८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकाको विकासमा चीनको सहयोग, दुई पक्षबीच हस्ताक्षर

चिनिया कम्पनीसँग ३ खर्बको प्रथम चरणको सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर चौधरी । तस्विर : नागरिक

उदयपुर– त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ। 

नगरपालिकाले ‘त्रियुगा सभ्यता’ गुरुयोजना अन्तर्गत गर्ने लगानीको सम्झौतापत्रमा नगरपालिकाका मेयर बलदेव चौधरी र जेङसी ग्रुप सान्दोङका अध्यक्ष जिइ सियोङले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नगरपालिकाभित्र सौर्य उर्जा, कृषि, प्राविधिक शिक्षा, फर्निचर, खानी तथा उद्योग र पर्यटन विकासको क्षेत्रमा चीनले लगानी गर्ने गर्नेछ। चिनियाँ कम्पनीले पब्लिक प्राईभेट पार्टनरसिप (थ्री–पी) मोडलमा त्रियुगा नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी हस्ताक्षर गरेको हो। समझौतापत्रमा सुरु चरणको कार्यक्रम सफल भएमा त्रियुगा नगरपालिकामा चीले करिब १६ सय अर्बसम्म लगानी गर्ने उल्लेख छ। 

चीनले तत्काल थाल्नेगरी पहिलो चरणमा ३ सय अर्बको सौर्य उर्जा र कृषिसँग सम्बन्धित काम गर्ने सम्झौता भएको छ। ‘त्रियुगा सभ्यता विकास तथा बरुवा बेलदोभान एकीकृत विकास परियोजना’ अन्तरगत पहिलो चरणको काम तत्काल थाल्ने सम्झौता दुईपक्षबीच भएको हो। सम्झौतामा नगरपालिकाको ७ स्थित कालीखोला तोरीबारीदेखि छिमेकी बेलका नगरपालिका २ सुन्दरपुरस्थित सप्तकोसी दोभानसम्म बग्ने त्रियुगाको करिब ४२ किलोमिटर दूरीमा परियोजना सञ्चालन हुनेछ। 

नदी व्यवस्थापन गर्न नसक्दा यसअघि उदयपुरको लागि अभिसाप बन्दै आएको बरुवा खोला र त्रियुगा नदीमा वर्षेनी आउने बाढी रोकथाम गर्दै पानीको व्यवस्थापन गरेर बढी भन्दा बढी उपयोगमा ल्याइनेछ। खेतीयोग्य जमिनको नदी कटान र जनधनको क्षति रोकेर दिगो र भरपर्दो नदी व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यताको विकास अवधारणा अघि सारेको हो। सोही अवधारणा अनुसार नगरपालिकाले चीनसँग सम्झौता गरेर कार्यक्रम अघि बढाइएको मेयर चौधरीले बताए। 

त्रियुगा र बरुवालाई व्यवस्थित गर्दै नगरबासीको हित अनुकुल बहुउपयोगी साबित गराउन परियोजना सञ्चालन गर्न लागिएको मेयर चौधरीले बताए। उनले यो परियोजना सरोकारवाला र स्थानीयबासीको प्रत्येक्ष सहभागितामा सञ्चालन गर्न लागिएको बताउँदै स्थानीयबासीको सहभागिता नभए नदीको संरक्षण, कटान रोकथाम, उपयोगिता र फाइदा लिन नसकिने बताए। चौधरीले नगरबासी र विज्ञहरुसँगको लामो छलफल र बहसपछि आवश्यक सुझाव सल्लाहको आधारमा परियोजना सञ्चालन गर्न लागिएको बताए। 

त्रियुगा नदीको ऐतिहासिक पृष्ठभूमि र यसले  गर्ने फाईदा तथा हानीको विषयमा स्वयं नगरबासीबाट प्राप्त सुझाव र धारणा समेटेर बनाइएको गुरुयोजनाको कार्यान्वयनले  निश्चय नै नगरबासीलाई फाईदा पुग्नेमा उनको विश्वास छ। गुरुयोजनाको कार्यान्वयन सुरु भइसकेको र थप परिमार्जन गरेर कार्यक्रममा समेट्न नगरपालिकाले प्रत्येक वडामा बहस जारी राखेको पनि उनले बताए। 

त्रियुगा नदीको शीरदेखि तीरसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत, खानेपानी र कृषिजस्ता बहुउपयोगी सुविधा स्थानीयलाई उपभोग गर्न दिलाउने गुरुयोजनाको मर्म र भावनामा समेटेर काम थालिएको मेयर चौधरीले बताएका छन्। गुरुयोजना लागू भएपछि नदी व्यवस्थित हुनुका साथै नगरबासीले दिगो फाईदा लिन सक्ने कुरामा उनी विश्वस्त छन्। कालीखोला तोरीबारीदेखि सुन्दरपुरसम्मको २ सप्तकोसीसम्मको दूरीमा दायाँबायाँ बाँध बाँधेर चुरेबाट आउने खहरे नियन्त्रण गरी त्यसको पानी संकलन गरिने गुरुयोजनामा उल्लेख छ। 

सो दूरीभित्र नदी किनारमा बाँध बाँधेर किनारैकिनार सडक निर्माण गरिनेछ भने २७ वटा पुल बनाइने गुरुयोजनामा समेटिएको छ। नदीले वर्षेनी बालुवा ल्याएर थुपार्ने गरेकाले  उजाड हुँदै गएको बगर व्यस्थापन गरेर कम्तीमा २ हजार २ सयदेखि बिगाहदेखि १० हजार हेक्टरसम्म नदी उकासको जमिन निस्कने अनुमान गुरुयोजनाले समेटेको छ। नदी उकासबाट निस्कने जग्गाको भूउपयोग गर्दै त्रियुगा तटलाई कृषि, पर्यटन, आवास र विमानस्थल बनाउन प्रयोग गर्ने योजना पनि गुरुयोजनाले अघि बढाउने छ। 

चिनिया कम्पनीसँग नेपालको अनमोल मल्टीपर्पाेज कम्पनी÷जभिले साझेदारीमा काम गर्नेछ। थ्रीपी मोडलमा कार्यान्वयन गरिने गुरुयोजनामा स्थानीय सरकार (त्रियुगा नगरपालिका), स्थानीय जनता र  कम्पनीबीचको साँझेदारी हुने छ। सम्झौतापत्रमा पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रोपावर प्लान्ट स्थापना गरिने र त्यसको सफलतापछि १ सय मेगावाटको सोलार हाइड्रोपावर प्लान्ट स्थापना गर्ने योजना सम्झौतापत्रमा छ। जसको लगानी करिब ३ खर्ब रुपैया रहेको अनुमान गरिएको छ। आवश्यक पर्ने सबै लगानी चिनिया कम्पनीले गर्ने जनाएको छ। 

चीनको प्राइभेट कम्पनीको टोली आइतबार नेपाली सेनाको दुईवटा हेलिकोप्टरमार्फत जेङसी ग्रुपका अध्यक्ष सियोङ नेतृत्वमा आएको २७ सदस्यीय चिनिया टोली उदयपुर आएको थियो। सोही टोलीले नगरपालिकामा बैकल्पिक सौर्य उर्जालाई प्राथमिक्ता दिने नेपाल सरकारको नीति अनुसार वैदेशिक लगानी भित्र्याएर नगर विकासमा अग्रगामी फड्को मार्न लागेको मेयर चौधरीले बताएका छन्। उनले गुरुयोजना सफल पार्न संघीय सरकार, प्रदेश सरकार र लगानी बोर्डको समन्वयमा काम अगाडि बढाइने तयारी भइरहेको जानकारी पनि दिएका छन्। 

प्रकाशित: १४ जेष्ठ २०७५ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App