८ वैशाख २०८१ शनिबार
कला

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

तस्बिर: नेपालय

काठमाडौं– लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । पछिल्लोपटक ब्याण्डले ‘कुरुप अनुहार हो’ को श्रब्यदृश्य तयारपारेको हो।

उक्त अल्बमबाट यसअघि ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्।

पछिल्लोपटक रिलिज भएको ‘कुरुप अनुहार हो’ सरुभक्तको शब्द र विक्रम गुरुङको संगीतमा तयार भएको गीत हो । यी दुवै परिचित श्रष्टा असीको दशक प्रारम्भमा पोखराबाट काठमाडौं आइ त्रिभूवन विश्वविद्यालयमा पढ्न थालेका थिए । त्यतिबेलैको सत्संगमा यो गीत तयार भएको थियो ।

यसको शब्दमा एक्लो र परित्यक्त महशुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्त बताउँछन् । पोहोर साल नै नेपथ्यले हंगकंगमा यो गीत गाउँदा संगीतकार विक्रम गुरुङले पहिलोपटक यस नौलो स्वरुपलाई अनुभूत गरेका थिए। अरुण थापा लगायतसँग थुप्रै चर्चित गीत दिएका पुराना संगीतकार गुरुङ लामो समयदेखि हंगकंगको स्थायी वासिन्दाका रुपमा उतै बसोबास गर्छन् । कुनै समय नेपाली संगीतलाई अरुण थापाको स्वरमा ‘आँखाको निँद चोरी लाने’ र ‘भुलुँ भुलुँ लाग्यो मलाइ सपनीमा’ जस्ता गीतहरु दिने गुरुङ पछिल्लो तीन दशकदेखि हंगकंगमा शिक्षण पेशा अपनाउदै आएका छन् ।

नेपथ्यले यो गीत तयार पारेयता आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरुप अनुहार हो’ लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दैआएको छ । यस म्यूजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दाका दौरान खिचिएको हो ।

‘हाम्रा आगामी एल्बमका सबै गीतहरु श्रोताहरुले मनपराइरहनुभएको जानकारी पाउँदा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुरुप अनुहार हो गाउँदै गर्दा मञ्चमा म जति आनन्दित महशुस गर्छु त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकहरुलाई पनि मिलोस् ।’नेपथ्यमा यतिबेला अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App