७ वैशाख २०८१ शुक्रबार
राजनीति

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो।

न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सक्कल फाइल पेश गर्न आदेश गरेको हो। समय अभावका कारण दुवै पक्षको बहस नसकिएको भन्दै सर्वोच्चले मंगलबार निर्णय सुनाउने भएको छ।

‘अन्तरिम आदेश छलफलका लागि पेश हुन आएको रिट निवेदनमा समय अभावले बहस नटुंगिएकाले छलफलका लागि भोलि जेठ १५ गते पेश गर्नु’ सर्वोच्चले सोमबार जारी गरेको आदेशमा भनिएको छ, ‘बालकृष्ण ढुंगेललाई सजाय मिनाहा सम्बन्धी सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी महान्यायाधीवक्ताको कार्यालय मार्फत झिकाउनु होला।’

सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजाय भोगीरहेका माओवादी नेता ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वोच्च अदालतमा बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका थिए।

गणतन्त्र दिवसको अवसर पारेर कैदमुक्त गर्ने तयारी भइरहेको पनि निवेदनमा उल्लेख छ। त्यस्तो माफी दिइएमा गणतन्त्र तथा राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठ्ने अवस्था आउने पनि निवेदनमा उल्लेख छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई रिटमा विपक्षी बनाइएको छ।

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७५ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App