७ वैशाख २०८१ शुक्रबार
अन्य

‘उपत्यकाको मौसम अमूल्य छ’

बद्री पंगेनी, गायक
तपाईंलाई मनपर्ने सहर ?

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा ज्यादै सुन्दर छ । कुनै भौतिक निर्माणले सुन्दर भएको होइन, प्रकृतिले नै सजाएको छ पोखरालाई । ताल, गुफासँगै माछापुच्छ्रे लगायत वरपर देखिने हिमालले पोखरालाई सुन्दर बनाएको छ । यसबाहेक मलाई मनपर्ने सहर पाल्पाको तानसेन पनि हो।

नेपालबाहिर कुन–कुन ठाउँ घुम्नुभएको छ ?
नेपाली भएको सबैजसो विदेशका सहर पुगेको छु । अमेरिका, जापान, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, क्यानडा, हङकङ, थाइल्यान्ड, कोरियालगायत थुप्रै देशका सहर राम्ररी घुमेको छु।

विदेशका सहर घुम्दा हामी जेलाई सहर मानेका छौँ, ती सहर नै होइनन् जस्तो लाग्यो । किनभने, हाम्रो देशका सहर सहरजस्तै छैनन् । सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ । विदेशका सहर सुविधायुक्त र व्यवस्थित छन् । सहरमा व्यवस्थित हिसाबले विकासका काम भएका छन् ।

विदेशका सहर कसरी विकास भएको पाउनुभयो ?
विदेशका सहर कानुनमा बाँधिएका छन् । सत्ता वा नीति–निर्माण तहमा हुनेले बलियो भूमिका निभाएका छन् । राज्यले ल्याएका नीति–नियम र कानुन लागू भएको छ ।

कानुनको पालना नगर्नेलाई हदैसम्म कारबाही हुन्छ । त्यहाँका सहरको बनावट शैली पनि आधुनिक किसिमको छ । धुवाँधुलो कतै देखिन्न । सहरमा बस्नेहरू चेतनशील छन् । कसैले पनि सहरमा फोहोर गर्दैनन् । भौगोलिक र प्राकृतिक रूपमा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन् । विकासका हिसाबले हामी पछि छौँ ।

उपत्यका बाहिरका हाम्रा ठाउँ कति घुम्नुभएको छ ?
मेरो घर नै काठमाडौंबाहिर हो । म कर्मका लागि काठमाडौं आएको हुँ । पोखरा, धरान, विराटनगर, लुम्बिनी, तानसेनलगायत नेपालका सबैजसो ठाउँ सुन्दर लाग्छ । यहाँका हरेक सहरको आफ्नै संस्कृति र रहनसहन पनि भेटिन्छ । मुगुको रारा, पाल्पा, लमजुङ, स्याङ्जालगायत ठाउँ पनि ज्यादै सुन्दर र मनमोहक लाग्छ । त्यहाँको गाउँले जीवनशैलीले झनै ध्यान तान्छ ।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ?
नेताहरूले काम गरेनन् । सहरवासीमा जनचेतना भएन । सहरको विकासमा दूरदृष्टि राख्ने क्षमता भएका नेता आएनन् । सबैले आफ्नो दाउपेचमै काम गरे । सहरको विकास गर्ने अभिभारा बोकेका नेता दुई नम्बरी काममा मात्रै लागे । नेता र सरकारी निकायका उच्च कर्मचारीले आफूलाई फाइदा हुने काममा मात्रै हात हाले ।

कसैले पनि सहरप्रति जिम्मेवार र जवाफदेही भएर काम गरेनन् । यद्यपि पछिल्लो समय उपत्यकाका केही सडकमा विकासको छनक देखिएको छ । कोटेश्वर, कलंकी अन्डरपास र चक्रपथ व्यवस्थित बनाउने काम पनि भइरहेको छ । यसले सहरलाई थप विकसित बनाएको छ।

काठमाडौंमा पछिल्लो समस्या के देख्नुभएको छ ?
काठमाडौं अनेकौँ सम्भावना र अवसर बोकेको सहर हो । तर, यहाँ बस्नेले सहरको सम्भावना खोजेनन् । उल्टै सहरको दोहन गर्नतिर लागे । आफ्नो स्वार्थ सिद्धका निम्ति सहरका सम्पदा मासिए, सहरको हरियाली हराएको छ।

भवनै भवन छन्, कतै खुला ठाउँ पाउन मुस्किल छ । विदेशमा यहाँका भन्दा साँघुरा सहर छन्, तर कतै जाम देखिन्न । यसको कारण के त भन्दा प्रविधि । विदेशका सहर हातको भरमा होइन, रिमोटले चलेका छन्।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको मौसम अमूल्य छ । संसारमा कहीँ पनि यस्तो हावापानी पाइँदैन । विदेशीहरू पनि नेपालको हावापानी, वातावरण एकदमै सुन्दर मान्छन्।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
म २०५३ सालमा काठमाडौं छिरेको थिएँ । त्यतिबेला भोेटेबहालमा बस्थेँ । सुन्धारा र त्रिपुरेश्वर क्षेत्र प्रायः खाली थियो।

हाम्रा सहरलाई विदेशी सहरभन्दा के कुरामा भिन्न पाउनुभयो ?
प्र्रकृतिले दिएको मनोरम दृश्य हेर्न नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । तर, हामी प्रकृतिले जे दिएको छ, त्यही कुरामा मात्रै धनी छौँ । सहर विकासका लागि नेतृत्वमा हुनेले केही गर्न सकेनन् । बालुवा वा मरुभूमि देशहरू आज हरिया भएका छन् । विदेशीहरू दूरदर्शी छन् । काठमाडौंको पुराना मठ–मन्दिर, धार्मिक क्षेत्र पनि राम्रो लाग्छ।

यहाँको नराम्रो पक्ष ?
साँच्चै भन्नुपर्दा म काठमाडौंमा बाध्यताले बसेको छु । यहाँको भद्रगोल मलाई कत्ति पनि मनपर्दैन । काम र आफ्नो लक्ष्य सहरमै जोडिएकाले काठमाडौंमा बसेको छु । मलाई सहरभन्दा गाउँको जीवनशैली र वातावरण ठीक लाग्छ । काठमाडौं समस्यै समस्याले ग्रस्त सहर हो ।

पछिल्लो समय त झन् काठमाडौं उदेकलाग्दो छ । यहाँको प्रदूषण र सडकको अवस्थालाई सम्झँदा काठमाडौं सहर छाडेर अन्त कतै जाउँ भन्ने लाग्छ । तर, नेपालका सबै सहर प्रदूषित हुँदै गएका छन् । प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकदेखि यहाँ बस्ने धेरैजसो आजित छन् । सरकारले योजनाबद्ध काम नगरेकै कारण राजधानी भद्रगोल बनेको हो।

सहरवासीका बानी कस्तो लाग्छ ?
सहरवासीमा चेतना छैन । सहर सफा राख्नुपर्छ भन्ने सोच धेरैमा छैन । अरु देश कहाँ पुगिसके, हामी राजनीति खेलमै अड्किएका छौँ ।

तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?

सहर भनेको समान हक–अधिकार भएको सुविधासम्पन्न ठाउँ हो । सहरमा हरेक सुविधा हुन्छन् । ती सुविधामा सबैको समान हक हुन्छ । सहरको इलाका सुरक्षित हुन्छ, सहरले आफ्नो मौलिकता बोकेको हुन्छ । हरेक ठाउँ व्यवस्थित हुन्छन् । फराकिला सडक, एकैनासे घर, सबैतिर हरियाली सहरको स्वरूप हो । यी सबै थोक हाम्रा सहरमा पाइँदैन । छिटै नै हाम्रा सहर यस्तै बनून् भन्ने कामना गरेको छु।

हाम्रा सहर पछि पर्नुको कारण के लाग्छ ?
हिजो नेपालभन्दा पनि पछि परेका, प्रकृतिले साथ नदिएका र कुनै सम्भावना नदेखिएका सहर आज संसारकै नमुना बनेका छन् । मानिसको मेहनतले विश्वका धेरै सहर हराभरा भएका छन् । मरुभूमिमा माटो बोकेर फूल रोपेका छन् । हामीलाई त प्रकृतिले अथाह सम्भावना दिएको छ ।

यहाँको जस्तो भू–भाग अन्त छैन । तर, हामीले सहरी विकासको क्षेत्रमा गरेको काम अति नै निम्छरो भयो । यहाँ अझै पनि कानुनको अभाव छ । भएका कानुन व्यावहारिक छैनन् । भएका नीति–नियम पालना गर्ने र विकासका कामलाई चुस्तता दिने हो भने हाम्रा सहर धेरै व्यवस्थित बन्न सक्छन् । त्यसकारण हामीले यहाँका अवसर खोज्नुपर्छ ।

विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
विदेशी सहरमा धेरै पुरानो मौलिकता छैन । तर, आज भइरहेका कुरा उनीहरूले सुरक्षित राखेका छन् । आफ्नो सहरको पहिचान छुट्टै बनाएका छन् । संसारमै फरक कसरी हुने भनेर विभिन्न शैली अपनाएका छन् । हाम्रो सहरमा जस्तो मौलिकता र इतिहास अरु देशका सहरमा पाइँदैन । मौलिकता र ऐतिहासिक पाटोलाई हेर्दा अरु सहरभन्दा नेपाल धेरै अघि छ।

हाम्रा सहर व्यवस्थित बनाउन सरकारले कसरी काम गर्नुपर्ला ?
सरकारले सहरका सम्भावना खोज्नुपर्छ । मैले देखेको, हाम्रोमा दुइटा उदाउँदा सहर छन्– बाँकेको कोहलपुर र पाल्पाको रामपुर । यी ठाउँले धेरै सम्भावना बोकेझैँ लाग्छ ।

सम्भावना बोकेका सहरतर्फ पनि सरकारको ध्यान पुग्नुपर्छ । इतिहास, चाडपर्व, मौलिकताका हिसाबले नेपालका सहर धेरै अगाडि नै पर्छन् । तर, आधुनिकताका हिसाबले अन्य देशका सहर धेरै छन् । सरकारले काम गर्ने हो र बनाउन चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ।

उपत्यकाभित्र कतै घुम्न निस्कनुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
म काठमाडौंमा घुम्ने ठाउँ देख्दिनँ । यहाँका सबै क्षेत्र अस्तव्यस्त मात्रै लाग्छ।

पछिल्लो समय घुमेको सहर ?
केही समयअघि नेपालगन्ज पुगेको थिएँ, यो सहर पनि अहिले व्यवस्थित बनेको छ ।
मन भएर पनि घुम्न नपाएको ठाउँ ?

मलाई बर्मा र अफ्रिकी मुलुक घुम्न मन छ ।

उपत्यकाको मनपर्ने खानेकुरा ?

मलाई थकाली खाना ज्यादै मीठो लाग्छ । पोखरा गएका बेला माइलीदिदीकोे रेस्टुरेन्टमा खाना खान्छु प्रायः ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App