अञ्चलका सबैजसो जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।त्यसैले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरिनेछ । प्रस्तुति : हिमाल लम्साल

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App