४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

धनगढी - प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती विवरणअनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री त्रिलोचन भट्टको रहेको छ भने आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी देखिएका छन्।

मुख्यमन्त्री भट्टलेआफ्नो नाममा घर, जमिन केही नदेखाएका उनले ३ लाख ४० हजार ऋणमा रहेको देखाएका छन् । वित्तीय संस्थाबाट लिएको १ लाख ४० हजार र व्यक्तिबाट लिएको २ लाख ऋण रहेको उनले सार्वजनिक गरको सम्पत्ति विवरणमा उल्लेख छ । मुख्यमन्त्री भट्टले बंैक मौज्दात ७० हजार , १ तोला सुन र १५ तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन् । उनकी पत्नी दुर्गादेवी भट्टका नाममा डोटी केआइसिंह गाउपालिका ६ मा २.५ रोपनी जग्गा रहेको देखाइएको छ भने उनका दाजु शालीग्राम भट्टको नाममा केआइसिंह ६ मा १ घर रहेको छ भने १८ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ।

सबैभन्दा बढी सम्पत्ति भएका मन्त्री आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराको बैंक मौज्दात ६ लाख ४५ हजार रुपैयाँ, ३ वटा कार, ४० तोला सुन, ७ करोड ५१ लाख, ३६ हाजार रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरिएको छ । यसैगरी मन्त्री बोहराको नाममा काठमाडांै ४ मा १५९८ वर्गमिटर जग्गा, कैलाली गोदावरी २ मा ४ रोपनी १० आना जग्गा, कैलाली टीकापुर ९ २ कठ्ठा जमिन रहेको उल्लेख छ । पत्नी दुर्गा बोहराको नाममा कैलाली धनगढी ४ मा ४ कठ्ठा १२ धुर जग्गा, कैलाली लम्की चुहा ३ मा ४ कठ्ठा १५ धुर, कैलाली टीकापुर ९ मा २ बिघा १६ कठ्ठा र काठमाडौं ७ मा १ रोपनी ३ आना , काठमाडौं ४ मा १६०९ वर्ग मिटर जग्गा रहेको उल्लेख गरिएको छ । उनको छोरा कृष्ण बोहराको नाममा गोदावरीमा १ रोपनी जग्गा रहेको उल्लेख छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको ७३ हजार बैंक खातामा, ५२ तोला सुन, ५ सय ५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । उनको भने ४ लाख ६५ हजार १ सय बरावरको सेयर रहेको छ । स्कुटर १ रहेको छ । उनको पत्नी लक्ष्मी भट्टका नाममा काठमाडौं गोठाटार ८ मा पक्की घर रहेको छ । पत्नीकै नाममा धनगढी उपमहानगरपालिका ४ मा ६ कट्टा ८ धुर जग्गा र कञ्चनपुर दैजी ८ मा १६९३.१५ वर्गमिटर जग्गा रहेको उल्लेख गरिएको छ । दाजु डम्बरबहादुर शाहको नाममा बजुरा बुढीगंगा ६ मा १२०५ वर्ग मिटर जग्गा र एक घर रहेको छ । यसैगरी बाजुरा बढीगंगा ६ मै ९७८० वर्गमिटर जग्गा रहेको छ।

यस्तै, समाजिक विकास मन्त्री दीर्घ सोडारीको बैंक खातामा ५ लाख ६० हजार, ६ तोला सुन, २० तोला चाँदी र २ हजारको सेयर रहेको उल्लेख गरिएको छ । पत्नी गीता सोडारीका नाममा धनगढी उपमहानगरपालिका १ मा १ कठ्ठा १ धुर जग्गा, पक्की घर १ र कच्ची घर १ रहेको उल्लेख गरेको छ । यसैगरी वार्ड १ मै पत्नी सोडारीको नाममा १२ धुर जमिन भएको उल्लेख गरिएको छ । यसैगरी बुवा लोकबहादुर सोडारीका नाममा कैलाली गौरीगंगा ५ मा १५ कठ्ठा जमिन १ घर र अछाम मंगलसेन १२ मा ४ रोपनी जमिन र १ घर, मंगलसेन १४ मा ४ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ । यसैगरी १ कठ्ठा र १ घरमा ववी मसला उद्योग रहेको छ ।

यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको २ लाख ६४ हजार ८३ रुपैयाँ बैक मौज्दात, सुन ४ तोला र चाँदी आाधा किलो, ५ हजार ५ सय बरावरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डडेल्धुरा परशुराम ३ मा १ घर, १६–४–१ रोपनी जमिन, डडेल्धुरा परशुराम ४ मा ३ रोपनी जमिन रहेको उनले उल्लेख गरेका छन । पत्नी मौनादेवी बोहराका नाममा डडेल्धुरा अमरगढी ३ मा ०–१–३–३ रोपनी जमिन रहेको उल्लेख छ ।

यसैगरी बुवा भवानसिह बोहराको नाममा डडेल्धुरा परशुराममा १ घर र १० रोपनी जमिन भएको उल्लेख गरिएको छ ।
यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको बैंक मौज्दात ५ लाख, मोटरसाइकल १, सुन १५ तोला र २० लाख ६५ हजार बरावरको सेयर रहेको उल्लेख गरिएको छ । माया भट्टको नाममा बैतडी दशरथचन्द नगरपालिका ५ मा १ रोपनी र १ घर रहेको उल्लेख छ ।

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीको बैंक मौज्दात ५० हजार, एक मोटर साइकल, ७ तोला सुन,३५ तोला चाँदी र ६२ हजार ५ सय बरावरको सेयर रहेको सार्वजनिक गरिएको छ । कैलाली भजनी ४ मा पति परशुराम चौधरीको नाममा ४ कठ्ठा जग्गा र १ घर , कैलाली भजनी ४ मै १ बिघा जग्गा रहेको उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता विसनसिंह थापाले ६० दिनभित्र मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको बताए।

प्रकाशित: १७ जेष्ठ २०७५ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App