७ वैशाख २०८१ शुक्रबार
कला

‘रानीमहल’ सुटिङ रानीमहलमै

पाल्पा– पाल्पाको रानीमहलमा पूर्व मिस नेपाल निकिता चन्दक अभिनित चलचित्र ‘रानीमहल’को सुटिङ भएको छ। हिमाल न्यौपानेको निर्देशनमा छायाङ्कन हुँदै गरेको यस चलचित्रमा नायकका रुपमा प्रितम राज रहेका छन्। 

तानसेन नगरपालिका–१३, बौहागुम्हामा रहेको रानीमहलमा चलचित्र छायाङ्कन भैरहेको हो। सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिमतर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए। चलचित्र रानीमहलमा पनि राजा र रानीको कथा समावेश गरिएको छ। जसमा रानीले अन्य युवासँग प्रेममा फस्ने र राजा अन्यौलमा रहने विषय रहेको निर्देशक न्यौपानेले बताए। 

सुटिङको दृश्यमा चन्दक रोमान्टिक मुडमा क्यामेरामा कैद भएकी छन्। उनी १५ दिनदेखि रानीमहलमा बस्दै आएकी छन्। नायिकाको रुपमा चन्दकको यो डेब्यु फिल्म हो। रानीमहल दरबारको छेउबाट बग्ने काली नदी किनारमा उनी रोमान्समा मग्न भएको अवस्थामा भेटिएकी हुन्। तर त्यो रोमान्स रियल नभएर रिलका लागि थियो। अर्थात् चलचित्र रानीमहलको सुटिङका लागि उनको काली किनारामा प्रेमालाप चलिरहेको थियो। जहाँ निकिता एक युवकलाई काखमा राखेर प्रेमालाप दृश्य कैद गर्न एक्सनकटको इशारा पछ्याउँदै थिइन्।

चन्दकको साथीको रुपमा साथ दिएकी छिन्, युनिता खत्री। उनको पनि यो डेब्बु चलचित्र हो। प्रेमकथामा आधारित यो चलचित्र डेढ करोडको लागतमा बन्न लागेको हो। स्वस्तिक फिल्मको व्यानर फिल्म छायाङ्कन सुरु भएको हो। दीपक पौडेलको पटकथा, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र हर्कुलर बस्नेतको संगीत रहनेछ। फिल्ममा नीर शाह, साहिल श्रेष्ठ, मानस्वी खरेल, रश्मी भट्ट, बीएस रानालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

सन् २०१७ की मिस नेपाल निकिता चण्डकले डेब्यु गरेको फिल्म ‘रानीमहल’ को वैशाख २५ देखि जिल्लाको कालीगण्डकी नदी किनारमा रहेको प्रेमको प्रतीक रानीमहल दरबार परिसरमै छायाँकन थालिएको हो। यस फिल्ममा निर्माता वेदप्रसाद भुसाल रहेका छन्। निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको फिल्म ‘रानीमहल’ एक अमर प्रेम कथामा आधारित हुनेछ। यसमा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गर्न लागेको प्रोडक्सन डिजाइनर गणेश सापकोटाले बताए। 

अत्याधुनिक उपकरणसहित छायाँकन टिम रानीमहल दरबार परिसरमै चलचित्र छायाङ्कनमा व्यस्त छ। स्थानीय सुरेश पाण्डेयले प्रेमको प्रतीकका रूपमा रहेको रानीमहल’ को प्रचारप्रसारमा फिल्मले ठूलो सहयोग पुग्ने बताए। ‘जे होस रानीमहल ठूलो पर्दाको फिल्म नै बन्ने भएपछि यसको प्रचारप्रसार राम्रै हुने भयो,’ होटल व्यवसायीसमेत रहेका उनले भने, ‘यसरी ठूलो पर्दा र निकै राम्रो लोकेसन लिएर फिल्मको छायाँकन गरिँदा हामी पनि खुसी छौं।’ 

‘प्रेमको प्रतीकका रूपमा चिनिँदै आएको रानीमहलको भावलाई फिल्मले बोल्नेछ,’ पटकथा लेखक दीपक पौडेलले भने, ‘प्रेम के हो? स्थापित प्रेमको परिभाषा के हो? यसलाई बुझ्न ‘रानीमहल’ हेर्नुपर्ने छ।’ फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौंमा हुने निर्माण पक्षले जनाएको छ। निकै जोखिम मोलेर सुटिङ चलिरहेको यो दृश्य साँच्चिकै ध्यान तान्ने खालको छ। निर्देशक हिमाल न्यौपानेका अनुसार यो फिल्मको दृश्य मुख्यतः रानीमहलमा केन्द्रत रहनेछ।

प्रणय दिवस (भ्यालेन्टाईन डे) फ्रेबुअरी १४ सँग सम्बन्धित रहेको रानीमहलको वास्तविकता यस फिल्म मार्फत् उजागर हुने अपेक्षा स्थानीयको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App