coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

विराटनगर– सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। 

खत्रीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अव ११८को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। खत्रीले बिहीबार विहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। जिल्ला अदालतले खत्रीसँग १२ पेज लामो बयान लिएको थियो। बयानपछि थुनछेक बहस भएको थियो। थुनछेक बहसमा सरकारका तर्फबाट मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए। यस्तै प्रतिवादीका तर्फबाट अधिबक्ता हेमराज पन्तले बहस गरेका थिए। 

सरकारी वकिलले प्राप्त गरेको प्रमाण र सह अभियुक्तको बयानले सुन तस्करी र संगठित अपराधमा खत्रीको संलग्नता देखिएका कारण संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन अव ११८को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए। एसएसपी  खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीको समूहलाई सहयोग गरेको प्रमाण भेटिएको दाबी गरेका थिए। 

सरकारी वकिलका अनुसार सुन तस्करीमा सहयोग गरेवापत खत्रीले गोरे समूहबाट १ करोड १२ लाख रुपैयाँ लिएको प्रमाणसमेत भेटिएको छ। फ्लाइ दुबईबाट आउने सुन श्याम खत्रीकै सहयोगमा बिमानस्थलबाट बाहिरिने गरेको अभियोगपत्रमा उल्लेख छ। 

प्रतिपक्षका तर्फबाट बहस गर्ने वकिलले भने खत्रीले सुन तस्करी र संगठित अपराध गरेको कुनै पनि प्रमाण फेला नपरेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए। सह अभियुक्तले पोलेकै भरमा कसैलाई थुनामा राख्नु मुनासिफ नहुने प्रतिवादी तर्फका वकिलको  जिकिर थियो।  

प्रकाशित: १७ जेष्ठ २०७५ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App