काठमाडौं – स्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ। कवि तथा गीतकार दिनेश अधिकारी तथासंगीतकार दिपक जंगमले राजधानीमा शनिवार एल्बम सार्वजनिक गरे।
एल्बममा चार आधुनिक तथा चार लोकपप गीत छन्। गीतकार न्यौपानेको यो छैठौ एकल एल्बम हो। यस अघि उनको एकल रचनामा ‘चेतना’, ‘हिमालको चन्द्र’, ‘होराइजन’, ‘बाल कुसुम’ र ‘त्यो सपना’ बजारमा आइसकेका छन्।
अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गायक गुरागाईको यसअघि ‘माई च्वाइस’एल्बम आइसकेको छ। गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक विधाका ‘क’श्रेणीका गायक हुन्।
संगीतकार भट्टराई जापान बस्दै आएका नेपाली संगीतकर्मी हुन्। उनका हालसम्म पाँच एकल एल्बम र करिब डेढ सय गीत, गजल र भजन सार्वजनिक भइसकेका छन् । कार्यक्रममा अभिनेत्री मरिष्का पोखरेलले निर्देशन गरेको भिडियो ‘एकतर्फी माया’ पनि सार्वजनिक गरिएको थियो । भिडियोमा मरिष्का र पुष्पल खड्काले फिचरिङ गरेका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ।
प्रकाशित: १३ जेष्ठ २०७५ ०७:०६ आइतबार