coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

समरमा छालाको स्याहार

गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ । र, छालालाई फुस्रो बनाउँछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।

ब्युटिसियनका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन्– फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन् । गर्मीमा बढी चिल्लोपना हुने छालामा समस्या देखिने उनीहरूको भनाइ छ।

पाटन बस्ने निसु प्रधान कक्षा १२ को पढाइ सकेर बसेकी छन् । उनी घरबाहिर निस्कदा प्रायः सनब्लक क्रिम लगाउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘गर्मीमा पसिना निकै आउँछ, घरबाट निस्कदा फ्रेस भएर निस्किए पनि पसिनाले बाटोमै मेकअप बिगारिदिन्छ ।’ त्यसकारण उनी गर्मीमा प्रायः घरमै बस्ने गरेकी छन् । ‘मेरो छाला निकै सेन्सेटिभ छ,’ उनी भन्छिन्, ‘मलाई घाम र धुलोबाट एलएर्जी हुन्छ, बाहिर हिँड्यो भने इचिङ हुने र पिम्पल्स आउँछ ।’

सानु गुरुङ मेकअप आर्टिस्ट हुन् । दरवारमार्गमा उनको मेकअप स्टुडियो छ । मेकअप र हेयर स्टायल गर्ने ग्राहक आए मात्रै स्टुडियो खोल्ने गरेको उनी बताउँछिन् । उनले धेरै सेलिब्रेटिहरूको मेकअप गरिसकेको बताइन्।

गर्मीमा सामान्य मेकअप गर्नु राम्रो हुने उनी बताउँछिन् । बजारमा विभिन्न प्रकारका क्रिमहरू पाइने भए पनि आफ्नो छालालाई सुहाउँदो मात्रै लगाउनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘छालाको हेरचाह गर्न प्रयोग गरिने क्रिममा कम्परमाइज गर्न हुँदैन, अन्यथा छालालाई नकारात्मक असर पार्न सक्छ ।’ छालामा बेबी क्रिमको प्रयोग गर्दा उत्तम हुने उनी बताउँछिन् । धेरै चिल्लो छाला भए टोनरको प्रयोग गर्नुपर्ने उनी बताउछिन् ।

‘सन ब्लक क्रिम हरेक दिन प्रयोग गर्नुपर्छ,’ सानु भन्छिन्, ‘मेकअप गरेपछि सफा पानीले सफा गरेर धोएर मात्र सुत्नुपर्छ नभए हाम्रो छाला चाउरिने समस्या हुन सक्छ ।’ बजारमा विभिन्न प्रकारको सन ब्लक क्रिम पाइए पनि राम्रो खालको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘सन ब्लक क्रिम र बेबी क्रिम हरेक उमेर र छालाको लागि उपयोगी हुन्छ, अधिक चिल्लो भए टोनरको प्रयोग गर्दा राम्रो हुन्छ।’

गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न ब्युटिसियन सुझाउँछन् । उनीहरूका अनुसार अनुहारको सुन्दरतालाई बढाउने मुख्य गहना मुस्कान हो । तसर्थ सधै मुस्कुराउनु पनि सुन्दर हुनु हो ।

गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ । यो समयमा छालाको रङ पनि फेरिन सक्ने ब्युटिसियन बताउँछन् । यो समस्या हुनुभन्दा पहिले नै निराकरण गर्नु राम्रो हुन्छ । ‘गर्मी मौसममा पिम्पल आउनु, ब्ल्याकहेडस देखिनु सामान्य मानिन्छ,’ मेकअप आर्टिस्ट सानु भन्छिन्, ‘दैनिकरूपमा छालाको उचित स्याहार गरियो भने यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।’

ड्राइ छालाको हेरचाह
स्किन ड्राइ छ भने घरको भान्छामा पाइने सामग्री प्रयोग गरेर फेस प्याक बनाउन सकिन्छ । दैनिक मुख सफा गर्न सफा पानी र फेसवास प्रयोग गर्दा राम्रो हुन्छ । हप्ताको दुई पटक स्क्रबको प्रयोग गर्नु छालाको लागि राम्रो मानिन्छ । गर्मी महिनामा शरीरमा पानीको कमी भई डिहाड्रेसन हुने समस्या हुन्छ, तसर्थ छालालाई मोइस्चर राख्नु जरुरी हुन्छ ।

कलंकी बस्ने चन्द्रा नेपाल एग्रिकल्चर पढ्छिन् । गर्मी मौसममा छालामा धेरै समस्या आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरो स्किन ड्राइ छ, त्यसैले घाममा हिँड्दा छाला फुस्रो र नराम्रो देखिन्छ ।’ ड्राइ स्किन भएकाहरूले विशेष हेरचाह गर्नुपर्ने उनी बताउँछिन् । उनी कलेज वा बजार जाने बेला सन्स क्रिम लगाउँछिन् । उनी भन्छिन्, ‘यो क्रिमले युभी किरणबाट बचाउँछ, त्यसैले यो क्रिम मनपर्छ।’

गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त मानिन्छ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । यस्तै, कागती, टमाटर र घ्युकुमारीको जुस अनुहारमा लगाउनु उपयुक्त मानिन्छ ।

चिल्लो छालाको हेरचाह
चिल्लो छाला भएकाहरूलाई पिम्पलले निकै दुःख दिने गर्छ । अनुहारको छालालाई धेरै चिल्लोपनाबाट बचाउन सकिने ब्युटिसियन इच्छा कार्की बताउँछिन् । उनी भन्छिन्, ‘चिल्लो छालालाई गर्मी मौसममा विशेष हेरचाह गर्नुपर्छ, अनुहार चिल्लो भयो भन्दैमा धेरै पटक अनुहार धोई राख्न हुँदैन ।’ चिल्लो छालालाई मोइस्चराइजर आवश्यक हुँदैन भन्ने भ्रम रहेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘हरेक छालाका लागि मोइस्चराइजर आवश्यक हुन्छ, सफा पानीले अनुहार सफा गरेपछि मोइचराजर लगाउन आवश्यक हुन्छ ।’ गर्मीमा प्रशस्त मात्रामा पानी पिउनु जरुरी रहेको उनी बताउँछिन् । गर्मी मौसममा पसिनाले छाला चिपचिप हुने भएकाले सामान्य मेकअप गर्नु राम्रो हुने उनको भनाइ छ ।

कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउनुपर्छ । यसो गरे अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ । यसको साटो बेकिङ पाउडर र कागतीको मिक्समा पेस्ट बनाएर लगाउन पनि सकिन्छ । चिल्लो छालाको लागि कागती, टमाटर, एलोबेरा, दही र मुलतानी माटो लगाउन पनि उपयुक्त मानिन्छ ।
सुनाकोठीकी आस्मिका गुरागार्इँ अनुहारमा मुलतानी माटो लगाउन मन पराउँछिन् । उनले मुलतानी माटोको फेस प्याक लगाउन थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । उनी भन्छिन्, ‘मेरो स्किन वयली छ, त्यसैले अनुहार मुलायम तथा चम्किलो बनाउन यो लगाउने गरेकी हँु ।’ छालाको विशेष ध्यान राख्ने आस्मिका हप्तामा दुई पटक मुलतानी माटोको फेस प्याक लगाउने गर्छिन् ।

सामान्य छाला
सामान्य छाला हुनेहरूका लागि मोस्चराइजर आवश्यक हुन्छ । मौसम अनुसारको फलफूल र आवश्यक मात्रामा पानी पिउनुपर्ने बताउँछिन्, मेकप आर्टिस्ट सानु । सामान्यतयाः सामान्य छाला हुनेहरूले अनुहारको चमकमा ध्यान दिनु आवश्यक हुन्छ । दैनिक कम्तिमा दुईपटक अनुहार सफा पानीले धुनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘दैनिक राती सुत्नुभन्दा अगाडि अनुहारलाई सफा पानीले धुनुपर्छ, जसले गर्दा छालामा रहेका प्वालमा अक्सिजनको राम्रो फ्लो हुन्छ ।’

समय समयमा क्लिजिङ र फेसियल गर्नुपर्ने मेकअप आर्टिस्ट सानु बताउँछिन् । सामान्य साबुनले अनुहार सफा नगर्न उनको सुझाव छ । उनी भन्छिन्, ‘साबुनले छाला सुक्का बनाई फुस्रो बनाउने भएकाले स्किन अनुसारको फेसवास प्रयोग गर्नु राम्रो मानिन्छ ।’ सामान्य छालाका लागि गुलाबजल निकै उपयोगी हुने ब्युटिसियन बताउँछन्।

गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न ब्युटिसियन सुझाउँछन् । उनीहरूका अनुसार अनुहारको सुन्दरतालाई बढाउने मुख्य गहना मुस्कान हो । तसर्थ सधै मुस्कुराउनु पनि सुन्दर हुनु हो ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App